राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नुसरह : बाबुराम भट्टराई

काठमाडौँ, १७ चैत । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नुसरह भएको टिप्पणी गरेका छन्।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने बताए।
उनले अहिलेको परिस्थितिमा सतर्क हुनु जरुरी रहेको बताए। लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने उनले बताए।
‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरुले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो तर लोकतन्त्रमा लडेका नेताहरु, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरुले गल्ती, कमजोरी गरे‚’ उनले भने, ‘भनेर लोकतन्त्रविरोधीहरु निरंकुशता, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विष पान गर्नुजस्तै हुन्छ। श्रेयस्कर, बुद्धिमानी हुँदैन। अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदै छ, त्यसमा हामी सतर्क बनौँ। हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भए पनि ल्याएका छौँ, यसका कमी, कमजोरीहरु छन्। यसलाई सच्याउँदै अघि बढ्नुपर्छ।’
उनले संविधानमा केही त्रुटीहरु रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए। शासकीय स्वरुप र निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको जिकिर उनले गरे।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया