Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुन्छ : उपेन्द्र यादव


काठमाडौं, १८ चैत । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटिपूर्ण रहेको भन्दै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस–कम्युनिस्टहरूको व्यवस्था र संविधानप्रति प्रतिबद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको उल्लेख गरे । आफैँले ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? भन्दै प्रश्न गरे । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।

‘कांग्रेस–कम्युनिस्टहरूको प्रतिबद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैँ ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? अर्को, यो संविधान नै त्रुटिपूर्ण छ । संविधानलाई संशोधन गरेर पुनर्लेखन गर्ने कुरा छ । संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ । जनताका चाहनाहरू र आवश्यकताहरू पूरा गरे मात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ । प्रदेशहरूलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन,’ उनले भने ।

संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भए पनि राज्यका निकायहरूमा एउटै जाताजातिको हालीमुहाली रहेको अध्यक्ष यादवको भनाइ छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट