राप्रपाले माफी माग्यो

काठमाडौं, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो लगाएको घटनामा माफी मागेको छ । राप्रपाको नेपालगन्ज नगर कार्य समितिले एक वक्तव्य जारी गर्दै उक्त घटनालाई ‘भवितव्य’ दाबी गरेको छ ।
शनिबार नगर कार्य समितिको आह्वानमा नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस निकालेको थियो । आफ्ना नेताको रिहाइको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको र अञ्जानवश उक्त घटना भएको नगर कार्य समितिका अध्यक्ष हुकुमसिंह केसीले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
“सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ,” वक्तव्यमा भनिएको छ, “उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमाप्रार्थी छौँ ।”
कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने मनशाय नभएको केसीले बताएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया