Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो, यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको छः प्रम ओली


काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन भएको बताएका छन् । फरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बिच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउन भरमग्दुर प्रयास गरिरहेको बताए ।

“पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्” राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, “संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।” यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ छ ।
“जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौँ” उनले थपे ।

प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबारे त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताए । उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे ।

“हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ । विविधताका बिचमा एकता आवश्यक छ । बिनाएकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्” प्रधानमन्त्री ओलीले भने, “विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।”

उनलेृ आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नोतर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए । भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उहाँले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए । “अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्नेखालको कोल्टिने राजनीति गर्नुहुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ” उनले भने ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट