Techie IT
Samayabaddha
आईतबार, ३० चैत्र, २०८१

बरु पशुपतिका बाँदरलाई मन्त्री बनाउनु ठिक : प्रधानमन्त्री ओली


झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा फर्काउनेहरू प्रधानमन्त्री र मन्त्री बन्ने रे, तिनीहरूलाई बनाउनुभन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनाउन ठीक हुने बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण र संविधानको रक्षाको रक्षाका लागि भन्दै नेकपा (एमाले) कोशी प्रदेश कमिटीले झापाको दमकमा शनिबार आयोजना गरेको वृहत् जनजागरण सभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘राजतन्त्र फर्काउने र दुई/चार सडक छाप मान्छेहरूको तमासा चैत १५ गते देखियो। यिनीहरू कस्ता तत्त्व र शैलीका व्यक्ति हुन भनेर। अब तोडफोड, हत्या हिंसा, आक्रमण यस्ता कुराहरू शैह्य हुँदैन।’ अब देशलाई संविधान र कानुनबमोजिम अगाडि बढाउने उनले बताए।

निरङ्कुश राजतन्त्र हुँदा देशमा विकास केही पनि भएन। विकासको सिन्को नभाच्नेहरु अहिले देशमा यत्रो विकास हुँदा केही भएन भन्दै हिँडिरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंकित गर्दै ओलीले भने, ‘तपाईँहरू मलाई साथ दिनुहोस् मै आउँछु भन्न लाजै मान्दैनन्।’ अढाई सय वर्ष केही नगरिकन खाने, देश लुट्नेहरूप्रति नेपाली जनता सचेत छन्, जनताले बुझेका छन्। ‘नेपाली जनता कुनै पनि हालतमा रैती हुन तयार हुँदैनन्,’ उनले भने।

ड्राइभिङ सिक्दै नसिकेकाहरूले म राम्रो गाडी चलाउँछु, यसले केही जान्दै जान्दैनन्, यो ड्राइभरलाई हटाउनुपर्छ भनेर ड्राइभरको सिटमा बस्न खोजेको व्यङ्ग हान्दै अध्यक्ष ओलीले भने, ‘राजनीतिक भनेको थाहै नपाएका र ढुङ्गा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधुम मच्चाइरहेका छन्।’

अहिले देश विकास र सुशासनको गतिमा अघि बढिरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्न सरकार लागि परेको छ। देशमा स्थिरता र स्थायित्व चाहिएको छ। सरकार फेर्न र ढाल्ने खेलको चक्कर लागेकाहरू देशको विकास होइन, तमासा गर्न चाहिरहेको उनले बताए। ‘ड्राइभिङ सिक्दै नसिकेकाहरूले, म राम्रो चलाउँछु, यसले केही जान्दै जान्दैनन्, यो ड्राइभरलाई हटाउनुपर्छ भनेर ड्राइभरको सिटमा बस्न खोजेजस्तो राजनीतिक भनेको थाहै नपाएका र ढुंगा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधुम मच्चाइरहेका छन्,’ उनले भने।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट