पुनरागमनको राजनीतिः नयाँ कि पुरानैको सुदृढीकरण ?

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले आफ्नो पार्टीमार्फत सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गरेसँगै नेपालको बाम राजनीतिभित्र र बाहिर नयाँ बहसको सुरु भएको छ ।
यो पुनरागमनले खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ अवसरको ढोका खोल्ने वातावरण दिएको छ । भण्डारीले एमालेको सदस्यता नवीकरण गरिसकेकी छिन । यी दुबै पात्र विगतका संघर्षमा अग्रपंक्तिमा रहेका थिए । तर, आज उनीहरुको पुनरागमनले आशाभन्दा बढी शंका र जिज्ञासा जन्माइ रहेको छ ।
आदर्शको खडेरी
पुन र भण्डारी दुबै नेपालका राजनीतिक इतिहासका संघर्षशील पात्र हुन् । तर, आज उनीहरुको उपस्थितिलाई मानिसहरुले विचार र आदर्श भन्दा पनि अंकगणितीय समिकरण जोड्ने खेलका रुपमा हेर्न थालेका छन् । उनीहरुले कुनै नयाँ राजनीतिक दृष्टिकोण, नयाँ विचारधारा वा समाज रूपान्तरणको नयाँ बाटो नदिएको अवस्थामा, यो पुनरागमन केवल शक्ति, पद र राजनीतिक अस्तित्व जोगाउने प्रयत्नजस्तो देखिएको छ ।
राजनीतिक आदर्शभन्दा सत्ताको समिकरण, गुटगत जोडघटाउ र संस्थागत अवसर खोज्ने शैली उनै पुराना शैलीका निरन्तरता जस्ता देखिएका छन् ।
राजनीति स्खलनतर्फ
वर्ग संघर्षको नेतृत्व गरेको इतिहास बोकेका यी नेताहरुले आफ्नो वर्गीय राजनीति वा जनताको पक्षमा ठोस वैकल्पिक राजनीतिक मोडल दिन नसक्नु दुःखद छ । सत्ता र शक्तिसँग नजिकिने बित्तिकै तिनको वर्गीय पहिचान, आदर्श र राजनीति क्रमशः ओझेलमा परिरहेको छ । एक ढंगले भत्केको अवस्था छ ।
यस अर्थमा उनीहरु अरु परम्परागत नेताभन्दा पृथक हुन सकेका छैनन् । अवसर प्राप्त भएपछि न त उनीहरुले नयाँ मूल्य–मान्यता बोकेर आएका छन्, न नयाँ नेतृत्व निर्माणतर्फ कुनै संकेत दिएका छन् ।
किन फेरि नेतृत्वमा आउने ?
राजनीतिमा कुनै व्यक्तिको सक्रियता स्वागतयोग्य विषय हो । तर, लामो समयसम्म पार्टी राजनीतिभन्दा अलग भूमिकामा रहेका व्यक्तिहरु फेरि कार्यकारी नेतृत्वमा आउने भन्ने कुरा जनताका नजरमा स्वाभाविक रुपमा सन्देह उत्पन्न गर्ने विषय हो ।
राजनीतिक नेताहरुले भूमिकामा फर्कनु, संगठन निर्माण गर्नु वा सक्रिय राजनीतिमा आउनु गलत होइन । तर, यसको लागि आवश्यक छ — वैचारिक ताजगी, नीति र कार्यक्रमको नवीनता, जनताको पक्षमा ठोस योजना र आदर्शको निष्ठा ।
तर, यहाँ देखिएको प्रवृत्ति के हो भने — पुन र भण्डारीजस्ता नेताहरु सत्ताको समिकरण र संस्थागत ग्यारेण्टी खोज्न त चाहन्छन् तर जनताको जीवनसँग जोडिने गम्भीर एजेण्डा भने ल्याउन चुकेका छन् ।
पुन र भण्डारीको पुनरागमनले जनतामा आशाभन्दा बढी प्रश्नहरू जन्माएका छन् — के फेरि पुरानै प्रवृत्ति फर्किँदैछ ? कि साँच्चै नयाँ बाटो देखाउन खोजिएको हो ?
उत्तर भविष्यले दिनेछ — तर अहिले देखिएको संकेतले चाहिँ पुरानै सत्तामोह र गुटगत राजनीतिलाई निरन्तरता दिने प्रयास देखिन्छ । राजनीतिमा आएर उनीहरुले नाम र दाम दुव कमाएकाले योे क्षेत्रमा फर्कीफर्की आइरहका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया