सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ बर्षगाँठ !
नेकपा फुटको इतिहास, विगत र बर्तमान :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७६ वर्ष पूरा भएको छ ।नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा स्थापना गरिएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई मार्क्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् ।
नेकपाको फुटको इतिहास :
कलकत्तामा २००८ असोजमा भएको पहिलो सम्मेलनले पुष्पलाललाई पुनः महासचिव छानेको थियो। पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब थिए। तर, पछि शम्भुराम श्रेष्ठलाई पनि थपिएको थियो। पुनः केदार खनाल, धनुषचन्द्र गौतम र विजयकुमार दादालाई समावेश गरी राजनीतिक समिति नौ सदस्यीय बनाइयो।
त्यसको केही समयपछि २००८ सालमा नै मनमोहनले पुष्पलाललाई हटाइ आफैँ महासचिव भए। उनले राजनीतिक समितिको बहुमतमा पुष्पलाललाई अपमानजनक ढंगले हटाएका थिए। महासचिवबाट हटाएपछि उनलाई गन्डक प्रान्तको इन्चार्ज बनाइयो। आफ्नो बहिर्गमनबारे पुष्पलालले उनको पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा कुनै पनि कुरा उल्लेख गरेका छैनन्।
पुष्पलाल आफ्नो गणतन्त्रको लाइनमा अडिग थिए। तर, संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था मान्ने मनमोहनको लाइनको केन्द्रिय समितिमा बहुमत भएपछि २०१० सालको पहिलो अधिवेशनमा पनि उनी नै महासचिव चुनिएको पुराना कम्युनिष्ट नेता केशरमणि पोखरेल बताउँछन्। यसरी मनमोहन अधिवेशनबाट निर्वाचित पहिलो महासचिव भए।
पुष्पलाल महासचिवबाट हटाइएपछि पनि पार्टीभित्र संघर्ष गरेर बसे। उनी नयाँ पार्टी गठनतिर लागेनन्। तर, उनले पार्टीमा पुनः पकड जमाउन सकेनन्। केन्द्रिय समितिमा राजासहितको संसदीय व्यवस्था मान्नेहरुकै बहुमत थियो। त्यसैले २०१३ सालपछि केशरजंग रायमाझी महासचिव छानिए।
भाकपा महासचिवबाट बीटी रणदिवेलाई हटाएर सी राजेश्वर रावलाई बनाइएको थियो। त्यसबेला तेलंगाना सशस्त्र संघर्षलाई बलपूवर्पक दबाइएको थियो। रणदीवे मजदुर संघर्षको पक्षमा र राव किसान संघर्षको पक्षमा थिए।
जे भए पनि पुष्पलाल महासचिवबाट हटाइएपछि पनि पार्टीभित्र संघर्ष गरेर बसे। उनी नयाँ पार्टी गठनतिर लागेनन्। तर, उनले पार्टीमा पुनः पकड जमाउन सकेनन्। केन्द्रिय समितिमा राजासहितको संसदीय व्यवस्था मान्नेहरुकै बहुमत थियो। त्यसैले २०१३ सालपछि केशरजंग रायमाझी महासचिव छानिए।
तर, विवादको असर भने जिल्ला तहसम्म पुगेको थियो। पहिलोपटक २०१२ सालमा रौतहट र वीरगंज कमिटीले केन्द्रसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए। त्यसपछि २०१३ सालमा उत्तर गन्डक प्रान्तीय कमिटी र पूर्व कोशी प्रान्तीय कमिटी, चैनपुर र धनकुटा जिल्लाले पनि केन्द्रसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए। तर, केही कार्यकर्तालाई कारबाही गरेर पुनः जिल्ला पार्टी कमिटी व्युँताइएको थियो।
पार्टी अनुशासनको विषयमा केही केन्द्रिय सदस्यलाई कारबाही गर्ने र फुकवा गर्ने क्रम चलिरह्यो। २०१६ पुसमा काठमाडौंंमा भएको केन्द्रिय समिति बैठकमा सबै नेता आलोचित भए। पुष्पलालमाथि ‘व्यक्तिवादी’ र ‘नेतृत्वको महत्वकांक्षी’ भएको आरोप लगाइयो। तुलसीलालमाथि ‘संसदीय मोर्चामा सक्रिय भूमिका खेल्न नसकेको’, केशरजंग रायमाझीलाई ‘राजावादी भएको’, डीपी अधिकारीलाई ‘कांग्रेसपन्थी’ को आरोप लाग्यो।
तर, नेकपाभित्र खास सैद्धान्तिक मुद्दा संसदीय धार कि गणतन्त्र भन्नेमा बहस जारी नै रह्यो। १ पुस २०१७ मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उक्त कदमको महासचिव केशरजंग रायमाझीले समर्थन गरे। त्यसपछि भने पार्टीभित्रको द्वन्द्व सतहमा आयो। त्यतिबेलासम्म भित्रभित्रै चलेको नेकपाको किचलो पहिलोपटक बाहिर प्रस्फुटन भयो।
महेन्द्रको कदमपछि पुष्पलाल ‘संयुक्त संघर्ष’को लाइनमा आए। उता केशरजंग भने दरबारको समर्थक भए। उनले केन्द्रीय समितिले तोकिसकेको पार्टीको तेस्रो अधिवेशन गर्न चासो नै दिएनन्।
पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलायो। बैठकले पाँचै जोनका संयोजक सम्मिलित ‘अन्तर–जोन सामञ्जस्य समिति’ बनायो। यो समितिले २०१९ सालमा ‘तलबाट बोलाइएको अधिवेशन’ आयोजना गर्यो। अधिवेशनले बहुमत पक्षका महासचिव केशरजंग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई दुई वर्ष र शम्भुराम श्रेष्ठ तथा पीबी मल्ल लगायतलाई एक वर्षका लागि पार्टीबाट निस्कासित गर्यो।
उता बहुमत पक्षले अल्पमत पक्षको अधिवेशन हुनुअघि नै पुष्पलाल, तुल्सीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई पार्टीबाट निस्कासन गरिसकेको थियो। अल्पमत पक्षले तुलसीलाललाई महासचिव छान्यो। बहुमत पक्षको महासचिवमा केशरजंग रायमाझी यथावत् थिए।
यसरी स्थापनाको १३ वर्षपछि नेकपा पहिलोपटक फुट्यो। र, फुटको अनगिन्ती श्रृङ्खला शुरु भयो। यही श्रृङ्खलाको पछिल्लो क्रममा पुष्पकमल दाहाल र केपी ओेलीको नेकपा आइपुगेको छ। तर, यो फुट पहिलो फुटको जस्तो सैद्धान्तिक नभइ पदको भागबन्डा नमिल्दाको परिणाम भन्ने स्पष्ट देखिएको छ। नेपालमा कम्युनिष्टहरु सिद्धान्त नभइ पदका लागि भने विरलै फुटेका छन्।
क्याटेगोरी : जनमञ्च, राजनीति
प्रतिक्रिया