Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

बर्खे अधिवेशनमा शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव


काठमाडौं, १० वैशाख । प्रतिनिधि सभाको बर्खे अधिवेशनमा शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । आज प्रमुख सचेतकसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।

बैठकमा सभामुख घिमिरेले भने,‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं ।’

सभामुख घिमिरेले समितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्ने बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट