Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधले ढल्ने परिस्थितिमा पुगिसकेको प्रचण्डको ब्रिफिङ


काठमाडौं, ११ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आज बसेको संसदीय दलको बैठकमा ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको ब्रिफिङ गरेका छन् ।

बैठकमा सहभागी सांसदले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ । उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ । उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’

उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए । ती नेताले थपे, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । कांग्रेस(एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’

शिक्षा विधेयक र समग्र राष्ट्रिय राजनीतिको विषयमा प्रतिपक्ष दलहरूसँग एक पटक बस्ने र त्यसपछि कांग्रेससँग छलफल गरेर एउटा समझदारी गरेर अघि बढ्ने संकेत अध्यक्षले गरेको सुनाए ।

ती नेता भन्छन्, ‘ओलीजीको सरकार लम्बियो भने अलोकतान्त्रिक, स्वेच्छाचारी कदम बढ्ने हुँदा प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्न सक्छ । उहाँ यो संविधान नै खारेज भएपनि होस् भन्ने तहसम्ममा पनि जान सक्नुहुन्छ । त्यसैले हामीले कांग्रेससँग खुला छलफल गरेर अरू प्रतिपक्ष दलहरूलाई पनि विश्वासमा लिएर साझा धारणा बनाएर जानुपर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि सरकारको आयुबारे विभिन्न टिका टिप्पणी भइरहेको छ। हिजो कांग्रेसका कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै सभापति देउवा फर्केपछि नयाँ ढंगले अघि बढ्ने संकेत गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट