गौतम बुद्धको शान्तिको सन्देशको महत्व अझै बढेको छ : प्रम ओली

लम्बिनी, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गौतम बुद्धको शान्तिको सन्देशको महत्व अझै बढेको बताएका छन्।
संसारमा अशान्ति बढिरहेका बेला गौतम बुद्धको शान्तिको सन्देशको महत्व बढेको भन्दै प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थल लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउनुपर्ने बताए।
लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हतियार र युद्धबाट गर्न नसकिने काम शान्तिको माध्यमबाटै गर्न सकिने बताए।
बौद्ध सांस्कृतिक महोत्सव उद्घाटनको अवसरमा लुम्बिनी र बुद्धको बारेमा मात्रै मन्तव्य राखेका प्रधानमन्त्री ओलीले शान्ति, मानवता र करुणा जस्ता बुद्धका शिक्षालाई नेपालबाटै विश्वभर फैलाउनुपर्ने बताए।
‘अहिले संसारमा विभिन्न मुलुकहरुका बीचमा विभिन्न किसिमको द्वन्द्व र युद्ध भईरहेको छ, खतरनाक किसिमका हतियार निर्माण भएका छन् तर, हतियार र युद्धबाट शान्तिको सम्भावना हुँदैन शान्ति प्राप्तिका लागि बुद्धका शिक्षाहरु अनुसरण गर्नु अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत सहभागी थिए।
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको चौथो सांस्कृतिक महोत्सवमा ४० देशका ५ हजार बढीको सहभागिता रहेको छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया