Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत


दाङ, १४ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका प्रभावकारी नभएको बताएका छन् । देशका दुई ठुला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।

प्रवक्ता महतले प्रधानमन्त्रीले समन्वय, सन्तुलन मिलाउन नसकेको भन्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।

प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको आरोप लगाए ।

प्रवक्ता महतले सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्ने पक्षमा कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको बताए । सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको भन्दै उनले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाढ्दै हिँड्न नहुने पनि बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट