Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

प्रेस सेन्टरको क्रान्तिकारी विरासत र नयाँ नेतृत्वको परीक्षा


प्रेस सेन्टर एक क्रान्तिकारी विरासत बोकेको संगठन हो । यसले नेपाली सञ्चार क्षेत्रमा वैकल्पिक क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै आएको छ । प्रेस चौतारी र प्रेस युनियन जस्ता संगठनसँग तुलना गर्दा यसको पृष्ठभूमि र कामकारवाही विलकुलै भिन्न छ । यही विशिष्टताले गर्दा प्रेस सेन्टर दिन दुई गुणा, रात चार गुणाको गतिमा अघि बढ्न सफल भएको थियो । संगठनात्मक मात्र होइन, गुणात्मक दृष्टिले पनि प्रेस सेन्टरले ठूला ठूला हस्तक्षेपहरू गर्न सकेको थियो । प्रेस सेण्टर र प्रेस चौतारीको एकता गर्दा बनेको प्रेस संगठनको नेतृत्व पनि यसकै नेतृत्वले गर्न अवसर पाएको थियो । त्यसमा क्रान्तिकारी मूल्य, मान्यता र विचार कुशलतापूर्वक स्थापित गर्न सफल भएको अवस्था जगजाहेर छ ।

तर, विष्णु सापकोटा ‘जुगल’ को नेतृत्वमा आएपछि यो क्रान्तिकारी संगठनमा नयाँ संकटको सुरुवात भयो । क्रान्तिकारी आन्दोलनको विरासत जुगलले धान्न सकेनन् । आफैंले आफ्नो कार्यकाल नपुर्याउँदै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको स्वकीय सचिवमा नियुक्ति लिई प्रेस सेन्टरलाई ‘वेवारिसे’ जस्तै बनाए । एउटा क्रान्तिकारी प्रेस संगठनको मुख्य भूमिका उत्पीडित वर्ग, आवाजविहीनहरुको पक्षमा बोल्ने, समाजमा क्रान्तिकारी विचार फैलाउने हो । तर, जुगलको कार्यकालमा यस्तो मूलभूत जिम्मेवारीबाट संगठन विमुख भयो ।

आफ्नो धारको हिसाबले प्रेस सेन्टरको भिन्न पहिचान बनाउनुपर्ने बेलामा जुगलले सामाजिक सञ्जालमा ‘चाटुकारिता’ प्रोत्साहन गर्नेहरूलाई अघि सारे । सञ्चार क्षेत्रमा श्रमजीवी पत्रकारहरूको पक्षमा लड्नुपर्ने बेला उनीहरूले मौनता साँधे । जुगल आफैं कुन सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारहरूको हकहितका लागि खोई कहाँ उभिए ? आफैंले मिडिया चलाउने त परै जाओस्, अरूले सञ्चालित स्वरोजगारमूलक मिडिया संस्थाको संरक्षण र प्रवर्द्धनमा समेत कुनै पहल हुन सकेन ।

आन्तरिक संगठन सुदृढीकरणमा पनि अवस्था निराशाजनक रह्यो । प्रदेश र स्थानीय तहमा पुगेपछि संगठन विस्तार गर्नुको सट्टा भएका संगठनहरूलाई कमजोर बनाउने काम भयो । नेतृत्वले प्रदेश र मोफसलका स्वाभिमानी पत्रकारहरूलाई निरुत्साहित गर्दै ‘चम्चा’ संस्कृतिलाई प्रश्रय दियो । अध्यक्ष प्रचण्डको नाम भजाएर र प्रेस सेन्टरका इञ्चार्ज अग्नि सापकोटाको आडमा स्वाभिमानी र क्रान्तिकारी पत्रकारहरूमाथि दमन गरियो । यसले गर्दा लेख्ने, स्वाभिमानी पत्रकारहरु किनाराकृत हुँदै गए । गइरहेका छन् ।

जुगलको कार्यकालको शुरूवातमा केही आशा पलाए पनि गलत पात्रहरूलाई नेतृत्वमा प्रवेश गराउन र त्यसको पछाडि लाग्न थालेपछि स्थिति बिग्रँदै गयो । सामूहिक निर्णयको अभ्यास विस्थापित गर्दै निर्णय एकल निर्णयमा परिणत भयो । संगठनभित्र इमानदार र खट्ने पत्रकारहरूको सट्टा ‘आदेश पालना’ मात्र गर्नेहरूको बाहुल्य बढ्दै गयो । फलस्वरूप, आज प्रेस सेन्टरको हालत कमजोर र मानसिक रुपमा बिखण्डित देखिएको छ ।

प्रेस सेन्टरले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका रकमसम्बन्धी प्रश्न पनि उठेको छ । संकलित रकम कहाँ  ?  भन्ने विषयमा पुरानै नेतृत्व स्पष्ट हुन सकिरहेको छैन । नयाँ कार्यसमितिले यसको छानबिन र सही व्यवस्थापन गर्नु अत्यावश्यक देखिन्छ ।

महासंघको निर्वाचनमा पनि प्रेस सेन्टरको उपस्थिति लज्जास्पद रह्यो । प्रधानमन्त्री निवास बालुवाटारबाट महासंघको नेतृत्व चुन्ने कामको नेपालमा सुरुवात उनी अध्यक्ष र उनका सहोदर काका अग्नि सापकोटा इञ्चार्ज बन्दा भयो । गलत पक्षसँग साँठगाँठ गर्दा आफ्नै संगठनका साथीहरूलाई ‘साइड’ लगाइयो । जसको परिणामस्वरूप लाजमर्दो हार बेहोर्नु पर्यो । सयौं इमान्दार पत्रकार र कार्यकर्ताहरूलाई छाडेर केवल एकाध व्यक्तिलाई मात्र साथ लिएर अघि बढ्ने जुगलको रणनीति असफलताको मुख्य कारण बन्यो ।

कमल गिरीको नेतृत्वमा आएको नयाँ टिमले अब ‘जुगल एण्ड कम्पनी’ले पाएको असफलताको बाटो पछ्याउँछ कि नयाँ, स्वाधीन र क्रान्तिकारी मार्ग तय गर्छ भन्ने कुरा समयक्रमले नै देखाउनेछ । प्रेस सेण्टरको नेतृत्वमा जुगल आफैं फेरि नेतृत्वमा दोहोर्याउन चाहन्थे । नभए आफ्ना नजिकका निर्मल ज्ञवाली वा सन्तोष पौडेललाई उपाध्यक्ष बनाउने अन्तिम समयसम्म प्रयास गरे । त्यसका लागि उनले अन्तिमसम्म काका अग्नि सापकोटाको सहारा लिए । तर, यस्ता सबै प्रयासहरू विफल भए ।

यति ठूलो पराजयपछि पनि आफूले जितेको नाटक गर्ने जुगलको ‘अदम्य आत्मबल’ लाई भने मान्नैपर्छ । हारलाई स्वीकार्न नसकेर पनि आफूलाई विजेता देखाउन खोज्ने उनको शैली, चाहे जसरी होस्, एक किसिमको मनोबलको उदाहरण अवश्य हो । उनले फेसबुक स्टाटसमा विजित घोषणा गरेर राम्रैसँग आत्मरति लिएका छन् ।

समग्रमा भन्नुपर्दा, प्रेस सेन्टरको अहिलेको आवश्यकता पुरानो कमजोरी र विफलता सुधार्दै नयाँ सोच, सशक्त संगठन, श्रमजीवी पत्रकारहरूको संरक्षण र क्रान्तिकारी विचारको दृढ प्रचार गर्नु हो । अबको नेतृत्वले पुराना गल्तीहरू दोहोर्याउने कि नयाँ इमानदार बाटो तय गर्ने ? यही प्रश्नले भविष्यको बाटो निर्धारण गर्नेछ ।


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट