माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १६ वैशाख । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना गरे । त्यसैले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको उनको भनाइ छ ।
यसैगरी माओवादी केन्द्रकी सांसद रेखा शर्माले विषयको गाम्भिर्यता हेरी शिक्षकहरुका माग सम्बोधन गर्न माग गरिन् । तर सरकारले परिस्थिति सम्हाल्नुको साटो झन् भड्काउने कामग गरेको बताउँदै उनले भनिन्, ‘समस्या समाधान गर्न छिटो भन्दा छिटो सरकार अग्रसर बनोस् रमिते नबनोस् ।’
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र अर्का सांसद ठाकुर गैरेले शिक्षकहरु सरकार र सरकारमा भएका नेताहरुबीच निरन्तर वार्ता भइरहेको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
रास्वपाका सांसद मनिष झाले सरकारले राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रलाई हतकडी लगाएर थुनामा राखेको भन्दै विरोध जनाए । उनले सुशासनको कुरा गर्ने सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भनेर पनि प्रश्न गरे ।
राप्रपाकी सांसद रोशन कार्कीले सरकारले आन्दोलनमा उठेका माग नसुनेको भन्दै आलोचना गरिन् । सहकारी पीडित महिलाहरुले सोमबार अर्धनग्न प्रदर्शन गरेको भन्दै उनले त्यसरी महिलाहरुलाई प्रदर्शन गर्न बाध्य नपार्न सरकारको ध्यानाकर्षण गराइन् ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।
पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया