Techie IT
Samayabaddha
बिहीबार, २९ फागुन, २०८१

सापकोटाको सहभागिता रोक्न प्रचण्डको हस्तक्षेप


काठमाडौं  । माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुवोध’ गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादास्पद बद्री केसी पक्षीय समूहको कार्यक्रममा सहभागी हुन लागेपछि चाैतर्फी दबाव बढेको छ । तीव्र असन्तुष्टिपछि अन्ततः पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई रोक्ने निर्णय लिएका छन् ।

विवादास्पद कार्यक्रम र माओवादीको असहमति

बद्री केसी नेतृत्वको समूहले मार्च १५-१६ मा थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन र मार्च १८-१९ मा कम्बोडियाको फोनमपेन्हमा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्दैछ । माधव सापकोटा ती कार्यक्रमहरूमा सहभागी हुने तयारीमा रहेको समाचार बाहिर आएपछि माओवादी केन्द्रभित्र आन्तरिक असन्तोष चुलिएको थियो ।

एनआरएनएको आधिकारिक नेतृत्व शेष घले संयोजकत्वको उच्चस्तरीय समितिसँग रहेको छ । समितिले बद्री केसी पक्षलाई ‘अवैध समूह’ भन्दै विभिन्न देशका एनआरएनए शाखाहरूलाई आधिकारिक पत्राचार गरिसकेको छ । उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरका अनुसार थाइल्यान्ड, कम्बोडिया र माल्टामा हुन गइरहेका सम्मेलनहरू एनआरएनएको औपचारिक कार्यक्रम नभएको कारण सहभागी हुन नहुन चेतावनी दिइएको छ ।

सापकोटाको सहभागिताप्रति पार्टीभित्र आक्रोश

माओवादी केन्द्रले अहिलेसम्म बद्री केसी पक्षलाई मान्यता दिएको छैन । सोही कारण सापकोटाको सहभागिताले विवाद उत्पन्न गराएको हो । माओवादीभित्र कतिपय नेताहरूले ‘पार्टीको औपचारिक निर्णयबिना सापकोटाले स्वतन्त्र रूपमा यस्तो कार्यक्रममा जानु अनुशासनहीनता हो’ भन्दै कडा आपत्ति जनाएका थिए ।

एक नेताका अनुसार, सापकोटाको सहभागिताले एनआरएनए विवादमा माओवादी केन्द्रको आधिकारिक धारणा नै कमजोर बन्ने भएकाले पार्टीभित्र चर्को असन्तुष्टि व्यक्त भएको थियो । अन्ततः प्रचण्डले सापकोटालाई पार्टी नीति विपरीत गतिविधि नगर्न निर्देशन दिएपछि उनको यात्रा रोकिएको छ ।

माओवादीभित्र बढ्दो असमञ्जसता

एनआरएनएको विवादास्पद समूहसँग जोडिएका कारण सापकोटामाथि कारबाहीको माग समेत उठ्न थालेको छ । कतिपय नेताहरूले उनलाई स्पष्टिकरण सोध्नुपर्ने धारणा राखेका छन् ।

एनआरएनएको महाधिवेशन एकताबद्ध रूपमा गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको अवस्थामा माओवादी केन्द्रले विवादास्पद समूहलाई समर्थन गर्न मिल्दैन भन्ने धारणा पार्टीभित्र प्रबल रहेको देखिन्छ ।

अब हेर्न बाँकी छ, माओवादी केन्द्रले सापकोटालाई मात्रै रोकेर विवाद समाधान गर्छ वा यस घटनालाई अनुशासनहीनताको रूपमा लिएर थप कारबाही अघि बढाउँछ ।

सापकाेटाकाे  उपेन्द्र महताेसँग `विशेष सम्बन्ध´ रहेकाले उनकाे वचन हार्न नसकेर जान खाेजेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । केही समयअघि पार्टीबाट नजान भन्दा पनि केसी पक्षधरकाे काठमाडाैंमा भएकाे रिसाेर्टकाे कार्यक्रममा सापकोटा पेलेर नै गएका थिए ।


क्याटेगोरी : प्रदेश खबर

प्रतिक्रिया


ताजा अपडेट