प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स : जिग्मेलाई स्वर्ण पदक
काठमाडौं, १ मंसिर । नेपालका जिग्मे थिङ तामाङले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित गरे ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको महिला ४१ केजीमुनि नेपालकी मनता राई पहिलो भइन् । मनताले फाइनलमा नेपालकै शिवानी आले मगरलाई हराइन् ।
पुरुष ६२ केजीमुनि सुजिन गुरुङ र मनीष कार्की फाइनलमा प्रवेश गरे । महिला ५५ केजीमुनि सपना आले, ५६ केजीमुनि शान्ति थापा मगर र बविता कार्की तथा ७१ केजीमुनि सपना ऐडीले फाइनल यात्रा तय गरे । फाइनल पुग्ने सबै खेलाडी नेपालका हुन् ।
प्रतियोगिताको आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालका ३६ र भारतका ५ गरी ४१ खेलाडीको सहभागिता रहेको आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया