एनपिएल क्रिकेटमा कर्णालीको लगातार दोस्रो हार
काठमाडौँ, १९ मङ्सिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार खेपेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भयो । लिगमा दुई खेल सकेको कर्णालीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कर्णली जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यस्तै पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार खेपेको काठमडौँले पहिलो जित दर्ता गरेको छ । जितका लागि एक सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको काठमाडौँले १९.३ ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
काठमाडौँका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । बनाए ३७ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै जेरार्ड इरासमसले ३८, कप्तान करण केसीले २८ र माइकल लेभिटले २२ रन बनाए ।
बलिङमा कर्णालीका जिसन मक्सुद, विपिन शर्मा, गुलशन झा, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो ।
कर्णालीका लागि शिखर धवनले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै चाडविक वाल्टनले २१, जीसन मक्सुदले १४, बाबर हायातले १३ र गुलशन झाले १२ रन बनाए।
बलिङमा काठमाडौँका जेरार्ड इरास्मसले दुई विकेट लिए । करण केसी, नाथन साउटर र दीपेश कँडेलको एक एक विकेट झारे ।
आजै अर्को खेलमा विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया