एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो ।
सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सबैभन्दा धेरै विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै सन्दीप जोराले २० रन बनाए । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले समान तीन विकेट लिए । स्कट कुगेलेइनले दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो । सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले दुई विकेट लिए ।
लगातार तेश्रो खेल जितेको सुदूरपश्चिमले तीन खेलमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायम छ । खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । एनपीएलमा आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया