च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो

काठमाडौं । च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हराएको छ । हिजो भएको खेलमा तीन सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर २ बलमा दुई सय ६० रनमा अलआउट भयो ।
उसका खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान अघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनरले समान तीन विकेट तथा म्याट हेनरीले दुई विकेट लिए ।
त्यसअघि कराँचीमा ओपनर विल योङ र टोम लाथमको शतकमा न्युजिल्याण्डले पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो । लाथमले अविजित सर्वाधिक एक सय १८ रन जोडे । त्यस्तै विल योङले एक सय ७ रन जोडे ।
ग्लेन फिलिप्सले ६१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका नशिम साहले दुई, अबरार अहमद र हरिस रउफले समान एकरएक विकेट लिए ।
च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश खेल्दैछन् । भारतीय टोली पाकिस्तान नजाने भएपछि उसले आफ्ना सबै खेल यूएईमा खेल्नेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।
पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया