च्याम्पियन्स ट्रफी क्रिकेट : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई एक सय ७ रनले हरायो

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई एक सय ७ रनले हराएको छ ।
जीतका लागि तीन सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर ३ बलमा दुई सय ८ रनमा समेटियो ।
अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन, वइन मुल्दार, लुंगि एन्गिडीले समान दुई/दुई विकेट लिए ।
त्यसअघि पाकिस्तानको कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १५ रन बनाएको थियो । उसका ओपनर रायन रिकल्टनले शतक बनाए । उनी एक सय तीन रनमा आउट भए । एडेन मार्कराम र कप्तान टेम्बा बमुभाले अर्धशतक बनाए ।
अफगानिस्तानका मोहम्मद नाबिले दुई तथा फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान एक/एक विकेट लिए । जीतसँगै समूह ‘बी’ को दक्षिण अफ्रिकाले दुई अङ्क बनाएको छ ।
आज समूह ‘बी’ का अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच खेल हुँदैछ । च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया