प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज भएका खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ ओभर २ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो । बागमतीका ईशान पाण्डेले सबैभन्दा धेरै ७० रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रन बनायो । पुलिसका कुशल भुर्तेलले ८८, कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । बागमतीका प्रतिस जिसीले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार सातौं जीत हो भने बागमतीको ६ खेलमा चौथो हार हो ।
यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ रनले हरायो । कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९ ओभर २ बलमा २ सय रनमा अलआउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सबैभन्दा धेरै ८४ रन बनाए । कर्णालीका दिनेश अधिकारी र दीपेन्द्र रावतले ३/३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ४८ ओभर ५ बलमा २ सय ५ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका दीपेन्द्र रावतले ६६, अर्जन घर्तीले ५६ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ३ विकेट लिए । प्रतियोगितामा कर्णालीको यो ६ खेलमा तेस्रो जीत हो भने लुम्बिनीको ७ खेलमा तेस्रो हार हो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया