अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले जित निकाल्न सफल भएको हो ।
सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।
त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन ।
सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।
एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया