प्रधानमन्त्री कप क्रिकेटमा आर्मी, एपीएफ र सुदूरपश्चिम विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनले हरायो । आर्मीले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७ ओभर १ बलमा १ सय १२ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान देव खनालले सबैभन्दा धेरै ३७ रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४९ ओभर २ बलमा २ सय ४३ रन बनाउँदा सबै विकेट गुमायो । आर्मीका बसिर अहमदले ८६ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो आठ खेलमा सातौं जीत हो भने लुम्बिनीका आठ खेलमा चौथो हार हो ।
यस्तै रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले हरायो । एपीएफले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रनमात्रै बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ३९ रन बनाए । एपीएफका अभिषेक गौतमले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४९ ओभर २ बलमा २ सय ५८ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका आरिफ शेखले ८० रन बनाए । गण्डकीका सन्दीप पराजुली र सुदीप अर्यालले ३र३ विकेट लिए । प्रतियोगितामा एपीएफको सात खेलमा पाँचौं जीत हो भने गण्डकीको आठ खेलमा सातौं हार हो ।
यस्तै दाङको देउखुरी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले हरायो । सुदूरपश्चिमले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको कोशी ४५ ओभर १ बलमा २ सय ११ रनमा अलआउट भयो । कोशीका शकिब हकले सबैभन्दा धेरै ६२ रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङको गरेको सुदूरपश्चिमले किरण ठगुन्नाको कीर्तिमानी शतकमा २ सय ४२ रन बनायो । कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए । प्रतियोगितामा सुदूरपश्चिमको यो आठ खेलमा तेस्रो जीत हो भने कोशीको आठ खेलमा सातौं हार हो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया