Techie IT
Samayabaddha
मंगलबार, २५ चैत्र, २०८१

यू–१९ क्रिकेट : अफगानिस्तानसँग नेपाल १ रनले पराजित


काठमाडौं । अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १ रनले पराजित भयो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १ सय २६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २र२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २/२ विकेट लिए ।

योसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा एक खेलअघि नै जितेको छ । पहिलो खेलमा अफगानिस्तानले नेपाललाई १ सय ३० रनले हराएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।

यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो ।

१९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट