आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालले हङकङलाई ९ विकेटले हरायो

काठमाडौं, ३ वैशाख । आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ । मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ११५ रन बनाएको थियो।
हङकङले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा १ विकेट गुमाउँदै ११८ रनसहित लक्ष्य पूरा गरेको हो।
नेपालका ओपनरद्वय शाहिल पटेल र निरज कुमार यादवले ५ ओभरमा ५० रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि निरज र शाहिलले ५५ रनको साझेदारी गरे। ओपनर पटेलले सर्वाधिक ४२ रनको अविजित पारी खेले। उनले ४१ बलमा ८ चौका प्रहार गरे। उनीसँगै कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे।
हङकङका लागि एक मात्र विकेट सयान पुरीले लिए। त्यसअघि,ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको हो। हङकङका लागि कप्तान शिव माथुरले सर्वाधिक ६३ रन बनाए। उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
ओपनर अर्या पन्जावनीले १३,ह्यारी थोमस होड्सनले १० रन र विर माथुरले १२ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। विपिन शर्माले ३ र सन्तोष यादवले २ विकेट लिँदा असोक धामीले १ विकेट लिए।
नेपालले पहिलो खेलमा यूएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया