साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह
हो ची मिन्ह भियतानमी कम्युनिष्ट पार्टीका संस्थापक एवं र भियतनामी स्वतन्त्र संग्रामका प्रमुख नेता हुन्। उनले भियतनामबाट विश्व साम्राज्यवादीहरूको जरोकिलो उखेल्नमा महत्त्वपूर्ण भूमिका खेले। युद्धभन्दा बाहिर उनी सौम्य, शान्त, सादगीपूर्ण नेता थिए। उनको जीवनको प्रत्येक दृष्टि र क्रियाकलाप संसारका कम्युनिष्टहरू, सर्वहारा क्रान्ति तथा राष्ट्रवादीहरूको लागि धेरै ठूलो प्रेरणास्रोत बनेको छ र बनिरहनेछ। हो ची मिन्हका अनुसार मार्क्सवाद-लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रियवाद नै सर्वहारा क्रान्ति र साम्राज्यवादी शक्तिहरूलाई परास्त गर्ने प्रेरणा स्रोत हुन्। संसारका कम्युनिष्टहरूले राष्ट्रिय मुक्ति युद्धको उदाहरण हो ची मिन्हको नेतृत्वमा भएको मुक्तिसंग्रामलाई लिन्छन्।
आधुनिक भियतनामका राष्ट्रपिताका रूपमा विश्वपरिचित हो ची मिन्हको जन्म १९ मे १८९० मा एक साधारण किसान परिवारमा मध्य भियतनामको किमिलियन गाउँमा भएको थियो। उनलाई शुरुमा न्यूगूयेन सिंह कुंग नामले चिनिन्थ्यो र पछि १० वर्षको उमेरदेखि भने उनलाई न्यूगूयेन तात थान्ह नामले चिन्न लागियो। उनी एक अधिकारीका छोरा थिए। त्यसबेला भियतनाम फ्रान्सको उपनिवेश थियो। हो ची मिन्हका पिता न्यूगूयेन मिन्ह सोस विद्रोही स्वभावका थिए। उनले फ्रान्सेली वर्चस्वका विरुद्धमा आफ्नो जागिरबाट राजीनामा दिएका थिए। यसपछि उनीहरूले अत्यन्तै गरीबीमा जीवन बिताउनु परेको थियो। हो ची मिन्ह ११ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो भने सन् १९३० मा पिताको मृत्यु भएको थियो। होकी बहिनी थान्हलाई धेरै वर्षसम्म जेल सजाय दिइएको थियो र पछि उनलाई देशनिकाला गरिएको थियो।
हो ची मिन्हले आफ्नो पढाइको शुरुवात ह्यूबाट गरेका थिए । हो ची मिन्हले परम्परागत चिनियाँ र फ्रान्सेली प्राविधिक शिक्षा लिएका थिए। सन् १९०५ मा १५ वर्षको उमेरमा हो ची मिन्हले फ्रान्सेली भाषाको अध्ययन गरेका थिए। तर आर्थिक संकटका कारण तथा विद्रोहमा संलग्न भएको आरोप लागेपछि उनले आफ्नो पढाइ अधुरै छाड्न बाध्य भएका थिए।
त्यसबेला फ्रान्सेलीहरूले भियतनामीहरूलाई अत्यन्तै दमनको शिकार बनाएका थिए। यतिबेलै सन् १९०८ मा शोषण र उपनिवेशवादको विरूद्धमा किसान विद्रोह भएको थियो। त्यसको दोष हो ची मिन्हलाई पनि लागेको थियो। उनले केही समय (लगभग ८ महिना) फान थिएटको एक निजी स्कूलमा पढाउने काम पनि गरेका थिए। यतिबेला उनले विद्यार्थीहरूलाई देशभक्ति, राष्ट्रियता, मातृभाषा, मित्र, शत्रु, मुक्ति आन्दोलन, आदिबारे शिक्षा प्रदान गरे। हो ची मिन्ह बच्चैदेखि असल, शान्त स्वभावका र परिश्रमी थिए। उनी इतिहास र उपन्यास अत्यन्तै रूचिपूर्वक पढ्ने गर्दथे। पढाइको साथसाथै उनी चेस खेलमा बढी रुचि लिन्थे। उनले विभिन्न नेता तथा देशका धेरै कथा बाल्यकालमै पढेका थिए। स्वतन्त्रता सम्बन्धी आन्दोलनको बारेमा पनि उनले धेरै अध्ययन गरेका थिए। अत्यन्त गरीबीको अवस्थामा रहेको बेला ३ जुन १९११ मा २१ वर्षको उमेरमा उनले कुकको सहायकको रूपमा फ्रान्सको स्टीमर जहाजमा काम पाएर भियतनाम छोडेका थिए। पछि उनी कामकै सिलसिलामा लण्डन र पेरिसमा पनि बसेका थिए। यही बेलामा उनले अफ्रिका, यूरोप, उत्तर र दक्षिण अमेरिका, आदि देशका औपनिवेशिक बर्बरतालाई नजिकैबाट नियालेका थिए। सन् १९१७ मा हो ची मिन्ह कामकै सिलसिलामा इङ्ग्लाण्ड गएका थिए र त्यहाँ उनले कडा श्रम गर्नुका साथै अंग्रेजी भाषा पनि सिके।
यसरी हो ची मिन्हले फ्रान्स, इंग्ल्याण्ड, अमेरिका जस्ता देशहरूको यात्रामा सर्वत्र साम्राज्यवादी शोषणलाई आफ्नै आँखाले देखेका थिए र महसुस गरेका थिए। सन् १९१७ को रूसी क्रान्तिले उनलाई अत्यन्तै धेरै आकर्षित गर्यो र सबै समस्याहरूको समाधान उनले यही क्रान्तिमा देख्न थाले। हो ची मिन्ह १९१७ देखि १९२३ सम्म फ्रान्समा बसेका थिए। सन् १९१७ मा नै फ्रान्समा रहेका भियतनामीहरूलाई संगठित गरेका थिए।
उनले प्रथम विश्वयुद्धको अन्त्य गर्न बोलाइएको भर्साइल्सको शान्ति सम्मेलनमा ८ बुँदै माग पेश गरेका थिए, जसमा उनले सम्पूर्ण इन्डोचीनलाई समान अधिकार दिने, स्वराज्यको अधिकार, संघ, धर्म, प्रेम, आन्दोलनको स्वतन्त्रता, राजनीतिक बन्दीहरूको मुक्ति, भियतनामी र फ्रान्सेलीहरू बीचमा समान अधिकार, रक्सी र अफिमको जबर्जस्तीको अन्त्य, जबर्जस्ती काम लिने चलनको अन्त्य र बलजफ्ती कर उठाउने प्रथा खारेजी जस्ता महत्त्वपूर्ण माग राखेका थिए।
यद्यपि उनको त्यो मागको कुनै सुनुवाइ भएन तर पनि यस कार्यबाट हो ची मिन्हलाई सम्पूर्ण भियतनामीहरूमाझ चिनायो र भियतनामीहरू एकताबद्ध हुनेतिर लाग्न थाले। हो ची मिन्हले यो आठबुँदे प्रस्तावलाई छापेर व्यापक प्रचारप्रसार पनि गरे।
त्यसपछि हो ची मिन्हले मार्क्सवाद-लेनिनवादको गहिरो अध्ययन गर्न लागे। प्रथम विश्वयुद्धपछि हो ची मिन्ह गुयेन ए क्वोक (गुयेन द पेट्रियट) भूमिगत नामबाट भियतनाम स्वतन्त्रता आन्दोलनका क्रान्तिकारी गतिविधिमा सामेल हुन लागेका थिए। उनी फ्रान्सेली कम्युनिष्ट पार्टीका संस्थापक सदस्यका रूपमा रहेका थिए। फ्रान्सेली कम्युनिष्ट पार्टीको समर्थनबाट हो ची मिन्हले एक क्रान्तिकारी पत्रिका “द पारिया” (तिरस्कार) निकाल्न शुरु गरे। यो पत्रिकाले फ्रान्सेली साम्राज्यवादका विरुद्ध उसका सबै उपनिवेशहरूमा शोषित जनतालाई क्रान्तिको लागि प्रोत्साहित गर्दथ्यो।
त्यसपछि उनले श्रमिकहरूको वास्तविक जिन्दगीलाई उतारेर एक उपन्यास पनि लेखे। यो त्यतिबेला निकै चर्चित भयो। त्यसपछि उनले अर्को पुस्तक “फ्रान्सेली उपनिवेशवादीहरूको अपराध” शीर्षक पुस्तक लेखे। त्यसैगरी ब्याम्बो ड्रयागन नामक नाटक पनि तयार गरे। यो नाटक सहज रूपमा मंचन गर्नको लागि प्रतिबन्ध लगाइएको थियो। तर गोप्य रूपमा यसको मंचन व्यापक ढंगले गरियो। यसैगरी हो ची मिन्हले चित्रकला र फोटोग्राफीको काम पनि गर्ने गर्थे। कामबाट फुर्सद हुने वित्तिकै पुस्तकालय गएर पढ्ने गर्दथे। उनी मार्क्सवादी पुस्तक अत्यन्तै रुचिपूर्वक पढ्ने गर्दथे। उनी फ्रान्समा रहँदा अखबारको लेखन, सम्पादन गर्नुका साथै गाउँ-गाउँमा गएर सर्वसाधारणलाई प्रशिक्षित गर्ने काम पनि गर्दथे।
सन् १९२३ मा भएको अन्तर्राष्ट्रिय कम्युनिष्टको पाँचौं सम्मेलनमा हो ची मिन्ह पार्टीको तर्फबाट सोभियत संघको मस्को गए। यहीँ उनले स्टालिनसँग भेट गरे। त्यसपछि हो ची मिन्हलाई कम्युनिष्ट इन्टरनेशनलको तर्फबाट चीनमा क्रान्तिकारीहरूको संगठन तथा हिन्दचीनमा राष्ट्रिय मुक्ति आन्दोलनको लागि पठाइयो। सन् १९२४ मा लेनिनको मृत्यु भएपछि उनले लेनिन र उपनिवेशका जनता शीर्षक एक महत्त्वपूर्ण रचना लेखेका थिए। त्यसैगरी सोभियत संघमा रहेको बेला हो ची मिन्हले त्यहाँबाट प्रकाशित प्रत्रिका प्राब्दा, अन्तर्राष्ट्रिय संवाद, आदिमा महत्वपूर्ण लेखरचनारू लेखेर प्रकाशित गराएका थिए। रुसमा हुँदा हो ची मिन्हले लेनिनका सिद्धान्त अनुसार पार्टी निर्माणको अनुभव हासिल गरे। त्यसैगरी सोभियत शासन प्रणालीको पनि सम्पूर्ण रूपले अध्ययन गरेका थिए।
सन् १९२४ को अन्तमा उनी चीन गए र त्यहाँ निर्वासित भियतनामीहरूको बीचमा एक क्रान्तिकारी आन्दोलनको शुरुवात गरे। यहाँ उनले भियतनामी जनताबीच काम गर्ने, संगठित गर्ने काम गर्न थाले। त्यसपछि चीनमा रहेका सबै भियतनामीहरूलाई संगठित गरी “क्रान्तिकारी भियतनामी युवा संघ” खोले भने युवा नामकको अखबारको पनि प्रकाशन गरे।
भियतनामी क्रान्तिकारी संगठनले व्यापक रूपमा कम्युनिष्ट क्रान्तिकारी सिद्धान्त प्रचारप्रसार गर्ने र विभिन्न आन्दोलनहरू हड्तालहरू चलाउन थाल्यो। मजदूरहरूलाई पनि एकताबद्ध बनायो। चीनमा रहेका भियतनामीहरूलाई शिक्षा प्रदान गर्नको लागि यसैबेला हो ची मिन्हले चीनको कवाङ चाउ नामक गाउँमा एक स्कूल खोले। अब यसमा भियतनामी युवाहरू गोप्य रूपमा अध्ययन गर्न थाले।
त्यतिबेला चीनमा जनयुद्ध भइरहेको थियो। माओत्सेतुङ नेता थिए। हो ची मिन्हले माओको जनयुद्धको सिद्धान्तलाई नै भियतनामी जनताको मुक्ति आन्दोलनमा जोडेर अगाडि बढ्ने निर्णय लिएका थिए। चीनका स्थानीय क्वोमिन्ताङ अधिकारीहरूले कम्युनिष्ट गतिविधिमाथि प्रतिबन्ध लगाउन थालेपछि उनी चीन छोड्न विवश भए।
त्यसपछि उनी त्यहाँबाट थाइल्याण्ड गएर भियतनामी भाषाको एक स्कूल खोले र त्यसमा गाउँका किसान, व्यापारी, मजदूरहरूलाई पढाउने व्यवस्था गरे। यसपछि तिनीहरूलाई क्रान्ति युद्ध, छापामार युद्ध र मुक्ति युद्धको शिक्षा पनि सँगसँगै दिन थालियो। उनले यहाँबाट मानवता नामको एक अखबार पनि प्रकाशित गर्न थालेका थिए र यो धेरै प्रसिद्ध भएको थियो।
हो ची मिन्हले सन् १९३० मा उत्तर भियतनाममा हिन्दचीन कम्युनिष्ट पार्टीको स्थापना गरे साथै एउटा घोषणापत्र तयारी गरी यसको व्यापक प्रचारप्रसार पनि गरे। यसपछि भियतनामा तीनवटासम्म कम्युनिष्ट पार्टीहरू खुले। सन १९३० मा हो ची मिन्हले एकीकरण सम्मेलन गरी तीनवटै कम्युनिष्ट पार्टीलाई मिलाएर एउटा सिंगो भियतानमी कम्युनिष्ट पार्टी बनाए। यसैलाई पछि इन्डोचाइनिज कम्युनिष्ट पार्टी (ICP) भनियो। र, उनी कम्युनिष्ट अन्तर्राष्ट्रियको प्रतिनिधिको रूपमा हङकङमा रहे। उनले हिन्दचीनका सबै कम्युनिष्टहरूलाई एकसाथ मिलाएर हिन्दचीनको कम्युनिष्ट पार्टी तथा सन् १९३३ मा भियतमिन्ह नामक संयुक्त मोर्चा बनाउने जिम्मेवारी कम्युनिष्ट इन्टरनेशनलबाट लिएका थिए।
सन १९३१ मा हो ची मिन्हलाई ब्रिटिश पुलिसले गिरफ्तार गर्यो र सन १९३३ सम्म उनले जेलमा बस्नुपर्यो। सन् १९३३ मा कुनै प्रमाण फेला नपरेपछि रिहा गरियो र उनी त्यही बेला बिरामी परेर अस्पताल भर्ना भए। केही समयपछि हो ची मिन्ह सिंगापुर गए तर त्यहाँ पनि उनी गिरफ्तार भए र हङकङ नै फिर्ता पठाइयो। उनको स्वास्थ्य बिग्रदै गइरहेको थियो त्यसैले केही समय उपचार गर्दै उनी चीनको साङघाइ गएर त्यहाँको कम्युनिष्ट पार्टीसँग सम्पर्कमा रहे। केही समयपछि उनी सोभियतसंघ गए र त्यहाँको लेनिन विश्वविद्यालयमा अध्ययन गर्नथाले। यो विश्वविद्यालयमा संसारका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पढाउने गरिन्थ्यो। सन् १९३५ मा हो ची मिन्हले सोभियत संघको सातौं कम्युनिष्ट सम्मेलनमा पनि भाग लिएका थिए। त्यसपछि सन् १९३५ मा नै हिन्द चीन कम्युनिष्ट पार्टीको प्रथम सम्मेलन चीनको मकाओमा सम्पन्न भएको थियो।
सन् १९३८ मा उनी चीन फर्किए र चिनियाँ कम्युनिष्ट सशस्त्र बलको सल्लाहकारको रूपमा काम गर्न लागे। हो ची मिन्हले लगभग १० वर्षसम्म माओ र स्टालिनसँगै रहेर छापामार संघर्षको तयारीमा लागेका थिए । हो ची मिन्ह सन् १९४५ सम्म हिन्दचीनको कम्युनिष्ट आन्दोलन तथा छापामार युद्धका सक्रिय नेता रहे। उनी लम्बे अभियान र जापानविरोधी युद्धमा पनि सहभागी भए। यो संघर्षमा उनले अनेकौं कष्ट र यातनाहरू सहनुपरेको थियो। च्याङकाइसेकका सेनाहरूले उनलाई पक्डिएर अत्यन्तै अमानवीय अवस्थामा एकवर्षसम्म कैद राखेका थिए। त्यतिखेर उनको आँखा झण्डै बन्द भएको थियो।
सन १९११ मा भियतनाम छोडेर निस्किएका हो ची मिन्ह सन् १९४१ मा देश फर्किए। भियतनामी जनताहरूले उनको धेरै स्वागत गरे। अब हो ची मिन्हले यहाँ देश र जनताको मुक्तिको लागि भियतनामी संघको स्थापना गरे। यतिखेर जापानले भियतनाममाथि कब्जा गरेको थियो। हो ची मिन्ह ३० वर्षसम्म बाहिर बसेर भियतनामको स्वतन्त्रताको लागि माहौल बनाउनतिर लागिरहेका थिए। उनी भियतनामबाट बाहिर निस्किँदा एक गुमनाम युवा थिए तर फर्किएको बेला उनी एक ठूला नेता बनिसकेका थिए। अब भियतनामको स्वतन्त्रताको लागि हो ची मिन्हले एक संगठित सशस्त्र आन्दोलनको आवश्यकता महसुस गरे। उनी विचारमा स्पष्ट थिए, छापामार युद्धको ज्ञान उनीसँग थियो र कुशल संगठक पनि थिए। उनले सबभन्दा पहिले ९० प्रतिशतभन्दा बढी किसानहरूलाई संगठित गरी प्रशिक्षण प्रदान गरे। त्यसपछि युवा तथा आम जनसमुदायलाई संगठित गरे। उनले आइसीपी नेताहरूसँग सल्लाह गरी एउटा कम्युनिष्ट क्रान्तिकारी स्वतन्त्र आन्दोलनको शुरुवात गरे, जुन आन्दोलनलाई भियतमिन्ह आन्दोलन भनिन्छ। त्यसपछि हो ची मिन्हले आफ्ना सम्पूर्ण साथीहरूको सहयोगसँगै जापानी साम्राज्यवादको विरुद्धमा निर्णायक युद्ध लडे। हो ची मिन्हको नेतृत्वमा हिन चीन कम्फ्रेन्सले प्रत्येक क्षेत्रमा जापानी र फ्रान्सेली उपनिवेशवादको विरुद्धमा व्यापक रूपमा आन्दोलन, हड्ताल, जुलुस, सभा, समारोह गर्न थाल्यो। आन्दोलन दबाउन उपनिवेशवादीहरूले व्यापक दमन कार्यलाई अगाडि बढाए पनि झन भनो झन आन्दोलन बढ्दै गयो। भियतनामका केटाकेटी, बुढाबुढी, युवा, मजदूर, किसान, व्यापारी, महिला सबै आन्दोलनमा उत्रिए। अगस्ट १९४५ मा जापानले आत्मसमर्पण गरेपछि २ सेप्टेम्बर १९४५ मा भियतनाममा डेमेक्रेटिक रिपब्लिक अफ भियतनाम स्थापना भयो। हो ची मिन्ह सर्वमान्य नेता बने। यसपछि हो ची मिन्हलाई संसारले यही नामबाट चिन्न थाल्यो, जुन उनको छद्म नाम थियो। हो ची मिन्हको अर्थ पथप्रदर्शक हुन्छ।
फ्रान्स सजिलैसँग भियतनाम छोड्न तयार थिएन। फ्रान्सेली साम्राज्यवादीहरूले अंग्रेज साम्राज्यवादीहरूको मद्दतले हिन्द चीनका पुराना सम्राट बाओदाइको आडमा फेरि साम्राज्य फिर्ता लिने कोशिस थाल्यो। सन् १९४६ को अन्तमा फ्रान्सले भियतनामको विरुद्धमा युद्ध घोषणा गरिदियो। अब भयंकर लडाइँको क्रम शुरु भयो। यो युद्ध आठ वर्षसम्म भयंकर रक्तपातपूर्ण लडाइँ चल्यो। युद्धकै बीचमा सन् १९५१ को फेब्रुअरीमा भएको दोस्रो महासभाले पार्टीको नाम भियतनाम मजदूर पार्टी राख्यो। यसरी मार्क्सवादी-लेनिनवादी सिद्धान्तमा आधारित यो पार्टीले हो ची मिन्हको नेतृत्वमा केन्द्रीय समिति बनायो। भियतनामी छापामार योद्धाहरूले भियतनामका पहाड र खेतहरूमा फ्रान्सेली सैनिकहरूविरुद्ध युद्ध गरे। अन्तमा सन् १९५४ मा वियेन फूको निर्णायक लडाइँमा फ्रान्सेलीलाई हराइदिए। त्यसपछि जेनेभा सम्मेलन बोलाउन स्वीकार गरियो। तर जेनेभा वार्तापछि अमेरिकाकाको चलाखीको कारण भियतनामलाई दुई टुक्रा बनाइयो। उत्तरी भियतनाममा कम्युनिष्ट सरकार बन्यो भने दक्षिणी भियतनाममा पश्चिमी देशहरूको समर्थन भएको सरकारको गठन भयो।
हो ची मिन्ह उत्तरी भियतनामा कम्युनिष्ट समाज निर्माणको लागि सक्रियतापूर्व लागे। हो ची मिन्हले भियतनामको विभाजनको तीव्र रूपमा विरोध गरे र एकीकरणको लागि फेरि अमेरिकी साम्राज्यवादका विरुद्ध लड्न जनतालाई आव्हान गरे। फ्रान्सेलीहरू हटेपछि अमेरिकाले दक्षिणी भियतनाममा बाओदाइको ठाउँमा दियम नामक कठपुतली शासकको माध्यमबाट भियतकंग देशभक्तहरूको विरुद्ध युद्ध शुरु गर्यो। अमेरिकी साम्राज्यवादले भियतनाममाथि सन १९५४ बाट नै भीषण आक्रमण शुरु गर्यो।
सन् १९६० को शुरुवातबाट साम्यवादी नेतृत्वमा रहेका छापामारहरूले साइगनमा अमेरिका समर्थित शासनको विरुद्धमा भयंयकर युद्ध लडे। उत्तरी भियतनाम चीन र सोभियत संघको मित्र शक्ति बनेको थयो भने छिमेकी इन्डोनेशिया, लाओस्, कम्बोडिया, आदि देशहरू समेत कम्युनिष्ट व्यवस्थाप्रति आकर्षित हुँदै गएका थिए। सन् १९६१ मा साम्राज्यवादी शक्तिले दक्षिण भियतनाममा ठूलो संख्यामा अत्याधुनिक हतियार सहित सैनिक परिचालित गरेको थियो। ५ लाखभन्दा बढी अमेरिकी सेना मात्र आएका थिए।
प्रत्यक्ष अमेरिकी हस्तक्षेपसहितको युद्ध भयंकर रूपले अगाडि बढ्दै गयो। संसारको सबभन्दा शक्तिशाली मानिएको अमेरिकी साम्राज्यवादले दोस्रो विश्वयुद्धमा युरोपमा जति बम खसालेको थियो, त्यसको दुइगुना बम तथा विषालु ग्यासको प्रयोग भियतनाममा गर्यो। यो युद्धमा ७० हजारभन्दा बढी (भियतनामको सरकारी तथ्याङ्कअनुसार) अमेरिकी सेनाको ज्यान गयो। अमेरिकाले भियतनाम युद्धमा २०० अरब डलर खर्च गरेको थियो। यसबाट के हिसाब लगाउन सकिन्छ भने एक जना भियतनामीलाई मार्न अमेरिकाले दस हजार डलरभन्दा बढी खर्च गरेको थियो।
सम्पूर्ण भियतनामी जनताले अमेरिकी साम्राज्यवादका विरुद्ध भयंकर छापामार युद्ध लडे। भियतनाम युद्धमा अमेरिकाका ८ हजारभन्दा बढी हवाइजहाज र ४ हजारभन्दा बढी हेलिकोप्टर ध्वस्त भएका थिए। अमेरिकाले यो युद्धमा ६७ टनभन्दा बढी बमगोला बर्षाएको थियो। भियतनामी मुक्ति मोर्चाले यो युद्धमा ५०० भन्दा बढी अमेरिकी ट्याङ्क कब्जा गरेको थियो र केही सैनिक हवाइजहाज पनि कब्जा गरेको थियो। त्यसैगरी ठूलो राशिमा जगेडा पार्टपूर्जा, खनिज तेल, सैन्य सामग्री, उपकरण, आदि पनि मुक्ति सेनाले कब्जा गरेको थियो ।
संसारका थुप्रै राष्ट्रहरू र अमेरिकी जनतासमेतले यो युद्धको धेरै विरोध गर्न थालेपछि सन् १९७२ बाट क्रमशः अमेरिकी सेना फिर्ता हुन थाले । खासगरी भियतनामी युद्धबाट अमेरिकाको सम्पूर्ण अर्थतन्त्र नै ध्वस्त भएकोले गर्दा अमेरिकी जनताले पनि अमेरिकी साम्राज्यवादको विरोधमा खुलेरै उत्रिएकाथिए ।
अन्तत: भियतनाम युद्धलाई अन्त्य गर्दै सन् १९७३ मा पेरिस सम्झौता भयो। सन् १९७५ अप्रिल ३० मा भियतनामी मुक्ति सेनाले दक्षिण भियतनाममाथि विजय प्राप्त गरेको तथा स्वतन्त्र भियतनाम स्थापना भएको घोषणा गरेका थिए। यसरी सन् १९७५ मा भियतनाम पूर्ण रूपमा स्वतन्त्र भएको थियो।
उल्लेख्य कुरा के छ भने भियतनाम युद्ध उत्कर्षमा चलिरहेकै बेला हो ची मिन्हको २ सेप्टेम्बर १९६९ मा हृदय गति रोकिएको कारणले हनोइमा मृत्यु भएको थियो।
हो ची मिन्हको जीवन साम्यवादी एवं सर्वहारा क्रान्तिका पक्षपाती तथा राष्ट्रवादीहरुका लागि प्रेरणाको स्रोत रहेका छन्। विश्वका शक्तिशाली साम्राज्यवादी शक्तिहरू फ्रान्स र अमेरिकाको विरुद्धमा भएको लामो तर सफल संघर्षको मूल कारण नै उनको अभूतपूर्व नेतृत्व मानिन्छ । वास्तवमा, भियतनाम युद्ध साम्राज्यवादविरुद्ध संघर्षरत संसारभरिकै उत्पीडित राष्ट्रहरूका लागि प्रेरक एवं शिक्षाप्रद घटनाक्रम हुन्। हो ची मिन्हका अनुसार यी सबै संघर्षका प्रेरणास्रोत मार्क्सवाद-लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रियतावाद नै हो।
हो ची मिन्हका अनुसार पूँजीवादको अन्तर्राष्ट्रिय रूप साम्राज्यवाद हो भने वर्गसंघर्षको अन्तर्राष्ट्रिय रूप मुक्तिसंघर्ष हो। उनले भनेका थिए – ‘भियतनामी मुक्तिसंग्राम विश्व मुक्तिसंग्रामकै एक हिस्सा हो र मेरो जीवन क्रान्तिको लागि समर्पित छ।’
सन्दर्भ सामग्रीहरू
- HO CHI MINH – ON REVOLUTION – sellected writtings 1920-1966, Edited and with and Introduction by BERNARD B. FALL, published by the new Americal library
- Selected writings of Ho-Chi-Minh, LeoPard Books India
- Following Ho Chi Minh : the memoirs of a North Vietnamese colonel by Bùi, Tín, Honolulu : University of Hawaii Press
- Ho chi Minh A life – william J. Duiker, hyperion
- Ho Chi Minh Thought On The Military- Publisher: The Gioi Publishers
- Ho Chi Minh: A Political Biography – Jean Lacouture, Peter Wiles (Translator), Jane Clark Seitz (Translator)
- हो ची मिन्ह- एक क्रान्तिकारी का जीवन (जीवनी) – सूफी अमरजीत, अनुवाद – रामपाल, गार्गी प्रकाशन, दिल्ली
- वियतनाम का मुक्ति युद्ध- त्रुयोन्गा चिन्ह, अनुवाद महेश सिंह, संपादन नरेश नदीम, प्रकाशसन संस्थान, नयाँ दिल्ली
- ‘हंसने की चाह में’ (भियतनामी कहानियों का संकलन) – वु वान ली, हिन्दी अनुवाद – कपिलदेव – परिकल्पना प्रकाशन, नयाँ दिल्ली
- एशिया का आधुनिक इतिहास, सत्यकेतु विद्यालंकार, हिन्दी संस्करण, श्री सरस्वती सदन, नयाँ दिल्ली
- जेल डायरी – हो ची मिन्ह (कविताएँ) , हिन्दी संस्करण, अनु – सत्यव्रत, परिकल्पना प्रकाशन, लखनउ
- हो ची मिन्ह – लेखक तथा सम्पादक – सिद्धिश्वरमान श्रेष्ठ, अक्षलोक प्रकाशन
- आधुनिक एशिया – कौलेश्वर राय, किताब महल
- वियतनाम की क्रान्ति बुनियादी समस्याएँ, आवश्यक कार्य – ले दुआन, हिन्दी संस्करण, अनुवाद – महेश सिंह, सम्पादन – नरेश नदीम, प्रकाशन संस्थान, नयाँ दिल्ली
क्याटेगोरी : बिचार
प्रतिक्रिया