प्रचण्डको वास्तविक हस्ताक्षर आउँदा नक्कलीको चर्चा
त्यो बेलामा पार्टीका विज्ञप्तिहरु आउँथे । त्यसलाई प्रायः फोनबाट टिपेर र कहिले हातले लेखेका सम्पर्क कार्यालयमा लिन जानुपथ्र्याे । त्यसलाई कम्प्युटरमा टाइप गरेर प्रचण्डका नामका अधिकांश हस्ताक्षर महेश्वर दाहाल र उहाँ नहुँदा कहिलेकाहीँ तारा न्यौपानेले गर्नुहुन्थ्यो । इमेलको चलन नहुँदासम्म प्रायः यही हुन्थ्यो । महेश्वर दाहाल र तारा न्यौपानेले गरेको हस्ताक्षर हेर्दा हेर्दा बानी परेका पत्रकारहरुले जब प्रचण्डको वास्तविक हस्ताक्षर आउँदा भने नक्कली हो कि भनेर जनादेशमा सोधे ।
केशब न्याैपाने `मार्मिक´
हरेक राजनीतिक परिवर्तन र नयाँ इतिहास रच्ने काममा आमजनता, भुइँमान्छेको भूमिका मुख्य हुन्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । खासखास नेतृत्वको इच्छाशक्ति, संयोजनको भूमिका महत्वपूर्ण हुन्छ तर निर्णायक हुँदैन । इतिहासका निर्माता आमजनता नै हुन भन्ने भनाइ त्यत्तिकै भनिएको होइन ।
जनयुद्धलाई समग्र युद्ध भनिएको थियो । त्यतिबेला जनयोद्धा, कलाकार, पत्रकार सबैको भूमिका थियो ।
पटक पटक र कहिले सँगै मुख्य रुपमा शक्ति लम्साल, कृष्ण सेन इच्छुक, नारायण शर्मा, तारा न्यौपाने, महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, दीपक मैनाली, नीमबहादुर बुढाथोकी, चन्द्रमान श्रेष्ठ, दीपेन्द्र राेकाय, धनबहादुर मगर, अमर बुढा, शेरबहादुर बस्नेतसहितका साथीहरु थियौं ।
स्तम्भकार दीपेन्द्र शर्मा र प्रवन्ध सम्पादक मिलन नेपालीको भूमिका पनि महत्वपूर्ण थियो । भट्टेडाँडाको प्रहरी चौकीमाथिको आक्रमणपछि उहाँहरुलाई वेपत्ता बनाइयो ।
विद्यार्थीबाट आएर व्यवस्थापनमा बेलाबेलामा सहयोग गर्नेहरुमा केशव सिंह ठकुरी, नारायण शाही, गोपी भण्डारी, अतीन्द्र केशरी न्यौपाने लगायत थिए ।
माओवादी नेता तथा कार्यकर्ताहरु नेपालमा नयाँ जनवादी क्रान्तिको लागि मुक्ति या मृत्यु भनेर महान जनयुद्धमा होमिएका थिए । वि.सं. २०५५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिको चौथो विस्तारित बैठक बसी आधार इलाका निर्माण गर्ने निर्णय गर्यो । माओवादीको सफलतासँगै दमनको मात्रा पनि त्यही स्तरमा बढ्दै गयो । त्यतिबेला किलो शेरा टु को अर्थ सर्च एण्ड किल अथवा माओवादीलाई खोज र मारको अभियान चलाइयो ।
त्यसपछि सबैजसो पार्टीका वैधानिक संयन्त्रहरुमाथि आक्रमण बढाइयो । तत्कालीन संयुक्त जनमोर्चाको कार्यालयमात्र होइन विद्यार्थी, मजदुरसहित जनसंगठनका कार्यालयहरु समेत बन्द भए ।
जनादेश नै वैधानिक अफिस जस्तो बन्यो । सम्पर्क कार्यालय जस्तो बन्यो । मोबाइल, पेजरहरु थिएन । पछि पेजर आयो ।
त्यो बेलामा पार्टीका विज्ञप्तिहरु आउँथे । त्यसलाई प्रायः फोनबाट टिपेर र कहिले हातले लेखेका सम्पर्क कार्यालयमा लिन जानुपथ्र्याे । त्यसलाई कम्प्युटरमा टाइप गरेर प्रचण्डका नामकाअधिकांश हस्ताक्षर महेश्वर दाहाल र उहाँ नहुँदा कहिलेकाहीँ तारा न्यौपानेले गर्नुहुन्थ्यो । इमेलको चलन नहुँदासम्म प्रायः यही हुन्थ्यो । महेश्वर दाहाल र तारा न्यौपानेले गरेको हस्ताक्षर हेर्दा हेर्दा बानी परेका पत्रकारहरुले जब प्रचण्डको वास्तविक हस्ताक्षर आउँदा भने नक्कली हो कि भनेर जनादेशमा सोधे । त्यतिवेला नक्कली पत्रको विगविगी भएकाले त्यसलाई पुष्टि गर्ने मुख्य विश्वासिलो सम्पर्क प्वाइण्ट जनादेश कार्यालय नै थियो ।
फ्याक्सबाट सञ्चार माध्यममा पठाइन्थ्यो । विश्वास भएका ठाउँबाट पठाउनु पथ्र्याे । एकपटक सुन्धाराको एक कम्युनिकेशन सेण्टरबाट मिडियालाई फ्याक्स गर्दैगर्दा एक्कासी प्रहरी डीएसपीसहितको टोली पस्यो । के हो भनेर सोध्यो । भर्खरै फ्याक्स गर्दै गरेको पेपर उनलाई दिएर म
उनको टाङ मुनिबाट निस्किएँ । पछि उनले त्यो पेपर पढेपछि मलाई खोजे । म भागिसकेको थिएँ । त्यही कम्युनिकेशनको मान्छेलाई लग्यो । र, छ महिना थुनामा राख्यो । मैले पछि भेटेपछि उनले सविस्तार आफ्नो पीडा सुनाए ।
धनबहादुर मगरले प्रायः फ्याक्सतिरको झञ्झटभन्दा पनि वक्तव्य मिडियाका कार्यालयका ढोकामा छाडेर हिंड्नु हुन्थ्यो ।
दाङका अमर बुढालाई उदयपुरको एक पुस्तक पसलबाट गिरफतार गरेर छ महिना वेपत्ता बनायो । पत्रिकाको पैसा उठाउन जाँदा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
ललितपुर भट्टेडाँडाको प्रहरी चौकीमाथिको आक्रमणपछि इन्द्रेणीको मालिक, स्टाफ समेत गिरफ्तार भएपछि जनादेश छाप्न निकै कठिन भयो । कहिले कता कहिले कता भूमिगत रुपमा पत्रिका छापियो । लगनखेलस्थित कमलकृष्ण जोशीको नेपाल प्रेसमा प्रहरीले पत्रिका छापेर पत्रिका वितरणमा जाँदै गर्दा प्रहरीले धनबहादुरसहित हामीलाई लखेट्यो । हामी भागेर प्रेसमा पस्यौं । कमलकृष्ण जोशीले प्रहरीलाई भित्र पस्न रोकेर गिरफ्तार गरे डकैतीमा तिमीहरुलाई मुद्दा दिन्छु भन्नुभएपछि प्रहरी पछि हट्यो । उहाँले आफैंले गाडीमा पत्रिका लगिदिने, आफ्नो प्रेस विग्रिए अन्यत्र छापिदिने गरेर धेरै ठूलो सहयोग गर्नुभयो । कार्यालय मोबाइल थियो । महिमाका सम्पादक कुमार राउतले न्युरोडको एक कार्यालयमा धेरै समय पत्रिकाको कार्यालय बनाउन सहयोग गर्नुभयो । त्यहाँ एकदमै सीमित मात्रै त्यहाँ गइन्थ्यो ।
बाबुराम भट्टराईसहितका नेताहरुका चिठी पनि हामीले ऋषिकेश शाह, कनकमणि दीक्षित लगायतको पुर्याउँथ्यौं ।
रसुवाको शरमथलीको कार्यक्रममा जनसरकारको भेला तथा सम्मेलनमा जाँदा पार्टीका केही कमरेडहरुले तपाईसँग केही बुझ्नु पर्छ भनेर आन्तरिक गिरफ्तारीमा परियो । यो एक अर्कासँगको आशंका र डर थियो । रसुवाका नेता इन्द्र गौतम जगतजंगले देखेपछि मलाई चिनेर छाडे ।
हामी अहिले जहाँ छौं त्यो कुनै एक जना नेताले लडेर वा कसैले किस्तीमा दिएर आएको परिवर्तन होइन । सामूहिक पहलकदमी र संघर्षको प्रतिफल हो । ससाना संघर्ष र भूमिकालाई बिर्सेर ठूला परिणामलाई मात्र हेर्ने र कुनै अमुक नेताको तिलस्मी क्षमता वा प्रतिभाले मात्र परिवर्तन भएको भनेर मान्न हुँदैन ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया