गौरवपूर्ण क्रान्तिकारी विद्यार्थी आन्दोलन
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साउन २१ गते सोमवार देश छाडिन र आन्दोलनकारीले उनको आवास, गणभवन कब्जा गरे । केही हप्ताबाट जारी आन्दोलनको परिणाम सत्तारुढ अवामी लिगको सरकारलाई जनताले उखेलेर फालेका छन् ।
लाखौं छात्र, आम श्रमजीवी जनता र मजदुर बंगलादेशभरि र खासगरी राजधानी ढाकाको सडकमा उत्रिए । र, यो आन्दोलनका कारण राज्यका संयन्त्रलाई पङ्गु नै बनाइदिए । जसले शेख हसिनाको नेतृत्वमा चलेको निरंकुश जनविरोधी सत्तालाई गम्भीर चुनौती खडा गरिदियो । अहिले चुनावी सरकार बनिसकेकाे छ ।
जनवरी २०२४ मा भएको आमचुनावबाट शेख हसिना पुनः चुनिएकी थिइन । १५ वर्षदेखि जारी उनको शासनलाई कायम गर्नका लागि धेरै ठूलो धाँधली गरिएको थियो । चुनावको समयमा कैयौं विपक्षी नेताका प्रमुखहरु जेलमा थिए र प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले चुनाव वहिस्कार गरेको थियो । करिव ४० प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए ।
बंगलादेशमा बेरोजगारी समस्या निकै गम्भीर छ । १७ करोड जनसंख्यामा लगभग तीन करोड विद्यार्थी, युवा बेरोजगार रहेका छन् । लगभग एक दशकदेखि चलिरहेको यो आन्दोलन दुई महिना अगाडि फेरि भड्कियो । विद्यार्थी र अन्य श्रमजीवी जनताको देशव्यापी आन्दोलन निर्माण भयो । हसिना सरकारले यो आन्दोलन दवाउनका लागि दमनको सहारा लियो । सयौं जनता मारिए । यसले आन्दोलन झन सशक्त बन्यो । जसको परिणाम हसिनाले देश छाड्नु प¥यो र गणभवन आन्दोेलनकारीले कब्जामा लिए ।
यस आन्दोलनमा विपक्षी बीएनपीको भूमिका प्रमुख हो तर यसमा बेरोजगारी, अन्यायपूर्ण कोटा प्रणाली र निरंकुश सत्ताका विरुद्ध विद्रोह गरिरहेका विद्यार्थी, युवाहरु र मजदुरहरुको स्वतन्त्र धारा पनि सामेल भयो ।
बंगलादेश अर्थतन्त्र तीब्र रुपमा बढिरेहेको देशभित्र पर्छ । यसले विदेशी पुँजीलाई आकर्षित गरिरहेको छ । कठोर काम र मजदुरहरुलाई चर्काे शोषण गर्न पाइने भएकाले नाफा कमाउने राम्रो वातावरण थियो । बंगलादेश मजदुरहरुमाथि धेरै चर्काे शोषण गर्ने देशमा पर्छ । भारत समर्थित हसिनाले भारतमा शरण लिएकी छिन । यसले भारतका कारण यस क्षेत्रमा शान्ति बनाउन अवरोध हुने आँकलन गरिदैंछ ।
विपक्षी राजनीतिक पार्टीले तत्काल राजनीतिक लाभ त पाएको छ । यसले पनि आन्दोलनकारीहरुको हितमा धेरै काम गर्ने सम्भावना छैन । यसले कट्टर मुस्लिम शासनमा जाने खतरा पनि छ ।
क्रान्तिकारी जनताको स्वतःस्फुर्त विद्रोह चाहे श्रीलंकामा होस, चाहे बंगलादेशमा होस भइरहेको छ । तर, बलियो क्रान्तिकारी पार्टी, शक्तिको निर्माण नभएकाले फेरि एकपटक तावाको माछा भुंग्रोमा पर्ने खतरा जीवित रहन्छ । सचेत पहलकदमी लिने क्रान्तिकारी शक्तिको अभाव श्रीलंका र बंगलादेशमा खड्किएको छ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया