पिताले पदचाप बुझ्न नसक्दा मनमुटाव
मेरा पिताश्री भारतमा जागिर खान जानुभएका थियो । विक्रम संवत् १९८० तिर भारतको पश्चिम बङ्गालको बडाकरमा चौकीदारी गरेर भारु बा-ह बीस जोगाउनु भएछ । अनि सिन्धुली नागेडाँडा फर्किएर बन्धकी दिएको खेत उकास्नु भएछ । आफ्नै खेत उकासेपछि पुनः नुवागी खाएको प्रसंग बारम्बार निकालिरहनु हुन्थ्यो उहाँ ।
भारतमा नोकरीको क्रममा पिताजीले भोग्नुपरेको कथा व्यथा निकै मार्मिक छन् । हुन त संसारमा अपवाद बाहेक श्रमिकहरुको अवस्था कहाँ पो सानदार छ र ! पिताजीले सुनाउनु भएअनुसार त्यो बेला आफूले कमाएको पैसा जोगाउन एकदमै कठिन थियो । ज्यालादारी गरेको पैसा जोगाउनका लागि गुन्द्रुक पकाउँदा बाँकी रहेको छोक्रा झिकेर सुकाउने अनि फेरि बेलुका त्यसैमा झोल हालेर खानेसम्मका सङ्घर्ष गर्नुभएको रहेछ । त्यसरी जोगाएको बा¥हबीस रुपैयाँले भाइको विहेमा बन्धकी राखेको जग्गा उकास्नु भएको थियो ।
बिहेका लागि जग्गा बन्दकी राखेपछि विक्रम संवत् १९७९ सालतिर नुवागी पनि खान नपाएको कुरा गर्नुहुन्थ्यो पिताजी । घरमा नुवागी समेत नहुँदा छिमेकीहरुले हाम्रो भरपुर कुरा काट्थे रे ! फलानाको घरमा धेरै बालबच्चा छन्, उनीहरुलाई पनि दिनुपर्छ भनेर छिमेकीहरुले दयाभाव देखाउँथे भन्नुहुन्थ्यो मातापिता दुवै जना । हुर्कदै जाँदा मातापिताका यी बचनले हामी परिवारका सदस्यलाई निकै पीडा दिन्थ्यो ।
तर, अभाव स्वीकार गर्नु हाम्रो धारतलीय यथार्थ थियो । गुजारा गर्न समेत बेहाल भए पनि फाँइफुट्टीका हिसाबले हामी गाउँका जिम्मुवाल–मुखिया थियौं । अभाव नै सही, म घरमा अलि पुल्पुलिएको थिएँ । जिम्मुवाल मुखियाको घर भएकोले बेठीवेगारहरु आउँथे । त्यसबेला जिम्मुवाल, मुखियाहरुले बेठीवेगार खाने चलन स्थापित थियो । आउनेहरुलाई काम लगाउने, पैसा नदिने जसवापत खाना, खाजा खान दिने गरिन्थ्यो । बेठीवेगार एक किसिमको सरकारी दस्तुर थियो ।
प्रसस्त जग्गा जमिन हुनेहरुका लागि बेठीवेगार आम्दानीको स्रोत पनि थियो । तर, हाम्रा पिताजीको जग्गा जमिन नै धेरै नभएकाले बेठीवेगारलाई काममा कहाँ लगाउनु ? मातापिताले भिरालो जमिन खेती योग्य बनाउन राति जुन (चन्द्र) लाग्ने समयमा एक बाँस भन्दा अग्लो गारो लगाएर बारी सम्याउनु हुन्थ्यो रे ! सम्याएको बारीमा मकै, गहत लगाइन्थ्यो । हिउँदा जग्गा सम्यायो । वर्षादमा भलबाढीले सबै भत्काइदिन्थ्यो । हाम्रा जमिनमा ती कान्लाहरु अझै छँदैछन् । जब म जन्मभूमि पुगेर जग्गाबारी घुम्छु, मातापिताका भनाइ, दुःख, पीडा र कान्ला फनफनी मानसपटलमा घुम्छन् । आँसु नै झर्ला जस्तो हुन्छ कहिले काहीँ त !
मेरा हजुरबा भने जग्गाबारीमा खासै शारीरिक श्रम गर्नुहुन्नथ्यो । दुःख गर्नु भएको मातापिताले मात्र हो । किनकि मेरा मातापिता असाध्यै मिहिनेती हुनुहुन्थ्यो । ८८ वर्षमा बित्नुभएका मेरा हजुरबाले आफूलाई जिउनी पनि नराखी दुई भाइ छोराहरुलाई बराबरी अंशबण्डा गरिदिनुभएको थियो । हजुरबा ३३ वर्षको हुँदा नै हजुरआमा बित्नुभएको थियो ।
जवान छँदै श्रीमती गुमाए पनि हजुरबाले दोस्रो विहे गर्नुभएन । एक्लै दुःख गरेर सन्तान हुर्काउनु भयो । मेरा हजुरबाको नाम शशिधर दाहाल हो । जुन नाम नागेडाँडा क्षेत्रको स्पात थियो । आफैँ जिम्मुवाल–मुखिया भए पनि गाउँमा कोही कसैलाई तलवितल, अन्याय प¥यो कि सहयोग गर्न होस् वा न्याय दिलाउन, आफैँ अघि सर्नुहुन्थ्यो । गाउँभरिकै निडर व्यक्तिको छवि बनाउनु भएको थियो हजुरबाले ।
विशेष उल्लेखनीय कुरा यो थियो कि उहाँ त्यतिवेलै जातपातमा धेरै कट्टर हुनुहुन्थेन । जुठोचोखाको भेदभाव गर्नु जातभातको धेरै वास्ता नगर्नु भन्नुहुन्थ्यो । त्यतिवेलाको कट्टर सँस्कृतिको बर्चस्व रहेको समाजमा त्यो धेरै ठूलो सन्देश थियो । उहाँको बिसं २०११ मा निधन भयो ।
पितासँग मनमुटाव
आफ्नो सन्तान बिग्रियोस् भन्ने हर कोही पितामाताले चाहँदैनन् । सन्तान शारीरिक रुपमा हट्टाकट्टा, बलियो, मानसिक रुपमा जागरुक, बौद्धिक होस् भन्ने हर मातापिताको इच्छा हुन्छ । भनिन्छ, ‘बाबु कहिलै दुष्ट हुँदैन ।’ हाम्रा मातापिताले पनि हामीलाई त्यही रुपमा हेर्न बुझ्न चाहनु भएको थियो ।
तर, कहिले काहीँ सन्तानको सोंच समयको पदचापभन्दा अघि भयो भने पितासँग कुरा नमिल्दो रहेछ । मेरो हकमा पनि त्यही लागू भयो । मैंले समयको मागलाई अलि अघि नै बुझ्ने कोशिस गरें । त्यसैले पनि हुन सक्छ, म कसैको पनि प्रिय हुन सकिन । मलाई यस धर्तिमा ल्याउने पितासँगै मेरो सम्वन्ध बिच्छेद भयो । बोलचाल बन्द भयो । उहाँ मेरो नाम नलिई आफ्नै घरमा शत्रु जन्मियो भन्नुहुन्थ्यो । मसँगको सम्बन्ध बिच्छेदपछि नै पिता पुरानो झाँगाझोली वडा नम्वर छ नागेडाँडाबाट वडा नम्वर ७ मा पर्ने लप्सेखोलामा बस्नु थाल्नु भयो । त्यहाँ पनि हाम्रो सानो घर थियो ।
वास्तवमा मैंले चाहेर पिताजीको मन दुखाएको होइन । सामन्ती सोंच, समाज र कुरितीको बिरोध गर्दा पिता मसँग रुष्ट हुनु भएको हो । मैंले सुरुमै उल्लेख गरिसकें, हामी गरिब नै भए पनि बेठबेगार मान्न हामीभन्दा अझ दीनदुःखीहरु आउँथे । एक दिन क्षेत्र दमाई, शिवराम सार्की र कुइरो कामी तीन जना बेठबेगारका लागि आए ।
मैंले पिताजीको इच्छा र स्वीकृति विपरीत अब हामी बेठीबेगार मान्दैनौ । तपाईंहरु जानुहोस भनिदिए । उनीहरुले ‘यो हाम्रा पुर्खादेखिको चलन हो । बेठीबेगार नमान्ने हो भने कसरी गाउँमा बस्न सक्छौंं । हामी जाँदैनौ । तपाईले नमाने पनि हामी आफैँ मान्छौ’ भनेर अड्डी लिए । मैंले पुनः जानू भने । तर, उनीहरुले हामीले वषौंदेखि बेठबेगार दिई आएको जाँदैनौ भने ।
मैंले कड्किएर फिर्ता गई हाल्नू भनेपछि अप्ठ्यारो मान्दै फर्किए । खासमा यही दिनबाट पिताजी मसँग रिसाउन थाल्नु भएको थियो । उहाँ बेठबेगारमा आएकाहरुले काम गरिदिउन भन्ने चाहनुहुन्थ्यो । म अवरोधक बनें । उहाँको नजरमा म गाउँघर भाँडने ‘छुल्याहा’ भएँ । तर, मैंले पिताजीलाई अपमान गर्न त्यसो गरेको थिइँन । समाजलाई रुपान्तरण गर्न अगुवाको भूमिका खेलेको थिएँ ।
अहिले त म आफैँ ८३ वर्षको भइसकें । भिजेको चामलझैँ गलिरहेको छु । त्यसबेला सामुन्नेमा हुँदा पिताजीप्रति मेरो जे श्रद्धा र सम्मान थियो, अहिले पनि त्यो भन्दा बढी अगाध श्रद्धा गर्न चाहन्छु । पिताजी ! तपाईको भौतिक शरीर हाम्रो सामु नभएको वर्षौपछि यो अभिलेख राख्न चाहन्छु, मैंले तपाईलाई अपमान गरेको थिइँन ल ! प्रगतिशील सोंचलाई मात्र अंगिकार गरेको थिएँ । अस्तु ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया