जेभीपीको आर्थिक प्रणाली जनसेवामा आधारित मोडेल
श्रीलंकाको इतिहासमा पहिलो पटक वामपन्थी राष्ट्रपतिको रूपमा जेभीपीका अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । यो रातारात उदाएको पार्टी होइन । यसको इतिहास ठूलो वलिदानपूर्ण संघर्ष र त्यागबाट बनेको छ । जेभीपीको गठन श्रमिक र किसानहरूको हकहितको संरक्षणको उद्देश्यले भएको थियो । यसको अजेण्डामा सामाजिक न्याय र समानता प्राथमिकता पाउने विषय रहेका छन् ।
जेभीपीले सशस्त्र संघर्षको माध्यमबाट आफ्नो विचारधारालाई मजबुत बनाउन प्रयास गर्यो तर त्यो असफल भयो । यद्यपि, यसले निरन्तर राजनीतिक गतिविधिहरूमा संलग्न रह्यो । यसको दीर्घकालीन संघर्ष र राजनीतिक समर्पणले पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्यो ।
जेभीपीको आन्तरिक आर्थिक प्रणाली र पारदर्शिताले पनि यसलाई जनताको विश्वास जित्नमा सहयोग पुर्याएको छ । यो पारदर्शिता, जसले पार्टीको क्रियाकलापलाई स्पष्ट र उत्तरदायी बनाउँछ, नागरिकहरूको मनमा भरोसा जगाउने काम गर्छ । पार्टीले आफ्ना नीतिहरू र कार्यक्रमलाई जनतासम्म पुर्याउन सफल भएको छ । जेभीपीको स्थापित आर्थिक मोडेलले जनसेवामा आधारित व्यवस्थापनलाई प्राथमिकता दिन्छ, जसले गर्दा पार्टीको छवि र राजनीतिक सुदृढीकरण दुवैमा योगदान पुर्याएको छ।
आन्तरिक आर्थिक प्रणाली
जेभीपीले जनप्रतिनिधिहरूका लागि पारदर्शिता र जिम्मेवारीको महत्वपूर्ण सन्देश दिएको छ । यसको साझा कोष प्रणालीले तलब र भत्ताहरूलाई साझा गर्न अनिवार्य बनाएको छ, जसले गर्दा जनप्रतिनिधिहरूलाई जनताको सेवामा सच्चा प्रतिबद्धता दर्शाउन सहयोग पुर्याउँछ । प्रतिनिधिहरूले जनताबाट लिएका स्रोतहरूलाई पुनः जनताको हितमा प्रयोग गर्नुपर्छ । यसरी जनप्रतिनिधिहरूलाई जनताको शासक होइन सेवकको रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
भ्रष्टाचारविरोधी भूमिका
जेभीपीको भ्रष्टाचारविरुद्धको नीति पनि प्रशंसनीय छ । यसले मन्त्रीहरूको चयनमा आर्थिक रुपमा राम्रो छवि भएकालाई प्राथमिकता दिएको छ, जसले सार्वजनिक कोषको सही उपयोगमा ध्यान दिन्छ । मन्त्रीहरूको साधारण जीवनशैली र व्यक्तिगत सुविधामा कटौतीले पार्टीको छवि सुधार्नमा महत्वपूर्ण भूमिका खेलेको छ । मन्त्रीहरूले व्यक्तिगत सुविधामा कटौती गरी विलासी जीवनबाट आफूलाई टाढा राख्ने जीवनशैली अपनाएका छन् । उनीहरुले महंगा गाडीलाई दुरुत्साहन गर्ने गरेका छन् । यसले जनतामा विश्वासको भावना जगाएको छ र पार्टीको राजनीतिक सुदृढीकरणमा सकारात्मक प्रभाव पारेको छ ।
मन्त्रीहरूको सक्रियता र जनसेवा
जेभीपीले सम्हालेका चार मन्त्रालयहरूमा रातको समयमा काम भइरहेको हुने गरेको जनतामा परेको छ । ती मन्त्रालयमा राति बत्ती बलिरहेको देखिएबाट यसको पुष्टि हुने गर्छ । यो पार्टीका मन्त्रीहरूले समर्पित भइ काम गरेको प्रमाण कृषि मन्त्रालय सम्हालेको बेला सन् १९४८ यताकै सबैभन्दा बढी उत्पादन भएबाट बुझ्न सकिन्छ ।
नेपालका माओवादीहरूले सिक्न सक्छन ?
श्रीलंकामा वामपन्थीहरूको विजयको सन्दर्भमा जेभीपीको आर्थिक मोडेल विशेष महत्वको छ । अन्य दलहरूले राजनीतिक शक्ति र प्रभावको लागि मात्र काम गरेका छन्, जसले जनताको विश्वासमा कमी ल्याएको छ ।
नेपालका माओवादीहरूले जेभीपीको अनुभवबाट महत्वपूर्ण शिक्षा लिन सक्छन कि सक्दैनन ? यसले यस पार्टीको भविष्य निर्धारण गर्नसक्छ । जेभीपीले जनसेवामा आधारित एक पारदर्शी र जिम्मेवार आर्थिक मोडेल लागू गरेर जनताको मन जित्न सफल भएको छ । यदि नेपालका माओवादी दलहरूले जनताको वास्तविक सेवामा ध्यान दिन्छन्, पारदर्शिता र जवाफदेहीलाई प्राथमिकता दिन्छन् भने उनीहरूले पनि जनताको विश्वास पुनः प्राप्त गर्न र राजनीतिक स्थिरता बनाउन सक्नेछन् ।
यसबाहेक माओवादी दलहरूले आन्तरिक सुधारमा ध्यान दिनु आवश्यक छ । यो सुधारमा पार्टीका आन्तरिक गतिविधिहरूमा पारदर्शिता, भ्रष्टाचारविरुद्धको ठोस नीति र जनप्रतिनिधिहरूको कामको मूल्यांकनको व्यवस्था हुनुपर्छ । यसले जनताको अपेक्षाहरूलाई पूरा गर्न र जनताको जीवनस्तर सुधार्न सघाउनेछ ।
जेभीपीको आन्तरिक आर्थिक प्रणालीले जनसेवामा आधारित एक मोडेल प्रस्तुत गर्दछ, जसले अन्य दलहरूको लागि एउटा शिक्षा प्रस्तुत गर्न सक्छ । पारदर्शिता, जिम्मेवारी र जनसेवामा समर्पणको आधारमा स्थापना भएको यो मोडेल राजनीतिक प्रणालीमा स्थायी परिवर्तन ल्याउन र जनतासँगको सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण छ । यो पार्टीको अनुभवले भविष्यका राजनीतिक नेतृत्वका लागि मार्गदर्शन गर्न सक्छ, जसले जनताको जीवनस्तर सुधार्ने र उनीहरूको विश्वास जित्ने उद्देश्यमा काम गर्न आवश्यक छ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया