जनप्राथमिकताको विकास मोडालिटी
ईश्वरीप्रसाद दाहाल ‘असारे काका’
जनप्राथमिकता र जनपरिचालनसहितको विकासको मोडालिटीले समृद्धि सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा मेरो अनुभवले भन्छ । स्थानीय समुदायको सक्रियता र सहभागितालाई प्राथमिकता दिंंदा विकासको प्रक्रिया अधिक प्रभावकारी बन्छ । जनताले आफूलाई सहभागी भएको, अपनत्व गरेको महशुस गर्दा तिनीहरूको विश्वास र सहयोग वृद्धि हुन्छ । जनतालाई मुख्य धारा र निर्णयमा समावेश गर्दा, सहभागी गराउँदा विकासका कार्यहरू अधिक पारदर्शी र उत्तरदायी बन्छ । यो मोडालिटीले समाजको सिर्जनात्मकता र नवीनता पनि हुन्छ ।
वास्तवमा शिक्षा कुनै पनि समाजको आधारभूत ढाँचा हो । यसले व्यक्तिलाई मात्र नभई सम्पूर्ण समाजलाई उज्यालो दिशामा लैजान सक्छ । शिक्षा र जनश्रमको समिश्रणले स्थायी र दीगो विकासको सुनिश्चितता गर्दछ ।
जनप्राथमिकताको विकासको मोडालिटीले जनतालाई सन्तुष्ट मात्र बनाउँदैन कि यसले दीगो पनि बनाउँछ । उदाहरणका लागि मेरो प्रत्यक्ष सहभागितामा काशीखर्कको विद्यालय निर्माण र त्यसको बेसी डिहीको सिचाईमा जनश्रमको प्रयोग गरिएको छ । यस वाहेक अन्यत्र पनि मैले यस किसिमको अभियान चलाएँ । जब हामी सरकारी सहयोगको आशामा बस्ने गर्दछौं, तब काम वर्षाै नहुन सक्छ । पछिल्ला वर्षमा काम भएका पनि छन् तर त्यसमा अक्सर धनको अपव्यय र अपारदर्शिता बढ्ने गरेको जनगुनासो छ । जनताको प्राथमिकतामा नपरेको, अपारदर्शी कामकार्वाहीले अपचलन ल्याएका प्रशस्त उदाहरणहरु छन् । तर, जनताको प्राथमिकतालाई छनौट गरेर प्रत्यक्ष जनश्रमदान गरेर गरिएको विकास स्थायित्व र सदैव विश्वास निर्माण गर्न सक्दो रहेछ भन्ने काशीखर्क र डिही मेरा लागि महत्वपूर्ण अनुभव हुन ।
शिक्षाले व्यक्तिको सोच र दृष्टिकोणमा परिवर्तन ल्याउँछ । २१ वर्षको उमेरमा राजनीतिक प्रतिशोधका कारण जेलमा बिताएको समयले मलाई शिक्षा र चेतनाको महत्व बुझ्नमा गहिरो प्रेरणा दियो ।
शिक्षा र विद्यालयसँगको निकटताले मलाई एक जिम्मेवार नागरिकको रूपमा विकास गर्न मद्दत ग¥यो । मैले काशीखर्कमा विद्यालय निर्माण गर्नेक्रममा जनतासँग प्रत्यक्ष संलग्नता र सहयोगको महत्वलाई बुझेको थिएँ । विद्यालय स्थापनामा स्थानीय जनताको सक्रियता र संलग्नता अत्यावश्यक थियो, जसले गर्दा विद्यालयको निर्माण प्रक्रिया सुचारु बनाउन सकियो । जनताको समर्थन र संलग्नता नहुँदासम्म कुनै कार्य सफल हुन सक्दैन । विद्यालयको निर्माण गर्दा मैले स्थानीय जनताको सामूहिकता र सहयोगको महत्व अनुभव गरें ।
शिक्षा तथा विद्यालयसँगको सामिप्यताको परिणाम जागिर खान बाँसबारी छाला तथा जुत्ता कारखानामा पुगें । औपचारिक रुपमा २०२२ साल वैशाख २ गतेबाट बाँसबारी छाला जुत्ता कारखानामा प्रवेश गरेँ ।
बाँसबारी छाला तथा जुत्ता कारखानामा ०२२ साल बैशाख २ गतेबाट औपचारिक प्रवेश गरेको भए पनि २०२१ साल साउनबाटै म त्यो संस्थामा आवद्ध भएको हुँ । तत्कालीन घरेलु विभाग त्रिपुरेश्वरमा नौ महिना तालिम लिएपछि मसहितका थुप्रै सहकर्मीहरु छाला तथा जुत्ता कारखानाको कर्मचारी बनेका थियौं ।
तर, अन्याय सहन नसक्ने बिद्रोही राजनीतिक चेतकै कारण १० वर्षभन्दा बढी म बाँसबारी छाला तथा जुत्ता कारखानामा टिक्न सकिन अर्थात यसो भनुँ बाँसबारी छाला तथा जुत्ता कारखानामा कार्यरत ‘स्टाफ’ हरुको सेवा, सुविधा, तलव वृद्धि लगायत माग राखेपछि म त्यहाँका व्यवस्थापकहरुको ‘प्रिय’ हुन सकिन । फलतः उनीहरुले मलाई हटाउने नियत राखे । मैंले पनि ०३१ मा मा बाँसबारी छाला तथा जुत्ता कारखानाको जागिर छाडिदिएँ ।
जागिर छोडेपछि काठमाडौंबाट तीन दिन हिँडेर सिन्धुली घर पुगेँ । निरन्तर तीन दिनको हिँडाईले सायद थकाई लागेर हुनुपर्छ, सात दिनसम्म मस्त सुतेँ । सात दिनपछि घरमा एउटा कोदालो खोजेँ र त्यही बोकेर निस्किएँ । अनि तत्कालीन वडा नं ७, काशीखर्कमा पुगेर डाँडो खन्न थालेँ ।
त्यहाँ डाँडो सम्याएर विद्यालय बनाइयो । अर्थात १० वर्षपछि म पुनः विद्यालय बनाउने काममै फर्किएँ । काँशीखर्क जहाँ ०३१ सालमा डाँडो सम्याएर विद्यालय भवन ठड्याइएको थियो, त्यहाँ अहिले निम्न माध्यमिक विद्यालय चलिरहेको छ । यो वृद्धवय उमेरमा आफूले डाँडो सम्याएर ठड्याएको विद्यालयमा भविष्यको खोज गर्ने कलिला नानीबाबुहरु पढिरहेको देख्दा म हर्षले विभोर हुन्छु । अर्थात म त्यो विद्यालयको संस्थापक हुँ, जुन विद्यालयको भित्तामा लेखिएको पनि छ ।
काशीखर्क मेरो घर छेउकै स्थान होइन, त्यो ठाउँ मेरो घरबाट एक घण्टा पैदल बाटोमा पर्दछ । तर, मलाई त्यस गाउँ–ठाउँलाई पनि शिक्षित बनाउन मन लाग्यो । मैंले शुरुमा काशीखर्कमा विद्यालय स्थापना गर्न थोरै थोरै पैसा उठाउने गरी लगत बनाएको थिएँ । तर, कसैले दिँदै दिएनन् । त्यसपछि स्थानीय निर्माण दमाईलाई भनेँ, “ए बाबु, तिमीसित जे छ गैती, कोदालो, कोदाली, घन, गल सबै लिएर आऊ ।”
निर्माणलाई यसो भन्दै आफैँले खन्न थालें । ईश्वरीले विद्यालय बनाउन डाँडो सम्याउन थालेका छ भनेपछि गाउँलेहरु पनि सहभागी भए । उल्लेख भइसक्यो, खासमा त्यो मेरो गाउँ थिएन । त्यो छिमेकी गाउँ थियो । शुरुमा कसैले दान नदिए पनि केही समयपछि अलिअलि पैसा जम्मा हुन थाल्यो । एक महिनामा डाँडो सम्याएर मैदान बनाइयो ।
विद्यालयको स्वरुप निर्माण गरेपछि स्थानीय लालजङ्ग थापालाई सञ्चालक समितिको अध्यक्ष बनाइयो । झाँगाझोलीका पद्मजङ्ग जो अलि पाका थिए, उनी १७ वर्ष सिन्धुलीका जिल्ला पञ्चायत सभापति पनि भए, उनी घोर सामन्ती रवाफका थिए । विद्यालय स्थापना गरेको लामो समय नबित्दै त्यहाँ तिनको र मेरो टक्कर पर्न थाल्यो । तर म पूरै जनतासँग भिजेको थिएँ । म स्थानीयसँग भिजेको बुझेपछि लालजङ्ग मेरो बिरोधी बनेका रहेछन् ।
मैंले पनि नयाँचाल रचे । विद्यालयको स्वीकृतिका लागि आफू नगएर सञ्चालक समिति अध्यक्ष लालजङ्गलाई पठाएँ । लालजङ्गलाई पद्मजङ्गले भनेछन्, “स्वीकृति नगरौं गाउँको विद्यालय, स्वीकृति गरौं कम्युनिस्टहरुको विद्यालय ।” यो कुरा लालजङ्गले पछि मलाई भनेका थिए । लालजङ्गले मलाई थप भनेका थिए, “ईश्वरीजी त्यसलाई निक बिझेछ ।”
मैले सोधेँ, “के बिझेछ । जिल्ला पञ्चायत सभापति भएर गाउँमा आफैं विद्यालय स्थापना नगर्ने, हामीले जनताको सेवा गर्दा उसलाई चित्त दुख्छ त अब के गर्ने ?” वास्तवमा लालजङ्ग पनि कडा स्वभावका थिए । उनले मेरो तर्कलाई स्वीकारे ।
त्यसबेला विद्यालय निर्माण र स्वीकृतिका लागि लालजङ्गको भूमिका पनि निकै महत्वपूर्ण छ । हामीले काशीखर्कमा विद्यालय स्थापना गरेपछि पाँच÷सातवटा गाउँ पञ्चायतका जनताका बीचमा ठूलो प्रचार प्रसार भयो । यसपछि कहीँ खेलकुद भए । कहीँ विद्यालय खोल्ने क्रम शुरु भयो । कतै वाचनालय पनि खोलियो । कहीँ प्रौढ शिक्षाका कक्षा खोलिए । यी सबै अभियानले जनतामा ठूलो जागरणको काम ग¥यो ।
म महिनौं घर नगई काशीखर्कमै बसेर काम गर्थे । त्यसपछि प्रशासनले ममाथि पूरै निगरानी बढाउन थाल्यो । पहिले काङ्ग्रेस भनेर, पछि कम्युनिस्ट भनेर निगरानी ग¥यो । कतिसम्म भने प्रशासनले म र स्थानीयलाई तत्कालीन झापाली बिद्रोही कम्युनिस्टका रुपमा प्रचार गरेको थियो । जब कि हामी झापाली बिद्रोही थिएनौ ।
हामीले काशीखर्क इलाकामा जनसन्देशमूलक नाटक पनि देखाउने काम ग¥यौं । दशैं, तिहारजस्ता चाडपर्वका बेला जनचेतनामूलक नाटक देखाउँथ्यौं । त्यो इलाकाको खुर्कोटमा ऋषि देवकोटा ‘आजाद’ को घर मेरो घरभन्दा तीनकोश पूर्व पर्दथ्यो । तीनकोश पश्चिम नेपालथोकमा नेपाली काङ्ग्रेसको गढ थियो । नेपालथोक नजिकै दुम्जामा वीपी कोइरालाहरुको पुर्ख्र्यौली थलो थियो । काँशीखर्कमा पनि सबैजसो काङ्ग्रेस थिए ।
दुम्जा, रातमाटा, झाँगाझोली, पुरानो झाँगाझोली, बाशेश्वर, सिद्धेश्वर, मझुवा, गैरीगाउँ इलाकाभित्र धेरै काङ्ग्रेसीहरु थिए । मैंले काँशीखर्कमा किलो गाडेर बसेपछि केहीबाहेक अधिकांश कम्युनिष्ट भए । अहिले पनि त्यस इलाकामा मलाई ‘यसैले आएर कम्युनिष्टको बीउ छ¥यो र पूरै कम्युनिस्ट बनायो’ भन्छन् । २०३१ सालदेखि २०३५ सम्म मैंले काँशीखर्क क्षेत्रमा जनतासँग भिजेर काम गरेँ । सङ्गठनात्मक आधार इलाका बनाएर कम्युनिष्ट राजनीतिक आधारशीला खडा गरेँ । त्यो क्षेत्र देख्दा अहिले पनि मलाई गर्वानुभूति हुन्छ ।
वास्तवमा निस्वार्थ सामाजिक सेवाले साँचो सुखको अनुभव गराउने रहेछ । जब हामी अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछौं, त्यसले हाम्रो आत्मा र हृदयमा गहिरो सन्तोष पैदा गर्ने रहेछ । यो सन्तोषले जीवनमा गहिरो अर्थ दिने रहेछ ।
सामाजिक सेवाले मात्र व्यक्तिगत सफलतामा ध्यान नदिई समाजको भलाईमा केन्द्रित गर्दछ । जब हामी अरूलाई सहयोग गर्छौं, हामी सामुदायिक भावना र सहिष्णुताको विकास गर्छौं, जसले सामाजिक एकता र सौहार्दलाई बलियो बनाउँछ ।
सामाजिक सेवा मार्फत हामीले अनुभव गरिएका संघर्ष र चुनौतीहरूले हाम्रो व्यक्तित्वलाई र विचारधारालाई व्यापक बनाउन मद्दत गर्ने रहेछ । यसरी समाजमा योगदान गर्दै हामीले पाएको सुख अनमोल हुन्छ । मेरो जीवनको लामो अनुभवले के सिकाएको छ भने साँचो सुख भनेको अरूको सेवा गरेर आनन्दानुभूति लिनु हो ।
जनतासँग जोडिएर गरिने विकासले समुदायको वास्तविक आवश्यकताहरूलाई प्राथमिकता दिन्छ । यसमा स्थानीय ज्ञान र अनुभवलाई सम्मान गर्दै विकासका कार्यक्रमहरू सिर्जना गरिन्छ । यसले जनताको सक्रिय सहभागिता सुनिश्चित गर्छ । यसले दीगो र प्रभावकारी समाधानहरू प्रदान गर्दै समाजमा सशक्तीकरण र आत्मनिर्भरता ल्याउँछ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया