अनि म कम्युनिस्ट पार्टीमा आवद्धता भएँ
- ईश्वरीप्रसाद दाहाल
काठमाडौंस्थित बाँसबारी छाला जुत्ता कारखानाले काँचो छाला सङ्कलन गर्न मलाई २०२३ सालमा वीरगञ्ज सरुवा ग¥यो । वीरगञ्ज सरुवा एउटा वहाना मात्र थियो । खासमा छाला जुत्ता कारखानाका ठालुहरुले मलाई मजदुरहरुको अधिकार माग गरेर कर्मचाारीहरुलाई भडकाई दियो भन्ने निश्कर्ष निकालेर देहातमा लखेटका थिए । तर, जे भयो, ठिक भयो । भनिन्छ नि, ‘अवसरको एउटा ढोका बन्द हुनु अरु ढोका खुल्नु हो ।’ मेरो हकमा ठ्याक्क त्यस्तै भइदियो ।
बाँसबारी छाला जुत्ता कारखानाबाट वीरगञ्ज सरुवा गरिनुलाई मैंले देश दुनियाँ बुझ्ने, साथीहरु बढाउने, कलेज पढ्ने, आफ्नै क्षमता विस्तार गर्ने अवसरका रुपमा त पाएँ नै, कम्युनिष्ट पार्टीमा आवद्ध हुन पुगे । त्यही आवद्धताले म कम्युनिष्ट विचारधाराप्रति प्रतिवद्ध बनिरहेको छु ।
वीरगञ्ज सरुवा भएको लामो समय नबित्दै बद्रीप्रसाद खतिवडासित मेरो सम्पर्क भयो । त्यसबेला उहाँ हेटौंडा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । सम्पर्क घनिष्टतामा बदलियो । वीरगञ्ज पुग्नुभएको बेला उहाँले मलाई ‘ओयाङ हाईको गीत’ पढ्न दिनुभएको थियो । वीरगञ्जको माईस्थानमा खतिवडाका साथी कृष्णमान जोशीको ‘झिगुपसः’ नामक पुस्तक पसल थियो । त्यो पसलमा प्रगतिशील पुस्तकहरु पाइन्थे ।
मलाई देवीप्रसाद किसानका ‘नेपाल नछो’, ‘बाघ आयो’, ‘समातेर पछार’, ‘छिछि’ जस्ता पुस्तकले असाध्यै प्रभाव पारें । यी पुस्तकमध्येबाट असारे लयको ‘पहेंली चरी वर्षा लाग्यो है झरी, नेपालको प्रजातन्त्र गयो डाँडा पारी, काम गर्ने गरेका छन् सधैं मरी मरी, बसीखाने डुलेका छन् जहाजमा चढी’ भन्ने असारे गीतले गहिरो प्रभाव पारेका थिए । किसानका पुस्तक पढेर किसान र गरिबका पक्षमा काम गर्न उत्प्रेरणा मिलेको थियो । मजदुरहरुको पक्षमा उभिन म देवीप्रसादबाटै प्रभावित भएको हुँ भन्दा अत्युक्ति हुँदैन ।
यसै पनि म नेपाली काङ्ग्रेससित आबद्ध छँदै थिएँ । वीरगञ्जमा चिनजान भएका मित्र बद्रीप्रसाद खतिवडाले मलाई एकदिन भन्नुभयो कि “हेर्नुस् दाहालजी तपाईं आफूलाई मजदुर भन्नुहुन्छ । फेरि तपाईं मजदुरमारा सङ्गठनमा हुनुहुन्छ । तपाईं कसरी मजदुर हुन सक्नुहुन्छ ?”
मैंले खतिवडाको सुझावलाई गम्भीरतापूर्वक लिएँ । उहाँकै मित्र कृष्णमान जोशीको पसलबाट ‘साम्राज्यवाद क्या है’, ‘सामन्तवाद क्या है’, ‘राज्यसत्ता क्या है’ जस्ता पुस्तकहरु पढ्न थालें । मलाई ती पुस्तकको अध्ययन र सम्पर्कमा खतिवडाले नै जोडिदिनु भएको थियो । पुस्तकको गहिरो अध्ययन, विमर्श र खतिवडाको संगतले म विस्तारै कम्युनिस्ट सिद्धान्तसँग आर्कषित हुन थालेँ । जोशीजीको पसलमा रहेका पुस्तकहरु पढ्न थालेपछि मलाई कम्युनिष्ट देशहरुको नाम जान्न, कम्युनिष्ट सिद्धान्तसित आवद्ध पुस्तकहरु पढ्न रुची लाग्न थाल्यो । त्यहीँ रहेका चीन सचित्र, सोभियत साहित्यलगायत पढ्ने वातावरण पनि मिल्यो । ती पुस्तकले कम्युनिष्ट सिद्धान्त, दर्शन बुझेर अघि बढ्न मलाई थप मद्दत पुग्यो ।
हुन त मेरो जन्मस्थान सिन्धुलीको नाङ्गेडाँडामा पानीको ठूलो अभाव रहँदा पनि समस्याविरुद्ध सामूहिक रुपमा जुध्नु पर्छ भन्ने चेत खुलिसकेको थियो । त्यसबेला हाम्रा गाउँका मानिसहरु पानी लिन धेरै टाढा पुग्नु पर्दथ्यो । अभाव, गरिबीको पीडा र तिनीहरुप्रतिको सहानुभूतिको गाउँमै जन्मीसकेको थियो ।
वीरगञ्जबाट म हेटौंडा आएँ । हेटौडामा राजाको हुकुमी प्रमाङ्गी (हुप्र) चौरको जग्गामा बसेका जनता र सरकारबीच चरम सङ्घर्ष थियो । सरकार पक्ष हुप्र चौरबाट जनतालाई हटाउन चाहन्थ्यो भने जनता त्यो ठाउँ छोड्न चाहँदैनथे । हामीले जनताका पक्षमा समर्थन, सहयोग गर्दै सरकारी रवैयाको विरोध ग¥यौं । हाम्रो सर्मथनपछि यतिसम्म भयो कि अञ्चलाधीश दामोदर शमशेर जबरा, सहअञ्चलाधीश नन्ददेव भट्टराई लगायतलाई जनताले ढुङ्गामुढा बर्साएर लखेटेका थिए ।
यसबेलासम्म बद्रीप्रसाद खतिवडासित मेरो घनिष्ठ सम्बन्ध बनिसकेको थियो । हेटौंडाकै आधुनिक माध्यामिक विद्यालयमा देवप्रसाद श्रेष्ठ प्रधानाध्यापक हुनुहुन्थ्यो । म र मानबहादुर सार्की काँचो छाला संकलनमा समेत जुटिरहेका थियौं । मानबहादुर सार्की काठमाडौं दहचोकका हुन् । देवप्रसाद श्रेष्ठ हेटौंडा सानोपोखराका ।
बद्रीप्रसाद खतिवडा, देवप्रसाद श्रेष्ठ, म, मानबहादुर सार्कीको अगुवाइमा हामीले मजुदुर संगठन बनायौं । खतिवडा ईन्चार्ज र श्रेष्ठ सचिव हुनुभयो । म र मानबहादुर सार्की सदस्य रह्यौं । खतिवडाले हामीलाई बैठकमा निर्देशन दिनुहुन्थ्यो । त्यही बेला अर्थात् २०२४ सालमा मैले पार्टी सदस्यता लिएँ ।
पार्टी सदस्यता वितरण गर्दा गोपनीयताका लागि अलिखित गरिएको रहेछ । मेरो पृष्ठभूमी नेपाली काङ्ग्रेस भएकाले आशंकाका बीचबाटै सुरु सुरुमा मलाई कम्युनिस्ट पार्टीको जिम्मेवारी दिन थालियो । नेपाली काङ्ग्रेसको पृष्ठभूमिबाट आएको हुनाले उनीहरुले मलाई गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण’ पहिलो खण्ड पढ्न दिए । यो पुस्तकको अध्ययनले नेपालको राजनीतिक इतिहासको ज्ञान अभिवृद्धि गर्न मलाइ निकै सघाउ पु¥यायो ।
कम्युनिष्ट पार्टीको सदस्यता लिएको अर्को साल अर्थात फेरि मेरो सरुवा चितवनमा भयो । चितवनमा आनन्ददेव भट्टलाई चिनाउनका लागि बद्रीप्रसाद खतिवडा पनि मसँगै जानु भएको थियो । खतिवडाले भट्टसँग मेरो सघन सम्बन्ध बनाई दिनु भयो । चितवन सरुवा भएपछि म त्यहीँको वीरेन्द्र क्याम्पसमा भर्ना भएँ । सुरुमा त्यो चितवन माध्यमिक विद्यालयको भवनबाटै सञ्चालित थियो, जसको क्याम्पस प्रमुख आनन्ददेव भट्ट हुनुहुन्थ्यो ।
क्याम्पस प्रमुख भट्टका कोठामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् मार्गशर्दक माओका तस्बिर थिए । चितवनमा भट्टकै सल्लाह र निर्देशनमा टेक बहादुर थापा, पशुपति वाग्ले र म भएको ३ सदस्यीय पार्र्टी कमिटी बन्यो । पशुपति वाग्ले सेक्रेटरी हुनुभयो, हामी सदस्य भयौं । कमिटीको इन्चार्ज आनन्ददेव भट्ट हुनुहुन्थ्यो । यसबेला भने मैंले आफू नेपाल कम्युनिष्ट पार्टीको पुष्पलाल श्रेष्ठ समूहमा रहेछु भन्ने जानकारी पाएँ ।
हाम्रा इन्चार्ज आनन्ददेव भट्टले माक्र्सवाद–लेनिनवाद–माओविचारधारा, सङ्गठन सञ्चालन एवम् कम्युनिष्ट पार्टीको अनुशासन, गोपनीयता सम्बन्धी चाखपूर्ण प्रशिक्षण दिनुहुन्थ्यो । लौह अनुशासन पालना गर्ने मात्र कम्युनिस्ट पार्टीको सदस्य हुनसक्छन्, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित मुद्दा कम्युनिस्टहरुको प्राण समान हो भनेर भट्टले गहिरा एवम् अभिरुचीपूर्ण दार्शनिक प्रशिक्षणहरु दिइरहनुहुन्थ्यो । त्यस्ता प्रशिक्षणलाई त्यसबेला निकै गोप्य राखिने रहेछ ।
खासमा म आनन्ददेव भट्टकै संगतले चितवनको वीरेन्द्र क्याम्पसमा भर्ना भएको थिएँ । त्यसबेला मैंले नेपाली शिक्षा परिषद् अर्थात् नेपाली भाषामा प्रवेशिका परीक्षा मात्र उत्तीर्ण गरेको थिएँ । अङ्ग्रेजी उत्तीर्ण थिएन । दुई विषयमा अङ्ग्रेजी उत्तीर्ण गरेर मात्र प्रविणता प्रमाणपत्र तहमा फाराम भर्नेछु भन्ने व्यहोराको कागज गरेर म क्याम्पस भर्ना भएको थिएँ । जसका लागि मलाई भट्ट सरले सहुलियत दिनु भएको थियो । म क्याम्पस भर्ना भएको केही समयमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भयो । यस निर्वाचनबाट म खारिएको कम्युनिष्ट भएँ ।
स्ववियुमा म नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) बाट कोषाध्यक्षको उम्मेदवार थिएँ । यद्यपि उम्मेद्वारी दिएर सदर नहुन्जेल कांग्रेसहरुले म कम्युनिष्ट रहेको थाहा नै पाएनन् । उम्मेदवारी पारित भएपछि मात्र उनीहरुले म कम्युनिस्ट भएको थाहा पाए । चितवन गीतानगरका नारायण कोइराला नाम चलेका काङ्ग्रेस थिए, त्यसबेला । उनले मलाई भनेकि “तपाईंले धोका दिनुभयो ।” मैले कोइरालालाई मात्र यति भनेँ, “यो पार्टीको कुरा हो ।”
स्ववियुको निर्वाचन भयो । ११ सदस्यीय स्ववियुमा दस सदस्य हामीले जित्यौं । अध्यक्ष भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका एकराम श्रेष्ठले जिते । हाम्रो पक्षका अच्युत वाग्ले पराजित भए । म स्ववियु कोषाध्यक्षमा निर्वाचित भएँ । त्यसबेला हामीले स्ववियुको मुखपत्र ‘प्रकाशपुञ्ज’ भन्ने पत्रिका निकालेका थियौं । म त्यो पत्रिकाको सम्पादक मण्डलको सम्पादक थिएँ । हामीले कलेजका लागि राम्रो वातावरण बनाउने काम गरेका थियौं ।
तिहारमा द्यौसी, भैलो खेलेर, सामाजिक कामहरु गरेर स्ववियुका लागि केही भौतिक सम्पती समेत जोडेका थियौं । बाहिरी मोर्चामा स्ववियु सदस्य भए पनि भित्र–भित्र भने म पार्टीको काममा पनि खटिन्थे । क्याम्पस प्रमुख भट्टसँगको सामिप्यता र विद्यार्थीको कोषाध्यक्ष भएको नाताले चितवनमा खम्बसिंह कुँवर ‘कमरेड काजी साहेव’ हरुसँग काम गर्ने मेसो जुरेको थियो । यसबेला ती दिनहरु मेरो स्मृतिमा चीरस्मृत बनेर बसिरहेका छन् ।
वास्तवमा मेरो संघर्षको यात्रा र अनुभवले जीवनका विभिन्न मोडमा अवसरहरूको अन्वेषण गर्न र संघर्ष गर्न सिकाएको छ । कम्युनिष्ट विचारधारामा गहिरो संलग्नता र सशक्तीकरणको बाटोमा लागेकै कारण यो सम्भव भएको हो । कम्युनिष्ट पार्टीमा सामेल हुनु भनेको केवल राजनीतिक सहभागिता मात्र होइन, सामाजिक दायित्वको अनुभव हो । जसले मलाई सामूहिक संघर्ष र न्यायको पक्षमा उभिन प्रेरित गरेको छ । संगठित र दृढ प्रतिबद्धता भएमा ठूलठूला परिवर्तन गर्न सम्भव छ भन्ने कुरालाई मैले बलियोसँग आत्मसात गरेको छु ।
क्याटेगोरी : जनमञ्च, बिचार
प्रतिक्रिया