पासाङलाई सहअध्यक्षको भूमिकाः माओवादी पार्टीको पुनर्संरचनामा नयाँ दिशा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले राजनीतिक गोलचक्करमा फसेको छ र यसको संरचनागत पक्षमा गत्यावरोध आएको छ । पार्टीका नेताको व्यवस्थापनसहित संरचनामा धेरै समस्याहरू देखिएका छन् । यसै सन्दर्भमा पासाङलाई सहअध्यक्षको पदमा ल्याउने प्रस्ताव माओवादी पार्टीको पुनर्संरचनामा एक नयाँ दिशा दिने कदम हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जसले आफ्नो इतिहासमा जनयुद्ध अर्थात् रक्तरञ्जित संघर्षको माध्यमबाट नेपालको राजनीतिलाई मार्गदर्शन गरेको थियो । हेक्का रहोस, यो कसैले दया, माया र किस्तीमा दिएर आएको परिवर्तन होइन । तर, यो पार्टी आज राजनीतिक गोलचक्करमा फसेको छ । यस पार्टीको उद्देश्य समाजवादतर्फ अघि बढ्नु त हो तर वर्तमानमा यसको संरचनागत पक्षमा गत्यावरोध र नेतृत्वको समस्याले यसलाई थप जटिल बनाइरहेको छ ।
माओवादीको ऐतिहासिक पृष्ठभूमि र संघर्ष
माओवादी आन्दोलन नेपालको राजनीतिको प्रमुख शक्ति हो, जसले १० वर्ष लामो जनयुद्धको माध्यमबाट नेपाली समाजलाई ठूलो परिवर्तनको दिशा दिएको छ । यो संघर्षले राजनीतिक व्यवस्था र समाजको संरचनामा आधारभूत परिवर्तन ल्यायो । माओवादी आन्दोलनले जनताको पक्षमा लड्ने इमानदार र संघर्षशील नेताहरूलाई जन्मायो । जसका कारण अहिलेको नेपालमा माओवादी पार्टीको प्रभाव देख्न सकिन्छ ।
तर, आजको माओवादी पार्टीले आफ्नो मूल उद्देश्यको प्राप्ति र संरचनात्मक सुदृढीकरणमा कठिनाइहरूको सामना गरिरहेको छ । यसको गन्तव्य स्पष्ट छ—समाजवादमा जानु तर पार्टीकोभित्रको संरचनागत स्थितिले यसका लागि ठूलो चुनौती खडा गरेको छ ।
पार्टीको संरचनागत समस्या र गत्यावरोध
माओवादी पार्टी अहिले संरचनागत गत्यावरोधको सामना गरिरहेको छ । पार्टीको नेताहरूबीचको असहमतिहरू, नेतृत्वको पक्षमा अस्थिरताले पार्टीको प्रगति अवरुद्ध बनाएको छ । यसका कारण पार्टीको कार्यशक्ति र प्रभाव सीमित भइरहेको छ । पार्टीका वरिष्ठ नेताहरूकोबीचको असहमतिहरूले पार्टीका गतिविधिलाई प्रभावित पारिरहेको छ । ‘राइट म्यान राइट प्लेस’ को सिद्धान्त नअपनाइएका कारण पार्टीको कार्यकुशलता प्रभावित भएको छ ।
अधिकांश समय पार्टीमा काम गरेका नेताहरूको सिनियरिटीको आधारमा नेतृत्वलाई ध्यानमा राखेर निर्णय गरिन्छ, जसले नयाँ विचार र ऊर्जालाई रोकिरहेको छ । पार्टीको नेतृत्वमा सुधार ल्याउनका लागि यो पुरानो सोंच र संरचनागत अस्थिरता हटाउनु अति आवश्यक छ ।
प्रचण्डको नेतृत्व र पार्टीको भविष्य
पार्टीको अध्यक्ष कमरेड प्रचण्ड, पार्टीका प्रभावशाली नेता हुनुहुन्छ, जसले ऐतिहासिक संघर्ष र परिवर्तनको यात्राको नेतृत्व गर्नभएको छ । उहाँको नेतृत्वमा पार्टीको आन्तरिक संगठनमा विभिन्न प्रकारका कठिनाइहरूसँग जुझ्न र परिपक्वताको दिशामा अघि बढ्न खोजिएको छ । तर, उहाँको चाहनाअनुसारको लय समातेर हिंड्ने टिम स्पिरिट नबन्दा पार्टी कमजोर बनिरहेको छ ।
प्रचण्डको नेतृत्वमा पार्टीमा एउटा ठूलो शक्ति र ऊर्जा निहित छ तर त्यही नेतृत्वको ऊर्जा र कुशलता पूर्ण रूपले पार्टीको संरचनामा उतार्न र संस्थागत निर्णयमा उपयोग गर्न सफल भएको छैन । यसमा पार्टीका अन्य वरिष्ठ नेताहरूको पनि कमी देखिन्छ जसले नयाँ समयको आवश्यकता र परिस्थितिहरूको बुझाइका साथ पार्टीलाई अघि बढाउन सहयोग पु-याउन सक्नु पर्छ ।
नेतृत्वको पुनःसंरचना र नयाँ टिमको आवश्यकता
पार्टीको संरचना र नेतृत्वको समस्या समाधान गर्नका लागि पुराना र नयाँ नेताहरूको सन्तुलन कायम राख्न आवश्यक छ । पुराना नेताहरूका अनुभव र संघर्षको महत्वलाई मान्यता दिनु महत्वपूर्ण छ तर तिनीहरूको नेतृत्वको विधिमा नयाँपन र ऊर्जा ल्याउनका लागि नयाँ पिढीका नेताहरूलाई पनि स्थान दिन आवश्यक छ । जनयुद्धकालीन टिम स्पिरिट र संस्थागत निर्णय प्रक्रियाको पुनःस्थापना गर्न जरुरी छ ।
पार्टीलाई पुनःसंरचना गर्नेक्रममा नेताहरूलाई सही स्थानमा भूमिका दिनु अपरिहार्य छ । प्रचण्डको नेतृत्वमा पार्टीलाई नयाँ ऊर्जा र दिशा दिनका लागि एकदमै कुशल र समर्पित नेतृत्वको आवश्यकता छ । यसका लागि पार्टीमा सिनियर र जुनियर नेताहरूबीच एक सकारात्मक संवाद र सहकार्य कायम गर्नु पर्छ ।
वरिष्ठ नेतृत्वको पुनःसमीक्षा र पद विभाजन
नेपालका कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण पक्ष भनेको नेतृत्वको सही व्यवस्थापन हो । पार्टीका वरिष्ठ नेताहरूको भूमिका र स्थिति केही जटिल रहेको छ । उदाहरणका लागि, उपराष्ट्रपति जसले राष्ट्रको दोस्रो सर्वोच्च पद सम्हालेका छन्, पार्टीको संस्थागत संरचनामा पदीय पदहरूमा समायोजन गर्न जरुरी छ । उपराष्ट्रपति वा वरिष्ठ नेताहरूलाई पार्टीको नेतृत्वमा उचित स्थान दिनु पर्छ, जसले पार्टीको दिगो विकासमा सहयोग पु-याउन सक्छ । पूर्व उपराष्ट्रपति पासाङलाई अध्यक्षपछिको वरियताको सहअध्यक्ष बनाउँदा न्याय हुन्छ । महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षहरूको भूमिकामा पनि पुनःसमीक्षा गरेर पार्टीको संरचना बलियो बनाउन सकिन्छ ।
पार्टी एकता र बाह्य माओवादी समूहहरूको समायोजन
पार्टीको आन्तरिक एकता मात्रै होइन, बाह्य माओवादी समूह र नेतृत्वलाई एकजुट गर्ने पहल पनि अत्यन्तै महत्वपूर्ण छ । पार्टीको विभिन्न खेमामा रहेका नेताहरूलाई एकताबद्ध गरेर समग्र माओवादी आन्दोलनलाई अघि बढाउन एकजुट प्रयास गर्नुपर्नेछ । यसबाट पार्टीको आधार र जनसमर्थन बढ्छ ।
पार्टीको ऐतिहासिक महत्व र संघर्षलाई ध्यानमा राख्दै यसका नेतृत्वका प्रमुख नेताहरूले यदि सुधारात्मक कदम चाले भने पार्टीको भविष्य उज्जवल हुनेछ । पुराना र नयाँ नेताहरूको बीचको सन्तुलन, सही नेतृत्व र समग्र पार्टी संरचनाको सुदृढीकरण माओवादी पार्टीलाई नेपालको राजनीतिको नयाँ उँचाइमा पु-याउन सक्छ ।
यसका लागि प्रचण्डको नेतृत्वमा एक नयाँ टोलीको निर्माण र पार्टीको संरचनामा सुधार गरेर माओवादी आन्दोलनलाई नयाँ दृष्टिकोण र दिशा दिन आवश्यक छ । यही प्रक्रिया अपनाएर माओवादी पार्टी पुनः एक शक्तिशाली र प्रभावशाली राजनीतिक बलको रूपमा स्थापित गर्न सकिन्छ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया