Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

दिग्भ्रमित नेपाली भाषा–व्याकरण


माउभाषा संस्कृतबाट प्राकृत हुँदै हाल जुम्ला जिल्लामा पर्ने सिन्जा उपत्यकामा जन्मिएको मानिने नेपाली भाषा नेपालको सबै भाषाहरू भन्दा विकसित र सम्पन्न राष्ट्रभाषा हो । नेपालको अन्तरिम संविधान २०६३ आउनुअघिसम्म एकल राष्ट्रभाषाको दर्जा पाएको यस भाषालाई त्यसपछि नेपालमा बोलिने अन्य थुप्रै भाषाहरूकै हैसियत दिइए पनि यसको सर्वोच्चतामा खासै असर परेको देखिँदैन । यसको उन्नति—प्रगति नचाहनेहरूमा यही मातृभाषा भएका कालीदास प्रवृत्तिका केही आधुनिक, प्रगतिशील, क्रान्तिकारी र समतावादीहरूको पनि उपस्थिति देखिन्छ । सरलता, सहजता र सम्प्रेषणीयताका कारण यसको प्रसार द्रूत गतिमा भएको थियो । विरोधीहरूद्वारा शाह राजाहरूले बलपूर्वक जबरजस्ती लादेको भाषा भन्ने गरिएको भए पनि पृथ्वीनारायण शाहले एकीकरण अभियान थाल्नुभन्दा धेरै पहिले यो भाषा काठमाडौँ उपत्यकालगायत सुदूरपूर्वसम्म फैलिसकेको इतिहासले पुष्टि गर्छ । एकीकरण अभियानमा यसले बरु सहयोग पुर्याएको देखिन्छ । राजामहाराजाले प्रयोग गर्दैमा, दरबारमा बोलिँदैमा कुनै भाषाले राष्ट्रिय मान्यता पाउने भए, लोकप्रिय हुने भए त उपत्यकाका मल्ल राजाहरूका दरबारमा बोलिने नेवारी भाषा नै अगाडि हुन्थ्यो होला । मल्ल दरबारमा मैथिली र तराईमा बोलिने भाषा धेरै पहिले पुगिसकेका थिए । कतिपय मल्ल राजाहरू मैथिली भाषामा साहित्य रचनासमेत गर्ने गर्थे । जयप्रकाश मल्ल खडी भाषा (हिन्दी) बोल्थे भनिन्छ । नेवारी, मैथिलीजस्ता भाषालाई उछिन्दै नेपाली भाषा अगाडि बढ्दै गयो । सिङ्गो नेपाल राष्ट्रको उदय हुनुपूर्व नै यस भाषाले साझा र सम्पर्क भाषाको रूपमा आफ्नो स्थान बनाइसकेको थियो ।

चलनचल्तीमा आउन सफल भए पनि यस भाषाले राज्यद्वारा संरक्षण पाउन भने निकै लामो समय पर्खनु पर्यो । जयपृथ्वीबहादुर सिंहको प्रयासमा श्री ३ देव समसेरको ( वि.सं. १९५८) छोटो शासनकालमा नेपाली भाषाले उभिने मौका पायो । पछि दरबारनजिकका पुष्करसमसेर, बालकृष्ण समजस्ता नेपाली भाषाप्रेमीहरूको पनि यसको विकासमा खासगरी सरकारी हैसियत बनाउनमा उल्लेख्य भूमिका रहेको छ । (विषयान्तर हुने भयले यसको विकासमा योगदान दिने महान् साहित्यकार, भाषासेवीहरूको नाम यहाँ उल्लेख गर्न सकिएन ।) राजा महेन्द्रको शासनकालमा मात्र नेपाली भाषाले विधिवत् रूपमा राष्ट्रभाषाको मान्यता पाएको थियो । आफ्नो घर नबनाउने अर्काको घर पनि भत्काइदिने बाँदर प्रवृत्ति हाबी हँुदै आएपछि यसको त्यो हैसियत फेरि गुम्न पुग्यो ।
जेसुुकै भए पनि नेपालमा मात्र होइन संसारभरि छरिएर रहेका सबै जातजाति, समुदायको नेपालीका लागि सम्पर्क भाषा र साझा भाषाका रूपमा नेपाली भाषा नै निर्विकल्प बन्न पुगेको यथार्थ हो ।

यथार्थ यो हँुदाहँुदै पनि मोटामोटी एक हजार वर्ष उमेर पुगेको नेपाली भाषालाई नियमित र व्यवस्थित बनाउने आधिकारिक नेपाली व्याकरणको व्यवस्था अझै हुन सकेको छैन । भरपर्दो र विवादरहित गतिलो शब्दकोशको समेत निर्माण हुन सकेको छैन । आफुखुसी, मनमौजी ढंगले निजी वा सरकारी तवरमै पनि निकालिएका शब्दकोशहरूले प्रयोगकर्तालाई पनि झन् दिग्भ्रमित पार्ने गरेका छन् । जङ्गेले जे बोल्यो बोल्यो भन्ने नीति लिएका कोशकारहरू आफूलाई सर्वेसर्वा ठान्छन् । धन्य, शब्दकोश प्रयोगकर्ताहरूको सङ्ख्या त्यति ठुलो छैन ।

लेखक

व्याकरणको कुरो गर्ने हो भने त झन् कहालीलाग्दो छ । नेपाली व्याकरणको इतिहास केल्याउनपट्टि नलागौं । छोटकरीमै कुरा गरौं । नेपाली मौलिक व्याकरणको निर्माणमा सुरुदेखि नै नेपाली वैयाकरणहरूको ध्यान गएकै बुझिन्छ । तर काम भने हुन सकेन । संस्कृत, हिन्दी र अङ्ग्रेजी पढेर आएका विद्वान् वैयाकरणहरू आआफ्नै मत कायम गराउनेतिर लागिपरे । नेपाली व्याकरणमा यी तीनवटै भाषाका व्याकरण–ग्रामरको गहिरो प्रभाव पर्न गयो । लेख्यभाषाको पहिलो खुड्किलो वर्णदेखि सङ्कथन – अभिव्यक्तिसम्म यी भाषाहरूको प्रभाव अद्यापि कायम छ । एउटा सानो उदाहरण, देवनागरी लिपिको हाम्रो वर्णमालामा ङ छुट्टै सग्लो वर्ण छ । तर रोमन लिपिमा लेखिने अङ्ग्रेजी वर्णमालामा ङ का लागि ng (n र g दुइटा लेटर) मिलाउनु पर्छ । त्यसकै प्रभावमा तामाङ, गुरुङ, ताप्लेजुङ, दाङ, टाङटिङ, बिरिङ जस्ता शब्दहरूलाई तामाङ्ग, गुरुङ्ग, ताप्लेजुङ्ग, दाङ्ग, लेख्ने गरिन्छ ।

मूलभाषा संस्कृत भएकोले त्यहाँबाट आएका शब्दहरू तत्सम र तद्भवरूपमा नेपालीमा प्रशस्तै छन् । कतिपय आफ्ना झर्रा–ठेट शब्द पनि छन् । तर त्यतिले मात्र पुग्ने कुरो भएन । संसारका कुनै पनि भाषाले अन्य भाषाबाट शब्द नभित्र्याई धरै पाउँदैन । नेपाली पनि त्यसको अपवाद हुन सक्तैन । संसारभरिका थुप्रै भाषाबाट यहाँ प्रशस्त शब्दहरू ल्याइएका छन् । त्यस्ता शब्दहरूलाई कसरी लेख्ने ? कुन हिज्जे प्रयोग गर्ने ? यसको निर्णय व्याकरणले दिन्छ । नेपाली व्याकरणले स्पष्ट स्वरूप ग्रहण गरिनसकेको हुनाले हिन्दीबाट प्रभावित वैयाकरण, विद्वान्, विज्ञहरूले निर्वाध रूपमा त्यसैको अनुकरण गरे । देवनागरी लिपिमै लेखिने हुँदा हिन्दी भाषाको अनुकरण –नक्कल गर्नु साह्रै सजिलो पनि भयो । अहिले धेरै चर्चामा रहेको शहीद शब्दलाई नै यहाँ उदाहरण बनाऊँ ।

वि. सं. १९९७ को सहिद काण्डपछि यो शब्द अत्यधिक प्रचलनमा आयो, लोकप्रिय पनि भयो । अरबी मूलबाट आएको यस शब्दलाई कसरी लेख्ने भन्नेतर्फ हाम्रा तत्कालीन विज्ञहरूले टाउको दुखाएनन् । लिपि नै अर्को भएकोले मूलमा कसरी लेखिन्छ ? थाहा हुने कुरै भएन । पहिल्यै हिन्दी भाषामा आइसकेको हुनाले थपक्क उसैको नक्कल गरेर शहीद लेखियो । यसैगरी अरबी–फारसी मूलबाट आएका सहर, सायद, कोसिस, महसुस, सिकार, साही, सुरु, सिफारिस आदि थुप्रै शब्दहरूलाई हिन्दीकै पाराले शहर, शायद, कोसिश, महसुश, शिकार, शुरु लेखियो । अङ्ग्रेजी आदि भाषाबाट आएका इन्चार्ज, इन्डस्ट्रिज, एन्ड, स्टेसन, कम्युनिस्ट, इङलिस, बोर्डिङ, ल्याङ्ग्विज जस्ता शब्दहरूलाई संस्कृतका विज्ञहरूले संस्कृत व्याकरणकै पाराले इञ्चार्ज, इण्डष्ट्रिज, एण्ड, स्टेशन, कम्युनिष्ट, इङ्गलिस, बोर्डिङ्ग, ल्याङ्गवेज लेख्न थाले । आगन्तुक शब्दहरू लेख्ने नियम हिन्दीको नक्कल गर्नु नै बन्यो ।

नयाँ पुस्ताका नेपाली वैयाकरण–विज्ञहरूलाई यस्तो नक्कली हिज्जेको नियमले सन्तुष्टि दिएन । उनीहरूको शोध–अनुसन्धानबाट तीन दशकअघि वर्णविन्यासको नयाँ नियम बन्यो । तत्सम शब्दलाई संस्कृतमै जसरी लेख्ने, तद्भव र आगन्तुक शब्दलाई नेपाली नियमानुसार लेख्ने, ह्रस्व–दीर्घ, अजन्त–हलन्त, शिरबिन्दु–चन्द्रबिन्दु श–स–षको प्रयोग, पदयोग–पदवियोगका नियम सरल र व्यावहारिक बनाइयो । यी नियमहरू धेरै हदसम्म वैज्ञानिक र मौलिक थिए । यसै क्रममा नेपाली वर्णहरूको निक्र्याैल पनि गरियो । स्वरवर्ण ६ वटा (अ आ इ उ ए ओ) र व्यञ्जनवर्ण २९ वटा (क् ख् ग् घ् ङ् च् छ् ज् झ् ट् ठ् ड् ढ् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् स् ह्) निर्धारण गरिए । तद्भव र आगन्तुक शब्दहरूमा यिनै वर्णमात्र प्रयोग गर्नुपर्ने भयो । यसै आधारमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आधिकारिक शब्दकोश पनि प्रकाशित भयो –नेपाली बृहत् शब्दकोश ।

यसपछि नेपाली वर्णविन्यास धेरै सरल र सहज हुँदै आयो । यसमा राष्ट्रवादी भावना देखिन्थ्यो । तर यस परिवर्तनलाई पुराना रुढिवादी पुस्ताले पटक्कै रुचाएको रहेनछ । अवसरको ताकमा ढुकेर बसेछन् । उनीहरूको उदासीनता, निष्क्रियता र असहयोगका कारण विगत तीन दशकमा यस्तो शिक्षित नयाँ पुस्ता आयो जोसंग ठुल्ठुला शैक्षिक उपाधि त थिए तर नेपाली वर्णमालाको ज्ञान रहेन । यसैबिच निजी अङ्ग्रेजी बोर्डिङ स्कुलहरूको बाढी आयो । अभिभावकहरूमा अङ्ग्रेजी भाषाप्रतिको मोह अस्वाभाविक रूपमा बढेर आयो । यसबाट असन्तुष्ट, कामचोर पक्षलाई निष्क्रिय बस्न राम्रो अवसर प्राप्त भयो । मुलुकमा आएको राजनैतिक परिवर्तन र अस्थिरता, अराजकता, दण्डहीनताको वातावरणले पनि उनीहरूलाई अनुकूलता प्रदान गर्यो ।

भाषा–व्याकरणको रडाको आफ्नै ठाउँमा छ । प्रयोक्ताहरूमाझ भने नेपाली भाषा आफ्नै पाराले स्टेयरिङ फेल भएको गाडीजस्तो जथाभाबी कुदिरहेको देखिन्छ ।

फलस्वरूप पढेलेखेका शिक्षित नयाँपुस्ताले नेपाली वर्णहरूको उच्चारण गर्न पनि जान्न छाडे । ए ऐ को उच्चारण गर्न नजान्ने भए । ऐ (अइ ) माथि ै नदेखेर ए नै भन्न थाले र ऐन/अइन्/लाई एन/येन्/ भन्न थालियो । ऐतिहासिक/अइतिहासिक्, ऐक्यबद्घता/अइक्यबद्धता/ लाई एतिहासिक, एकेबद्धता भन्न थालियो । घ र ध, भ र म पनि छुट््रयाउन सक्न छाडियो । ‘र’ मा ह्रस्व उकार, दीर्घ उकार कसरी दिनुपर्छ भन्ने धेरैलाई थाहै छैन । द्य, द्घ द्व द्म द्द क्त जस्ता संयुक्त व्यञ्जनवर्णलाई कसरी लेख्ने, कसरी पढ्ने ? धेरैलाई जानकारी छैन । विद्या/बिद्या, विद्यालय/बिद्यालय, उद्योग/उद्योग्÷ लाई बिध्या, बिध्यालय, उध्योग्उ/द्धोग् भन्न थालियो । शृङ्गार, शृङ्खला लेख्नुपर्दा श्रृंगार, श्रृंखला लेख्ने गरिन्छ । सृजना/सिर्जनालाई समेत श्रृजना लेखिन्छ । द्वारालाई व्दारा, ÷द्घारा, आह्वानलाई आव्हान उच्चारण पनि आउहान् गरिन्छ । बुद्घ, क्लब, क्लास, ट्र्याक, आशीर्वाद लाई बुध्द, ल्कब, ल्कास, ट्रयाक, आर्शिवाद/आशिवार्द लेखिएको जताततै देखिन्छ । मम /मोमो लाई जताततै मःमः (मह् मह्) लेखेको देखिन्छ । अशोक, योग, स्तुपलाई अचेल अशोका, योगा, स्तुपा लेख्ने भन्ने गरेको पाइन्छ ।

अहिले आएका विकृतिका यी केही नमुना मात्र हुन् । स्थानाभाव र पाठकको पढ्ने समयाभावलाई ध्यानमा राख्दै यसभन्दा बढी उदाहरण प्रस्तुत गर्न सकिएन । यस समस्याबाट मुक्ति दिलाउने नाममा छ–सात वर्ष अघि (२०६६ सालमा ) केही लालबुझक्कड विद्वान्हरूले डेढअक्कल लगाउँदै परिमार्जित नयाँ नियम ल्याए । फूल (पुष्प) फुल (अन्डा, पूर्ण) लाई एउटै फुल लेख्ने, पुरा (उब्रिएको जुठो खाना) र पूरा (पूर्ण) लाई पुरा लेख्ने, द्य द्घ आदि संयुक्त व्यञ्जनवर्णहरू वर्णमालाबाट हटाई द्य, द्ध आदि लेख्ने नियम बनाइयो । यसै अनुसार पाठ्यपुस्तक, शिक्षण निर्देशिका, शब्दकोश पनि राष्ट्रको ठुलो रकम लगानी गरेर प्रकाशनमा ल्याइयो ।

नयाँ परिमार्जित यो अव्यावहारिक, अवैज्ञानिक नियम पुराना कट्टरपन्थी रुढिवादीहरूका लागि विरोध गर्ने ठुलो अवसर बन्यो । यसको विरुद्धमा र तीन दशकअघि नै विस्थापित पुरानो नियमको पुनस्र्थापनाका लागि ठुलो स्यालहुइयाँ मच्चाइयो । सञ्चार क्षेत्रबाट पनि उनीहरूलाई सहयोग पुग्यो । उनीहरूको डाँको सशक्त भयो । उनीहरूको पिठो बिक्यो । शषसको मुद्दा उनीहरूले आंशिक रूपमा जितेको देखिन्छ ।

भाषा–व्याकरणको रडाको आफ्नै ठाउँमा छ । प्रयोक्ताहरूमाझ भने नेपाली भाषा आफ्नै पाराले स्टेयरिङ फेल भएको गाडीजस्तो जथाभाबी कुदिरहेको देखिन्छ ।

राजतन्त्र हटिसक्यो, राजदरबार सङ्ग्रहालयमा परिणत भइसक्यो तर दरबारभित्र प्रयोग गरिने भाषा भने नागरिकहरू माझ लोकप्रिय बन्दै जाँदै छ तर विकृत भएर । सुरुमा दरबारनिकटका परिवारमा आएको अत्युच्च आदरार्थी प्रयोग गरिने बक्सियोस् भन्ने भाषा नवधनाढ्यवर्ग हुँदै अहिले सर्वसाधारण परिवारमा समेत बोलिन थालेको छ । व्याकरणविहीन यस भाषामा बक्स्यिोस् बाट स्योस् मात्र भएन पदक्रम र पदसङ्गतिसमेत लथालिङ्ग पाराले आउने गरेको देखिन्छ । बुझिए अनुसार खानु, सुत्नु, सुन्नु, हेर्नु आदि क्रिया सहायक क्रिया बक्सनुसित मेल खाँदैनन् । दरबारमा भुजा ज्युनार गरिबक्सिँदै छ, सुकला गरिबक्सेको छ, श्रवण गरिबक्सिँदै छ भनिने अभिव्यक्तिहरू जनताको घरमा भने खाना÷भात खाइसिँदैछ, सुतिस्याछ, सुनीसिँदैछ, हेरिसिँदैछ भनिन थाल्यो । व्याकरणविहीन अवस्थामा यो भाषा द्रूतगतिमा फैलिरहेको देखिन्छ ।

अन्त्यमा, हाल प्रचलनमा रहेको एउटा अनौठो प्रयोग प्रस्तुत गर्दछु :

नेपाली व्याकरणअनुसार आलङ्कारिक प्रयोगमा बाहेक सामान्यतः मानवेतर कर्तामा आदरार्थी क्रियापद प्रयोग गरिँदैन, जस्तो ः सरकारले यस्तो निर्णय गर्यो । सरकारले कडा कदम चाल्नेछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गरेको छ । तर ठुल्ठुला नेताहरूले बोल्दा पार्टी, संघ–संस्था सबैकालागि उच्च आदरार्थी प्रयोग गर्छन् । जस्तोःनेपाली कांग्रेसले हामीसित यसो भन्नुभएको छ । सबै राजनीतिकदलहरू गृहकार्यमा जुट्नु भएको छ । संघसंस्थाहरूले गर्नुभएको कामको प्रशंसा गर्न चाहन्छु । हाम्रा भातृ (भ्रातृ) संगठनहरू आफ्नो काममा जुटिरहनु भएको छ । यस्तो प्रयोगलाई शुद्घ कसरी भन्ने ?

दसबर्से द्वन्द्वकालको उत्कर्षतिर आतङ्क र त्रासको वातावरण व्याप्त भएको बेला माओवादीको पार्टीलाई पनि ‘तपाईं’ भन्ने गर्थे मानिसहरू । त्यहीँदेखि यस्तो प्रयोग सुरु भएको थियो । केही समयपछि नेताज्यूहरूको गाडी आउँदै हुनुहुन्छ, बाटो छाडिदिऊँ है भन्नुपर्ने हुन्छ होला । नेपाली भाषा यसरी दिग्भ्रमित हुनुमा पनि अस्थिर राजनीतिकै हात छ त ?


क्याटेगोरी : बिचार
ट्याग : #Bhakta Khapangi, #Nepali bhasha, #Nepali language

प्रतिक्रिया


ताजा अपडेट