ममाथि सरुवा आतंक, श्रीमतीलाई फर्काएँ गाउँतिरै
२०२८ सालमा तीन महिनासम्म गण्डक क्षेत्रका लुम्बिनी, गण्डकी र धौलागिरिमध्ये जहाँ कार्यालय राख्न उपयुक्त हुन्छ, त्यहीँ कार्यालय राख्नुहोला, कार्यालय राखेको तीन महिनापछि कारखानालाई जानकारी गराए पनि हुन्छ भनेर मलाई रवाना दिइयो ।
गण्डक क्षेत्रमा सरुवा भएपछि मैले पोखराको बगरमा कार्यालय राखेँ । पोखरा नेपालको चेरापुन्जीको नामले पनि चिनिन्थ्यो त्यसबेला, महिना साउनको थियो । ठूलो पानी प¥यो । त्यतिखेर पृथ्वी राजमार्ग खुलिसकेको थिएन, बन्दै थियो । सिद्धार्थ राजमार्ग चाहिँ खुलिसकेको थियो । पैसा पनि थिएन, खानेकुरा पनि थिएन । चरम अभाव हुन थाल्यो । केही सीप नलागेपछि दुर्गादेवीले भनिन् –भो, अब म घर जान्छु । खान पनि गाह्रो, दाउरा बाल्न पनि गाह्रो भयो । दुर्गादेवी बालबच्चासहित सिन्धुली गइन् ।
जब दुर्गादेवी आफ्नो घर सिन्धुली फर्किन्, दुर्गादेवी जानुअघि नै हामीले ‘हिमाली कारखाना खोल्यौं’ । त्यो ठाउँको नाम रोहिणी हो । बुटवल चौबाटोको दस किलोमिटर पूर्वतर्फ रोहिणी खोला पर्दछ । हामीले त्यो रोहीणी खोलाकै किनारमा कारखाना बनाउने भनेर सुरु ग¥यौं । त्यहाँ हामी दस जना साझेदार भयौं । बाँसबारी छाला कारखानाको जागिर त छँदै थियो । म, मानबहादुर थापा, धनबहादुर आचार्य, मुख्तार अहमद, झिन्कुल खाँ, लोकप्रसाद पराजुली, पुण्यप्रसाद दाहाल, यमप्रसाद मल्ल, दिलबहादुर गिरी, केशरबहादुर सार्की सबैले लगानी गर्ने र त्यो सबैको सामूहिक हुने भन्ने थियो । त्यहाँ सबैले श्रम गर्नुपर्ने र जसले जे काम गर्छ, उसले त्यहाँको प्रत्येक बेलुका सबैले विवरण लेखाउनुपर्ने नियम बनाइएको थियो । भात पकाउने मानिसले घन्टी बजाउनुपर्ने नियम थियो, त्यहाँ एक किसिमको साम्यवादी व्यवस्थापन लागू गरिएको थियो ।
वास्तवमा त्यो एउटा ठूलो र राम्रो उद्देश्यसित जोडिएको थियो । त्यसको मुख्य मानिसहरुमध्ये म पनि एक थिएँ । त्यो एक किसिमको कम्युन जस्तै थियो । त्यो कारखाना जङ्गलको बीचमा थियो । वास्तवमा हामी सामूहिक उत्पादनमा लाग्छौं भन्ने कुरा यसमा जोडिएको थियो । हामी सबै काम आफैं गर्छौं भन्ने थियो र ग¥यौं पनि । त्यहाँ मुसलमान पनि थिए, सार्की पनि थिए, गिरी पनि थिए, क्षेत्री पनि थिए । त्यहाँ जातीय सद्भाव थियो । त्यहाँ एक किसिमको सामूहिकताको वातावरण बनाउने कुरा थियो र बन्यो पनि ।
डीबी आचार्यले प्रविणता उत्तीर्ण गरका थिए । उनैलाई नै हाम्रो तर्फबाट शिक्षकमा खटाएका थियौं । त्यसले गर्दा जनतामा हाम्रो राम्रो प्रभाव परेको थियो । हामीले त्यहाँ थारु चौधरीहरु रहेको ठाउँमा विद्यालय पनि खोल्यौं । विद्यार्थी पढाउन भनेर गइयो । दःखद् कुरा यो भयो कि एकजना पाल्पाकी जिमदार नेवार्नीले विद्यालय नै भत्काइ दिइन् । फेरि त्यहाँ हामीले सबैले पढ्नुपर्ने नियम पनि बनाएका थियौं । हामीले त्यहाँ पुस्तकालय र वाचनालय पनि बनाएका थियौं । वास्तवमा त्यो काम चानचुने थिएन । हामीहरुले बहुउद्देश्यका साथ त्यो कारखाना सुरु गरेका थियौं । एक त श्रममा सबैले सहभागिता जुटाउने र त्यसको रिपोर्ट दैनिक लेख्ने अनि जस–जसका जे जे काम हुन्छन्, तिनको अघिल्लो दिन नै निर्धारण गरेर सञ्चालन गरिन्थ्यो । सबै जातिका बीचमा सुन्दर एकता र सहिष्णुताका साथ हामीले त्यहाँ कार्यक्षेत्र बनाएका थियौं । परम्परागत रुढीवादका विरुद्धको त्यो सङघर्ष पनि थियो । अनि मानिसहरुले हामीमाथि आँखा लगाउन थाले ।
त्यतिखेर त्यहाँ शारदाप्रसाद दाहाल अञ्चल शिक्षा अधिकारी हुुनुहुन्थ्यो । उहाँलाई मैले भनेँ “तपाईले यो विद्यालयलाई स्वीकृति दिनुप¥यो ।” उहाँले “हुन्छ भाइ” पनि भन्नुभएको थियो । सोही स्थानमा हामीले जुन विद्यालयको सिलान्यास गरेका थियौं, जसलाई जिम्दार्नीले भत्काई दिएकी थिइन्, त्यसै जगमा २०३२ मा खडा गरिएको जनप्रिय माध्यमिक विद्यालय देवदह नगरपालिका, वडा नं. ११ मा रुपन्देहीमा अहिले पनि भव्यरुपमा सञ्चालन भइरहेको छ ।
त्यहाँ सोही क्षेत्रका कन्जरभेटर नेत्रबहादुर बस्नेत आए । वन विभागले पुण्यप्रसाद दाहाललाई पक्रिए । हाम्रो आन्तरिक गिरफ्तारी दिने निर्णय पनि त्यही थियो । त्यसपछि हामीलाई मुद्दा लगाउने काम भयो । पुण्यप्रसाद दाहाल पन्ध्र बीस दिनपछि वन विभागको हिरासतबाट छुट्नुभयो । त्यसरी हामीले कब्जा जमाएकोे जमिन पनि सकियो । सबै भताभुङ्ग भयो । विद्यालय पनि भत्काइदिने काम भयो । हामीलाई कानुनी कामको त्यति जानकारी पनि थिएन तर उद्देश्य चाहिँ राम्रो नै थियो । हामी जुन उद्देश्यका साथ जान खोजेका थियौं, त्यसमा सत्ताधारीहरुसित सङ्घर्ष परिहाल्यो । दुश्मनले हामीलाई यिनीहरु खतरनाक मानिस हुन् भन्ने ठह¥यायो । तत्कालीन मन्त्री रवीन्द्रनाथ शर्मा पनि त्यहीँ पुग्नुभयो । त्यहाँ मन्त्री दानबहादुर शाही पनि आउनुभयो । त्यतिखेर रवीन्द्रनाथ शर्माले भन्नुभएको थियो, “ओहो, दाहालजी ! राम्रो गर्नुभएको रहेछ ।” अरु मानिसहरु आउने, जाने र हेर्नेहरु त कति हो कति हुन्थे । त्यो एक किसिमले रोमाञ्चकारी परिवेश थियो ।
त्यसपछि मलाई भैरहवा सरुवा गरियो । यो सरुवासँगै मेरो जिम्मेवारी पनि परिवर्तन भयो । अब मेरो काम बाँसबारी छाला तथा जुत्ता कारखानाको जुत्ता बिक्री डिपोको इन्चार्जकोरुपमा रहने भयो । जुत्ताका विभिन्न नमुना र आकार प्रकारसहित आफैँले बोकेर पूरै लुम्बिनी अञ्चलका गुल्मी, अर्घाखाँची र पाल्पाका बजारहरु डुलेँ र विभिन्न ठाउँमा जुत्ता बिक्री गर्ने डिलरहरु बनाएँ ।
त्यहाँबाट एक वर्ष नपुग्दै जनकपुर सरुवा गरियो । भैरहवा रहँदा मेरो ‘नवजीवन’ भन्ने पत्रिकामा ‘खुला हाँक तिमी तर्साउने मूर्कुट्टाहरुलाई’ शीर्षक कविता प्रकाशित थियो । नवजीवनको सम्पादक बुँद राना हुनुहुन्थ्योे । त्यो कवितालाई उहाँले छाप्नुभएको थियो । त्यो कवितालाई मैले त्यहाँको एक कार्यक्रममा वाचन गर्दा पञ्चायतका मण्डलेहरुले मप्रति दागा धरेका थिए । आखिर त्यो ठाउँमा त मण्डलेहरुको बिगबिगी थियो । मलाई बाँसबारी छाला तथा जुत्ता कारखानाले पाँचसय रुपियाँसम्म उधारो दिन पाउनुहुनेछ, त्यो भन्दा बढीमा आफैं जिम्मेवार हुनुपर्नेछ भन्ने पत्र आएको थियो । त्यही पत्रको आधारमा मैले त्यो क्षेत्रका जुत्ताका डिलरहरुलाई उधारोमा जुत्ता दिएको थिएँ । त्यही बेला कारखानाले मलाई जुत्ता किन उधारो दिइस् भनेर स्पष्टीकरण माग्यो । त्यसपछि सबै पैसा मैले उठाएर जिम्मा लगाएँ । एकातिर सकी नसकी पैसा उठाएर बुझाइयो भने अर्कोतिर मलाई निलम्बन पनि गरियो । सत्ताधारीहरुले सताउन छाडेनन् ।
त्यसै समयमा पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको आधार बनाएर मलाई प्रहरीले काठमाडौंमा पक्राउ गरी अड्डासार गरेर एसपी कार्यालय, वीरगञ्ज पु¥याएको थियो । प्रहरी उपरीक्षक अशोक श्रेष्ठको नेतृत्वका दुई प्रहरी जवानसहितले मलाई गोडा फटाउने, गोलीगाँठामा कुट्ने, ठाडो खुट्टा लगाएर बाँसको कप्टेराले पैतालामा चुट्ने अवस्था करिब करिब एक घन्टाजति भयो । अनि, उन्नाईस दिनपछि तारिखमा छोडियो । त्यसपछि म काठमाडौं गएँ । जब म काठमाडौं पुगेँ, त्यसपछि त्यहाँका बूढी आमाहरु रुदैँ मलाई अँगालो मार्दै ‘बाबु तिमीलाई त मा¥यो भन्थे ।’ मलाई पक्राउ गरेपछि त्यहाँका स्थानीय जनताले मलाई मा¥यो भन्ने कुराको आभास भएको रहेछ । जब म तारिखमा छुटेर डेरामा पुगेँ, त्यसपछि मलाई दसाइएको सहानुभूतिको कारण पनि त्यही रहेछ ।
एकवर्षपछि कारखाना प्रशासनले मलाई एक तह घटुवा गरेर फुकुवा ग¥यो । प्रशासनका मानिसहरुले त्यतिखेर मलाई भने कि यो त केही समयका लागि मात्र हो । तपाईको बढुवा पनि हुन्छ, तलब पनि बढ्छ । तपाईं नोकरीमा आउनुहोस् । तर मैले मानिनँ । “म तुहेको मानिस हुँ र !” भनेँ । मैले त्यतिखेर भनेको थिएँ, “म दिन पुगेर जन्मेको मानिस हुँ । ”यो २०३१ सालको कुरा हो । चौध हजार रुपैयाँ आउनुपर्ने ठाउँमा मलाई के के कटाएर तीन हजार एक सय मात्र दिइयो । त्यसपछि मैले बाँसबारी छाला तथा जुत्ता कारखानाबाट राजीनामा दिएँ । मेरो राजीनामा एक महिनासम्म स्वीकृत गरिएन । “म पूर्विया हुँ । तँलाई काट्छु” भनेपछि मात्र पुरानै मिति कायम हुने गरी राजीनामा स्वीकृत गरियो । त्यसरी म जागिरबाट सधैंका लागि बिदा भएँ ।
प्रकाशमान सिंह जो बाँसबारी छाला तथा जुत्ता कारखानाका महाप्रबन्धक थिए, उनी स्वयम् राजतन्त्रका पक्षपाती थिए । उनले ‘पञ्चायतबोध’ परिचय नामक पुस्तक पनि लेखेका थिए, जो पाठ्यपुस्तकमा पनि राखिएको थियो । सायद मलाई निकाल्ने योजनामा नै उनी व्यवस्थापक भएर सो कारखानामा आएको कुरा त्यसपछि घटनाक्रमले पुष्टि गरेको छ । मेरो सरुवामा ठूलै शक्तिकेन्द्र अर्थात माथिल्लो तहको हात रहेको कुरामा कुनै शङ्का थिएन । कम्युनिस्टहरुमा पनि झापाली हो भन्ने प्रचार थियो ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया