Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

‘प्रभु’ मलाई पत्रकार महासङ्घको सदस्य बन्नबाट बचाऊ


नेपाल पत्रकार महासङ्घको २७ औँ अधिवेशन सम्पन्न भएका छ । विविध कारणले महाधिवेशन घोषणा हुँदै, तालाबन्दी हुँदै, फेरि सर्दै, सदस्यहरुको नाम थपघट, काँटछाँट, प्रकाशन, फेरि विवाद, फेर तालाबन्दी, फेरि राजीनामाको लहर, फेरि थपघट र केरमेट यस्तै परिघटनाका बीच महासङ्घको अस्तित्व नै समाप्त होलाजस्तो अवस्थामा अधिवेशन सकिएको छ । जीवनलाई नै सञ्चारकर्ममा समर्पित गरिसकेका हामी श्रमजीवी पत्रकारका लागि श्रमजीवी पत्रकारको आवाज उठाउने एउटा क्रियाशील साझा थलो आवश्यक थियो र रहिरहनेछ । विघटन र लोप हुनुभन्दा ब्युँतिनु, अस्तित्वमा आउनु राम्रो हुन्थ्यो, यसमा हामी खुसी हुनुपर्छ ।

यस सङ्क्षिप्त लेखोटमा जेजति सन्दर्भहरु छन्, ती महासङ्घलाई सच्चा र इमानदार श्रमजीवी पत्रकारहरुको थलो बनाउनका लागि प्रेरित गर्ने उद्देश्यले लेखिएका वा चर्चा गरिएका हुन् । प्रलेस नामको एउटा संस्था सत्तास्वार्थ, लेखकहरुको अकर्मण्यता र वैचारिक हिजडापनका कारण निकट अतीतमा विघटनको सिकार भएको ताजा अनुभूति सँगालेका हाम्रा लागि सत्ता स्वेच्छाचारिताविरुद्ध अतीतमा सकारात्मक छवि बनाएको पत्रकार महासङ्घबारे चासो र चिन्ता उब्जिनु अत्यावश्यक छ ।

महासङ्घको २७ औँ अधिवेशनको चर्चा चलेदेखि नै मैले मेरो सदस्यताप्रति जिज्ञासा राख्दै आएको थिएँ । लामो योजना र षड्यन्त्रमा विभिन्न बहाना बनाएर मेरो सदस्यता खाइदिएछ महासङ्घले । आश्चर्यचकित पनि भएँ तर निराश बन्ने छूट थिएन मलाई । जनयुद्ध भीषण हुँदादेखि नैं म महासङ्घको सदस्य र पार्षद् नै थिएँ तर आज आएर कसरी गुम्यो होला मेरो सदस्यता भन्ने चासो जाग्नु स्वाभाविकै थियो । यस्तैमा मैले केही अनुभव बटुलेँ । पत्रकार मित्र फणीन्द्र फुयालले आइतबार जारी गर्नुभएको फेसबुकको एउटा सन्देशले छोएपछि यो अनुभूति सार्वजनिक गर्न हुटहुटी लाग्यो । महासङ्घको अधिवेशन सकिएपछि अनुभूति साङ्केतिक रुपमा सार्वजनिक गर्दा ठिकै होला भन्ने पनि लाग्यो ।

संयोगले गतसाता तराईतिर जाने अवसर पर्यो , महोत्तरीमा ज्ञानबहादुर हमाल (परिवर्तिन नाम) नामका एकजना चिनजानका मानिस भेटिए । उनी काठमाडौँदेखि तराईसम्म जग्गा दलाली गर्छन् भन्ने थाहा थियो तर मंैले भेट्दा उनी अरुसँग भने आफू पत्रकार हुँ भन्दै परिचय दिइरहेका थिए । हेर्दा उनको साथमा बकाइदा २०७७ सालमा प्राप्त आधिकारिक सदस्यता परिचयपत्र थियो । महासङ्घको चुनावमा जाने होइन त ? मैले सोधेँ । उनले भने– मानिस तयार गरेर आएको छु ।
रामेछापकी स्थायी शिक्षक हेमन्ता बुढाथोकी (परिवर्तित नाम) ले भने आफूहरु दम्पतीलाई नै महासङ्घको सदस्य बनाएको भन्ने सुनेको भए पनि सदस्यता नवीकरण गर्न कहिल्यै नगएको र मतदान पनि अरुले नै गर्ने गरेको सुनेको बताइन् ।

काठमाडौँ कलङ्कीमा भेटिएका औषधी कारोबारी वीरप्रसाद बन्जरा (परिवर्तित नाम) ले आफूहरु तीस–चालीसजना भएर दुई कार्यकालदेखि नै पात्रहरुविशेषका पक्षमा लागिरहेको तर पत्रकारिताका बारेमा भने खासै जानकारी नभएको बताए ।

बालाजुमा भेटिएकी सानीमाया शर्मा (यो पनि परिवर्तित नाम) गृहिणी हुन् । उनी पनि डेढ दशकदेखि महासङ्घकी सदस्य रहिछिन् । चुनावको दिन लाममा बसेर आफूलाई सदस्य बनाएर आफैँ नवीकरण गराउँदै आएका पात्रविशेषलाई मत दिनुभन्दा पत्रकारिताका विषयमा आफूलाई अरु केही पनि थाहा नभएको उनको प्रत्युत्तर थियो ।

पत्रकार महासङ्घको इतिहासमा पार्टीविशेष र पात्रविशेषले आ–आफ्नो स्वार्थका लागि पत्रकार–गैरपत्रकारलाई सदस्य बनाउने, प्रायः सबैले त्यसैको देखासिकी गर्ने भएकाले तैँ चुप मैँ चुप हुने वा देखेको नदेख्यै गर्ने, अर्को पक्षले बढी सदस्यता वितरण गरेको र आफ्नो पक्ष कमजोर हुन्छ भन्ने लागेपछि तालाबन्दी, विरोधजस्ता सदाबहादर कला र अर्थविहीन नौटङ्की गर्ने प्रचलनजस्तै भइरहेको नमीठो इतिहास यी तीस वर्षबीचमा मैंले भोगेका तीता अनुभूति हुन् । महासङ्घले पत्रकार हकहितका पक्षमा भन्दा गुटगत स्वार्थ र संसद्वादी पार्टीकारितामा आफूलाई बढी अग्रसर गराएको अवस्था हामीले भोग्दै आएका हौँ । तीन वर्षसम्म कहीँ कतै नदेखिने तर अधिवेशनका नाममा नीति–कार्यक्रममाथि कम र नेतृत्वमाथि बढी बढी बहस र चासो राखिने चुनावमा जङ्गलमा मानिसको संसर्गले रुखका पातपातबाट एकाएक सर्सराउँदै खनिने जुकाजस्तै विभिन्न अनुहारका गैरपत्रकार, झूट्टा पत्रकारको मेला लाग्ने गरेको अनुभूति पनि हामीसँग ताजै छ । सम्भवतः यिनै खराब विरासतको होडबाजीमा महासङ्घका अध्यक्ष, महासचिवहरुले अधिवेशन नाममा चुनाव गराउन नसकेर राजीनामा दिएको हुनुपर्छ र स्वार्थ मिलेपछि चुनाव गराइएको हुनुपर्छ ।

यी त भए गतसाताका केही वार्तालाप र अनुभूति । यी घटनाले पत्रकार महासङ्घका आजका कतिपय सदस्यहरु र यिनले चुनेर पठाउने प्रतिनिधिको अवस्था सार्वजनिक गर्न मद्दत पुर्याउलान् । ती पात्र कुन पार्टी वा विचार निकट थिए भन्ने कुराले यहाँ के महत्व राख्ला र जब उनीहरु पत्रकारिताजस्तो संवेदनशील क्षेत्रलाई मजाकको विषय बनाइरहेकोमा गर्व गरिरहेका छन् !

मैंले पत्रकारिता सुरु गरेको २०४५ सालदेखि हो । काठमाडौँ अनामनगरबाट अन्तर्राष्ट्रिय मञ्च नामको सामान्यज्ञान विशेष मासिक पत्रिका निस्किन्थ्यो, सायद हिजोआज पनि निस्किन्छ होला । त्यतिबेला म उपसम्पादकको हैसियतको प्रुफरिडर थिएँ, यद्यपि बाध्यताले तर खुसीसाथ कार्यालय सहायकदेखि हुलाकीसम्मको काम गर्थें र बिहानबिहान पाटन संयुक्त क्याम्पसमा स्नातक तहको अध्ययन पनि गर्थें ।

अन्तर्राष्ट्रिय मञ्च छोडेपछि मैंले युगसन्देश, महिमा, जनमुक्ति, पृष्ठभूमि, हाँक, नयाँ हाँक, नयाँ मोर्चा, नेपालीपत्र, प्रतियोगिता मञ्च, प्रभातकालीन, सन्ध्याकालीन, सगरमाथा, हिमालय टाइम्स, नयाँ परिवेश, नौलो बिहानी, जनादेश, जनदिशा, अन्नपूर्ण पोस्ट, साँघु, नेपाल टेलिभिजन, एबीसी टेलिभिजन, अमेरिकास्थित सगरमाथा टेलिभिजन, जनपुष्प, विप्लवी, जनशिक्षा, रातो खबर, इरातो खबर, श्री मधुश्रीलगायत दर्जनौँ पत्रिकामा कहीँ भाषा सम्पादक, कहीँ संवाददाता, कहीँ सम्पादक, कहीँ सम्पादक/प्रकाशक, कहीँ कम्पनीकै सम्पादकको हैसियतले पनि काम गरेँ/गरिरहेको छु । रुचिले सिर्जना र सांस्कृतिक अभियान सञ्चालन, विचारले मालेमा पक्षधर राजनीति, पेसाले सञ्चार यी मेरो जीवनका पर्यायजस्तै बनेका छन् । कयौँ जिल्लामा अझै पनि मेरो सम्पादकत्वका पत्रपत्रिका प्रकाशित भइरहेका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको ढड्डा पल्ठाएर हेर्ने हो भने २० वटाभन्दा बढी पत्रिकाको सम्पादक हुँ म । नेपाल पत्रकार महासङ्घले सदस्यताको इतिहास राख्न थालेको २०५६ सालदेखि हो जस्तो लाग्छ मलाई । म त्यही वर्षदेखि श्रमजीवी पत्रकारका रुपमा महासङ्घको औपचारिक सदस्यमा सूचीकृत भएको थिएँ । काठमाडौँ जिल्लाबाट तीन हो वा चारपल्ट म केन्द्रीय परिषद् सदस्य (पार्षद्) निर्वाचित भइसकेको छु र मलाई राष्ट्रिय पार्षद्को प्रमाणपत्र पनि दिइएको छ । कतिपय प्रमाणपत्र मसँग सुरक्षित पनि छन् । राज्यसत्ताको दमन र आतङ्कका कारण, विशेषतः भट्टेडाँडाको लडाइँ र जनादेश छापामारी काण्डमा बेपत्ता बनाइएपछि युद्धकालीन केही समय र जनक्रान्तिकालीन केही समय दृश्यमा रहेर पत्रकारिता गर्ने अवस्था भएन तर अन्य समयमा म काठमाडौँ केन्द्रित भएर पत्रकारिताकर्ममै क्रियाशील छु । अहिले पनि पत्रकार महासङ्घको वेबसाइटमा उपलब्ध सूचीमा काठमाडौँ जिल्लाको २९ औँ नम्बर सदस्यता मेरै नाममा छ ।

यसलाई विडम्बना भनौँ कि के भनौँ, ३६ वर्षभन्दा लामो सक्रिय पत्रकारिता जीवनमा पहिलोपटक नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले मेरो सदस्यता खाइदिएछ । मभन्दा धेरै पछि पत्रकारितामा प्रवेश गरेका साथीहरु, मेरा सहकर्मीहरुसमेत तीनचारजना महासङ्घको केन्द्रीय अध्यक्ष र विभिन्न जिम्मेवारी समाल्ने अवस्था रहिसकेको अवस्थामा महासङ्घको नीति–नेतृत्वप्रति जानकार हुन खोज्नु, चनाखो हुनु, रुचि राख्नु मेरा लागि स्वाभाविक हो । यद्यपि पदका लागि हिँहिँ गर्दै विभिन्न खोपीहरुमा गएर गोडा मोल्ने, दिनरात वैधअवैध स्रोतबाट पैसा जम्मा गरेर पाटी गराउने, वैधअवैध व्यक्तिहरुलाई सदस्यता वितरण गरेर सालिन्दा आफैँ नवीकरण गरिदिनेलगायत जघन्य कृयाकलापदेखि म टाढै छु । निष्ठाको सञ्चारकर्म मेरो आदर्श हो । पेसा, कर्म, निष्ठाप्रतिको स्वाभिमानकै कारण सम्भवतः मेरो सदस्यता कसैले नियतवश चपाइदियो । मैंले यति उल्लेख नगरेको भए यो सन्दर्भ त्यत्तिकै मेटिएर जाने थियो । मेरोजस्तो अवस्था अरु धेरै साथीको भएको सुनेको छु ।

मैंले यस विषयमा महासङ्घको काठमाडौँ शाखा, केन्द्रीय निर्वाचन समिति, महासङ्घ केन्द्रीय समिति र मैंले चिनेजानेका पत्रकार साथीहरुसँग सामान्य कुरा र उजुरी पनि पठाएँ । महासङ्घको केन्द्रीय कार्यालयमै गएर पनि के भएको हो भनी बुझ्न लगाएँ । सदस्य पत्रकारहरुको सूची पनि हेरेँ । कतिपय विषयमा म आफू छक्क पर्ने गरी सूचीमा रहेका पात्रहरुको नाम देख्दा र उजुरी गर्दा पनि मेरो सदस्यता कहिले केन्द्रीय समितिबाट बहाल गरेर पठाइने र जिल्लाबाट काटेर पठाइने गरेकोसम्म थाहा भयो । यसमा म कुन अर्थमा दुःखी छैन भने महासङ्घको सदस्य नभए पनि असली अर्थमा म श्रमजीवी पत्रकार नै हुँ । सञ्चारकर्म मेरो जीवनको पर्याय बनिसकेकाले म यसबाट पृथक् हुन सम्भव छैन ।

उसो भए नेपाल पत्रकार महासङ्घ अर्थात् महासङ्घका केही व्यक्ति जसको म यहाँ नाम उल्लेख गरेर महत्व बढाइदिन चाहन्नँ अझ भनौँ, जीवनमा जो असली अर्थमा पत्रकार नै होइनन् वा कारोबारी वा धन्धावालहरू हुन् (यसो भन्दा इमानदार पत्रकारहरुमाथि आक्षेप लगाएको नठहरियोस्), तिनको स्वार्थमा मेरो नाम काटिएको जानकारी पाएपछि मैंले पत्रकार महासङ्घका सदस्यहरुको सूची हेर्ने इच्छा राखेँ । मैंले पटकपटक विभिन्न मितिमा केरमेट, थपथाप, फेरि केरमेट, फेरि थपथाप, फेरि केरमेट गरिएका सूचीहरु प्राप्त गरेँ । पात्रहरुको नाम त यहाँ उल्लेख गर्न आवश्यक छैन, आवश्यकताअनुसार उपलब्ध गराउन पनि सकिन्छ तर महासङ्घको एउटा शाखाको सूची हेर्दा मैंले फेला पारेका वा चिनेका पात्रहरुको केही प्रवृत्तिगत चित्रण गर्दा महासङ्घ कस्ता पात्रहरुको बिर्ता वा मौजा बनेको छ (समग्र महासङ्घप्रति आक्षेप लगाएको अर्थ नलगाइयोस्, लगाइयो भने पनि मेरो कुनै आपत्ति छैन) र यसको भविष्य कस्तो होला भन्ने आँकलन गर्न सजिलो होला भन्ने लागेर महासङ्घको कथित चुनावपछि र विशेषतः प्रिय पत्रकार भाइ तथा मित्र फणीन्द्र फुयालले ‘काठमाडौँ महासङ्घको चुनावका लागि लाममा बसेका धेरै मान्छे नयाँ–नौला, पहिले कतै नदेखिएका जस्ता लागे, कतिपयको तस्बिर पनि खिचेको छु’ भन्ने सन्देश सामाजिक सञ्जाल फेसबुकमा प्रवाह गर्नुभएपछि खसखस लागेर यति कोर्ने धृष्टता गरेको हुँ :

१) महासङ्घमा आबद्ध कयौँ मानिस पत्रकार होइनन्÷छैनन् । केही ठेकेदारले चुनाव जित्नका लागि बनाएका नक्कली पत्रकार हुन्, भलै ती अमूक संसद्वादी पार्टीमा आबद्ध होऊन् । तिनीहरुलाई पत्रकारिताका बारेमा केही पनि थाहा छैन । कसैले आफ्नो स्वार्थमा सदस्य बनाइदिन्छ । बर्सेनि आफैँ पैसा तिरेर नवीकरण पनि गराइदिन्छ र चुनावको समयमा पात्रहरू उभ्याएर मतदान गर्ने व्यवस्थाको सेटिङ पनि मिलाउँछ । माथि चर्चा गरिएका केही पात्रको प्रतिक्रिया वा अवस्थाले पनि यिनै कुराको सन्देश प्रवाह गर्छन्जस्तो लाग्छ ।

२) महासङ्घमा एकथरी गैरपत्रकार राज्यका विभिन्न निकायमा सूचना पु¥याउने जिम्मेवारीमा रहेकाहरू रहेको पाइन्छ । महासङ्घको सदस्य भएपछि कार्यक्रमहरूमा सहजताका साथ पहुँच पाउने र सान बढ्ने भएकाले तिनले विभिन्न पात्रसँग त्यस किसिमको सेटिङ मिलाउँछन् र सदस्यता प्राप्त गर्छन् । काठमाडौँलगायत विभिन्न स्थानमा विभिन्न सङ्घसङ्गठन, निकायले आयोजना गर्ने कार्यक्रमहरुमा उनीहरु प्रवेश गर्छन् र आफ्नो निकायमा रिपोर्टिङ गर्छन् ।

३) अर्काथरी छन् जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, अनुसन्धान, ठेकेदार, व्यापारी, वैधअवैध कारोबारी, जग्गा दलाल, मानव तस्कर, स्वास्थ्य–शिक्षालगायत क्षेत्रमा पहुँच विस्तार गरी जीविकोपार्जन गर्न पल्किएका ठगहरु । व्यापारीहरुलाई सताउने र सरकारी–गैरसरकारी संस्थाहरूले गर्ने कार्यक्रमसम्म पहुँच पुर्याएर उदरपूर्ति/स्वार्थपूर्ति गर्नु, विभिन्न राजनीतिक पार्टीका नेताहरू, गाउँपालिका अध्यक्ष, नगरपालिकाका मेयर, प्रदेश र सङ्घीय सांसद, मन्त्रीसम्म पहुँच पुर्याएर ठेक्का र कमिसनमा समेत दखल राख्न यो तप्का क्रियाशील छ र यसले पनि पत्रकारिताको आवरणलाई नै सबैभन्दा सुरक्षित र सम्मानित महसुस गरेको पाइन्छ ।

४) एकथरी सदस्य छन् भारतीय र नेपाली औषधीजन्य सामान उत्पादकलगायत कम्पनीका ब्रोकर तथा व्यवसायी । नेपालमा ती कम्पनीको सञ्जाल ठूलै होला भन्ने अनुमान गर्न सकिन्छ किनकि मैंले चिनेका मात्र पनि दसजना हाराहारी पात्र त्यसका कामदार छन् र तिनलाई पत्रकारिता के हो भन्ने कुनै जानकारी छैन । पत्रकारिताका आधारभूत सिद्धान्त, पत्रकारका काम, कर्तव्य र अधिकार वा जबाफदेहिताका बारेमा कुनै जानकारी नराख्ने ती मनुवा वास्तवमा भारतीय कम्पनीका नेपाली ब्रोकर हुन् । तिनको एउटा ठूलै जमात छ– २०–३० जनाजतिको, ती ब्रोकरका केही अगुवा हुन्छन् । कम्पनीका माल उडाएर प्राप्त भएको रकम वा बोनसका रूपमा फेला परेको रकमले दैनिकजसो पाटी हुन्छ र त्यो पनि रसपानसहितको । ती कोही पनि पत्रकार होइनन् । कुनै पनि सञ्चारमाध्यम वा पत्रपत्रिका/अनलाइनमा तिनका समाचार छापिँदैनन् । तिनले आफ्नो पैसाले कहिल्यै सदस्यता नवीकरण गर्दैनन् ।

तिनको जम्मा काम भनेको चुनावको केही दिनअघिदेखि सञ्चारग्राम, भृकुटीमण्डपआसपास वा जिल्ला सदरमुकाममा भेला हुनु, यसपालि फलानाले जित्ने पक्काजस्तै देखिन्छ भन्दै लगानीकर्ता वा मालिकका पक्षमा वातावरण तयार पारिदिनु, चुनावका दिन ठेकेदारका सौ–डेढ सौ फर्जी सदस्यका तर्फबाट मतदान गरिदिने पात्रहरूको वातावरण निर्माण गरिदिनु, दैनिक फलानाले जित्ने पक्काजस्तै छ भन्दै सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट प्रचार गरेर साँझको रसपानको सुनिश्चितता गर्नु र बेलुका दातालाई बारबार अग्रीम बधाई दिँदै सस्तो–महँगो पाटी सफल पार्नु तिनको काम हो । ठेकेदारले चुनाव जितेमा विजयजुलुसमा तिनै गैरपत्रकारहरू अघिल्लो पङ्क्तिमा देखिन्छन् । फेरि चुनाव नहोउन्जेल हराउँछन् किनकि ती पत्रकार होइनन् । फडिन्द्रजीले रिपोर्टिङमा कहीँकतै नदेखेका तर मतदानस्थलमा देखेका तिनैमध्येका केही पात्र हुन् ।

रसपान हुन छोडेको दिनदेखि ती सबै ब्रोकरहरू पुरेतको गोठबाट फुकाइएका गाईबाछाजस्तो आआफ्ना थलातिर कुद्नेछन् । चुनावको बेला पत्रकार हुँ भन्दै दुगुर्ने ती पात्रहरु नै ए, बी वा सीका निर्णायक र स्थायी लाग्ने मतदाता हुन् ।

५) विभिन्न पार्टीको केन्द्रीय तहको जिम्मेवारी लिएका, विभन्न प्रतिष्ठानमा सम्मानित रूपमा दैनिक कर्म गरिरहेका, विभिन्न व्यवसायमा लागेका, देशभन्दा बाहिर रहेर पेसा–व्यवसाय गरिरहेका, क्रियाशील पत्रकारिता जीवनबाट टाढा रहेका, राज्यको नियुक्ति खाएर दूरदराजमा पुगेका, पत्रकारितासँग कुनै साइनोसम्बन्ध नभएकालगायत पात्रहरूलाई महासङ्घको सदस्यता बनाउनु महासङ्घको नेतृत्व कब्जा गर्ने योजना र फर्जी पत्रकारका फर्जी मतले नेता बन्ने फर्जी रहरभन्दा बढी केही होइन ।

कुनै अमूक पार्टीका नाम र ढाडसमा सत्य र तथ्य खुल्नासाथ लाजमर्दो अवस्थाका पात्रहरूलाई सदस्यता वितरण गर्दा पनि आँखा चिम्लिने, सत्य पत्ता लगाउन वा सार्वजनिक गर्न नसक्ने यही अवस्थाको महासङ्घको निकायबाट अब के आशा गर्ने ? त्यसप्रकारका मतदाताबाट निर्वाचित भनिएका पात्रहरूबाट कस्ता पत्रकारको हकहितका लागि आवाज उठ्ला र पेसागत पत्रकारिताको विकास होला भनेर ढुक्क हुने ? नक्कली मतदाताबाट चुनिएको डबल नक्कली नेतृत्वले कसरी, कसका लागि बोलिदेला, लडिदेला भनेर श्रमजीवी पत्रकारहरु विश्वस्त हुने ?

यहाँ मैंले आफ्नो सन्दर्भ उठाएको चाहिँ विषय खोतल्नका लागि मात्र हो । यो अवस्था कायम रहिरहने हो भने पत्रकार महासङ्घको सदस्य वा नेता छु भनेर गर्व होइन, अपमान महसुस गर्नुपर्छ । झुक्किएर वा संयोगले कुनै सक्कली पत्रकार सदस्य बनिहाल्यो भने वा निर्वाचित भइहाल्यो भने यस्ता गैरपत्रकार र पत्रकारिताभन्दा बाहिरका विभिन्न क्षेत्रको स्वार्थका लागि प्रायोजन गरिएका पात्रहरूसँगको सहकार्यबाट पत्रकारिता क्षेत्रको विकासका लागि के मद्दत पुग्ला भनी अपेक्षा गर्ने ? यो त भद्दा प्रहसनभन्दा बढी केही होइन । त्यसैले म ‘प्रार्थना’ गर्छु– ‘प्रभु’ ! मलाई गैरपत्रकारहरूको भीडबाट बचाऊ । मलाई पत्रकार नै रहन देऊ । मलाई पत्रकार महासङ्घको सदस्य बन्नबाट बचाऊ !


क्याटेगोरी : जनमञ्च, बिचार

प्रतिक्रिया


ताजा अपडेट