Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

श्रमजीवी पत्रकारहरूको आत्मसम्मान : नेतृत्वको चरित्रको परीक्षा


योगेश खपाङ्गी

भर्खरै नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व आएको छ । तर, यो पटकको महासंघको चुनावमा विभिन्न पार्टीहरूले नांगो नाच देखाएका छन् । यसबाट नेपालको पत्रकारिता क्षेत्र सधैंभन्दा अहिले झन् चुनौतीपूर्ण मोडमा पुगेको छ । श्रमजीवी पत्रकारहरू, जसले आफ्नो जीवन र आत्मा यो पेशामा समर्पण गरेका छन्, उनीहरूको योगदानको सम्मान गरिनेभन्दा पनि उपेक्षा हुने क्रम बढ्दो छ । पत्रकारिता छाडेको वर्षाैं भइसक्दा पनि नेतृत्व तहमा रहेका केही व्यक्तिहरूको असम्वेदनशीलता र कर्पोरेट प्रभावका कारण श्रमजीवी पत्रकारहरू आफैं असुरक्षित महसुस गर्न बाध्य भएका छन् । यही अन्यायका विरुद्धमा थुप्रै साथीहरूले आवाज उठायौं । यसबाट श्रमजीवी पत्रकारहरूको वर्गीय पक्षधरता र एकताको नयाँ आयामको आधार निर्माण भएको छ ।

नेपाल पत्रकार महासंघ केही वर्ष यता प्रत्यक्ष पार्टी र कर्पाेरेटको छायाँमा परेकाले असफल जस्तो भएको छ । कुनै राजनीति, विचारमा आवद्धता गलत होइन । तर, सामाजिक संघ, संस्थालाई अति राजनीतीकरण नगरी स्वायत्ततामा लैजान पहल गर्नुपर्छ । महासंघले हजारौं श्रमजीवी पत्रकारहरूको हकहितका लागि प्रभावकारी कदम चाल्न असफल भएको अवस्था छ । उल्टै, कर्पोरेट घरानाको प्रभावमा परेर श्रमजीवी पत्रकारहरूको प्रयासलाई कमजोर बनाउने काम गरिएको छ ।

जन्मदेव जैशीदेखि टीकाराम प्रधान, प्रवीण चौधरी, फडिन्द्र फुयालसहित हामी क्रियाशील पत्रकारहरूले महासंघमा आफ्नो स्थान बनाउन संघर्ष गर्दा प्रेस सेण्टर र यसको वैचारिक नेतृत्व गर्ने सरोकार संस्था वा त्यसको नेतृत्व तहले हाम्रो आवाज सुन्नसमेत आवश्यक ठानेन । सुरुमा हामीलाई केही थान ‘किढे–मकोडे’ जस्तै सम्झेर उपेक्षा गरियो । तर, जब–जब हाम्रो समूहले श्रमजीवी र क्रियाशील पत्रकारहरूमा प्रभाव जमाउन थाल्यो, त्यसपछि समूहका एक–एक व्यक्तिलाई फुटाउने, थर्काउने नीति अवलम्बन गरियो तर हामीलाई बोलाएर छलफलसम्म गरिएन । बरु निषेधको बाटो अवलम्बन गरियो ।

कान्तिपुर मिडिया हाउसमा लामो समयसम्म काम गर्नुभएका टीकाराम प्रधान, जसले सधैं श्रमजीवी पत्रकारहरूको पक्षमा लड्दा निकालिनु भएको थियो, उहाँलाई समेत उम्मेदवार बनाउन रोक लगाइएको घटनाले सेन्टरकाे वर्तमान नेतृत्वको चरित्रलाई अझ प्रस्ट पारिदिएको छ । हामी पत्रकारहरूलाई महासंघमा उठ्न खोज्दा उपेक्षा मात्र गरिएन कि हामी स्वतन्त्र उठिसकेपछि हाम्रा विरूद्ध यति कडा उर्दी जारी गरियो, मानौं हामीले हार्दा प्रेस सेण्टर र यसको वैचारिक नेतृत्व गर्ने माओवादी केन्द्रको प्रचार विभागको नेतृत्वले जित्छ जसरी कडा निर्देशनसहित देशव्यापी अभियान चलाइयो । जबकि यहाँ हामीलाई उपेक्षा गर्नुपर्ने र हराउनै पर्ने भन्ने थिएन । किनकि यो लडाइँ विचारको थियो । हामीले जित्दा अन्ततोगत्वा सेण्टरले उठाएको एजेण्डाले नै जित्ने थियो । श्रमजीवी पत्रकारहरूकै जीत हुने थियो । तर, यससलाई व्यक्तिगत ‘रिस–राग र डाह’को रुपमा लिइयो । यसलाई सेण्टरको जिम्मेवार नेतृत्वको पाको क्रियाकलापको रुपमा लिन सकिदैन ।

तर, यी सबै घेराबन्दीका बाबजुद, श्रमजीवी क्रियाशील पत्रकारहरूले जुन आत्मसम्मान र आत्मविश्वासका साथ अभिमत दिनुभयो, त्यसले श्रमजीवी क्रियाशील पत्रकारहरुको शक्ति अझ प्रस्ट पारिदिएको छ । यो केवल व्यक्तिगत सफलताको कुरा होइन, यो श्रमजीवी पत्रकारहरूको एकताबाट आएको सामूहिक निर्णय हो । हामीमध्ये कसैले पनि पत्रकारिता क्षेत्र वाहेकका विभिन्न पेशामा आवद्ध ‘पत्रकार’ हरुलाई सदस्य बनाएका थिएनौं । विभिन्न पेशामा आवद्ध ‘पत्रकार’हरूलाई महासंघको सदस्यता बनाएर लाइन लगाएर मत दिने/दिलाउने ‘ठेकेदार’ , ‘सदस्यहरु’, कसैको मत हामीलाई आएन ।

श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्न महासंघमा जानैपर्छ भन्ने पनि होइन । तर, हामीले श्रमजीवीहरुको अधिकारको रक्षाका लागि आ–आफ्नो सञ्चार माध्यममार्फत पनि आवाज उठाइ रहन्छौं । वर्गीय पक्षधरता भनेकै श्रमजीवी वर्गका हकहितको पक्षमा उभिनु हो । यस दृष्टिकोणका साथ हामी श्रमजीवी क्रियाशील पत्रकारहरूले ठूलो सिण्डिकेट र घेराबन्दीको विरुद्धमा आफ्नो स्थान निर्माण गरेका छौं । हाम्रो यो प्रयासले श्रमजीवी पत्रकारहरूको लडाइँलाई मात्र होइन, सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ ।

हरेक संस्थाको नेतृत्वमा रहेका व्यक्तिहरूले पारदर्शिता र जवाफदेहिताको खाँचो महसुस गर्नुपर्छ । श्रमजीवी क्रियाशील पत्रकारहरूलाई मनोबल उठाउने कार्य नगर्दा जनपक्षीय, खटी खाने श्रमजीवी पत्रकारिताको भविष्यलाई झन् कमजोर बनाउन सक्छ । लुम्बिनीमा जसरी प्रेस सेण्टरको केन्द्रबाट अनावश्यक हस्तक्षेप गरियो, राम्रो भएन । कर्णालीमा उठेको विद्रोहको झिल्को सामान्य हो र ? मधेस प्रदेश, कोशीसहित बागमती, उपत्यका प्रदेशमा मात्र होइन छलफल गरेर आन्तरिक एकतालाई सुदृढ गरेको भए जिल्ला र प्रदेशको मात्र होइन, केन्द्रको परिणाम समेत अर्कै हुन्थ्यो । क्रियाशील श्रमजीवी पत्रकारहरूको संरक्षण र कर्पोरेट प्रभावविरुद्ध नीति निर्माण, ठोस कदमहरूलाई प्राथमिकतामा राखेको भए, उपेक्षा नगरेको भए यो ढंगको विद्रोह हुने पनि थिएन ।

श्रमजीवी पत्रकारहरूको महासंघमा पुग्नैपर्छ भन्ने कुनै अन्तिम लक्ष्य होइन । ठूला सिण्डिकेट र कर्पोरेट प्रभावका बीच श्रमजीवी पत्रकारहरूले जुन आत्मसम्मान र हिम्मतका साथ आफ्नो स्थान बनाउन सफल भइएको छ, यसले नयाँ प्रस्थान विन्दु बनाएको छ । यो हाम्रो संघर्षले सम्पूर्ण पत्रकारिता क्षेत्रमा उत्पीडित, उपेक्षित वर्ग र समुदायको पुनर्निर्माणका लागि बलियो आधार बनाएको छ ।

आफ्नो श्रम र सत्यतामा अडिग रहेका श्रमजीवी पत्रकारहरूले पत्रकारिता क्षेत्रलाई नयाँ दिशामा लैजाने सम्भावनाको ढोका खोलेको छ । श्रमजीवी पत्रकारहरुको यो अभियानले वर्गीय पक्षधरता र स्वतन्त्रताको पक्षमा बलियो जग बनाएको छ । पत्रकारिताको यो नयाँ युगले कर्पोरेट प्रभाव र नेतृत्वको असंवेदनशीलता तोड्दै न्याय, समानता र पारदर्शिताको पक्षमा अघि बढ्नुपर्ने आजको समयको माग हो ।

यो पनि पढ्नुहोस, नेपाल पत्रकार महासंघको संकटः सिण्डिकेटधारी स्वार्थको असर


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट