माओ दिवस र क्रान्तिकारी केन्द्र निर्माणको प्रश्न
विश्वभरिका माओवादी क्रान्तिकारीहरू २६ डिसेम्बरका दिन विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङको को सम्झना गर्ने गर्छन् र हामी पनि आआफ्नो स्थिति अनुसार १३१ औँ माओ दिवस मनाइरहेका छौं । माओ दिवससँगै “क्रान्तिकारीहरू एक जुट होऔं” भन्दै पार्टी एकताको आह्वान गर्नुका साथै संयुक्त मोर्चा र सहकार्यका सन्दर्भहरू पनि चल्ने गर्दछन् । यो एउटा थेगोजस्तो पनि भएको छ ।
माओवाद र माओवादी पार्टीका नाममा अनेक भ्रम र वितण्डा मच्चाउने गरिएको वर्तमान स्थितिमा सही अर्थका माओवादी क्रान्तिकारीहरूको केन्द्र बनाउनु आवश्यक थियो र छ, यसको आवश्यकता यतिखेर झन् बढेको छ । यो वस्तुगत स्थितिको माग हो । तर, क्रान्तिकारी पुनर्गठन, एकता र संयुक्त मोर्चाका लागि गरिनुपर्ने ठोस पहल र व्यावहारिक क्रियाशीलताको अभावमा छरिएर रहेका माओवादी क्रान्तिकारीहरू एक जुट हुन सकेको अवस्था छैन र पछिल्लो समयमा यो झन् छरपस्ट हुन पुगेको स्थिति छ । यसले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूलानई थप उत्साहित पारेको कुरा उसका पछिल्ला व्यवहारबाट अनुभूत गर्न सकिन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनले ७६ वर्षको इतिहास पार गर्न थालेको छ । यो इतिहास आफैँमा वर्गसङ्घर्षको इतिहास हो । यसले कहिले दक्षिणपन्थी अवसरवाद र कहिले ‘वाम’ अवसरवाद विरुद्ध सङ्घर्ष गर्नुपर्यो, मूलतः यसले दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गर्नुपर्यो र अहिले पनि यसका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । देशकाल परिस्थिति अनुसार यसको स्वरूप र चरित्रमा फेरबदल हुन सक्छ तापनि आधारभूत र प्रमुख रूपमा दक्षिणपन्थी अवसरवाद नै नेपाली कम्युनिस्ट आन्दोलनमा प्रमुख खतरा रहेको कुरा हामी वर्तमानको इतिहासबाट पनि अवगत गर्न सक्दछौँ र अहिलेको यथार्थ पनि यही नै हो ।
हाम्रो नारा ‘माओवादीहरू एक ठाउँ हुनुपर्छ’, अथवा ‘क्रान्तिकारीहरू एक जुट होऔँ’ भन्ने हुने गर्दछ । दुस्मनले लखेट्न थाल्दा अझ हामी यो नारामा जोड दिन्छौँ । तर, वैचारिक-राजनीतिक पक्षमा मात्र नभएर रणनीतिक पक्ष र कार्यदिशामै हामीबीच भिन्नता छ भन्ने कुरा पनि खुलस्त छ । यसो हुनुका पछाडि आत्मकेन्द्रित व्यक्तिवाद पनि कारक पक्ष रहेको छ । नारा र चाहनाले मात्र हुने स्थिति छैन । हिजोको जनयुद्ध आरम्भ गर्दाको शक्ति कोही मार्क्सवादको आवश्यकता र औचित्य खारेज गरेर नव-प्रतिक्रियावादमा पतन भएका छन्, कोही अवसरवादको अभ्यास गरिरहेका छन्, कोही आत्मगत स्थितिको हवाला दिंदै सारसङ्ग्रहवाद र अनुभववादी मोहजाल र गोल्चाक्कवादबाट उम्किनै नसक्ने स्थितिमा पुगेका छन् । यो पनि अहिलेको यथार्थ हो ।
माओवाद र माओवादी पार्टीका नाममा जसले संसदीय राजनीति अँगालेर यसैबाट सबै कुराको प्राप्ति र पूर्णता खोजिरहेका छन्, उनीहरूको कुरै छाडौँ, उनीहरू परिवर्तन र क्रान्तिकारी रूपान्तरणको दिशाबाट पूरै टाढिएका छन् , बेलाबेलामा उनीहरूले प्रयोग गर्ने गरेका सङ्घर्ष र आन्दोलनका कुरा गफाडीका गफमा परिणत भएका छन्, त्यो उनीहरूको कार्यकर्तालाई अल्मल्याउने मेलो मात्र हो । सत्य के हो भने वैचारिक/ राजनीतिक प्रश्न मात्र नभएर, माओवादी घटक भनिएका पार्टीहरू, चाहे संसदीय धारका हुन्., चाहे संसदवादी राजनीतिका विरोधी हुन्, सबैजसो पार्टीहरू आन्तरिक अन्तर्कलह र अन्तर्विरोधमा रुमलिएका छन्, भित्रको समस्यामै उनीहरू जेलिएका छन् र समय काटिरहेका छन् । यस्तो अवस्थामा क्रान्तिकारी ध्रुवीकरण अथवा क्रान्तिकारी केन्द्र बनाउने कुरा निकै जटिल छ र पनि यो आवश्यक छ ।
प्रस्टताका साथ भन्नुपर्दा मात्रात्मक रूपमा फरक होला, माओवादी नाम राखेका विभिन्न घटकभित्र माथिल्लो पङ्क्तिबाट आश गर्ने ठाउँ अब हराइसकेको बोध हुन थालेको छ, थाकेका र अकर्मण्यमा फसेका देखिन्छन् सबै । कतिपयका लागि संसदीय राजनीतिमै सबकुछ देखिन थालेको छ । कोही कहाँ जाने हो बिना टुङ्गो दुइचार जना अघिपछि लगाएर जङ्गलमा भौतारिएका जस्ता देखिन्छन् र कोही अनुभववादी-सारसङ्ग्रहवादी गोलचक्करमा फसेका छन् । तथापि मध्ये पङ्त्तिभित्रको पनि एउटा पङ्त्ति र जनस्तरीय तलको एउटा पङ्त्ति अझै माओवाद र जनयुद्धको मूल्यप्रति प्रतिबद्ध छ र सङ्घर्षशील र जुझारुपनले युक्त छ । यो कुरा संसदीय राजनीतिबाहिर रहेका माओवादी पार्टीका सम्बन्धमा त सही छ नै संसदीय राजनीतिमा चुर्लुम्म डुबेको ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सन्दर्भमा पनि लागू हुन्छ, त्यहाँ अर्झै पनि जनस्तरीय तहका कार्यकर्ताहरूमा जुझारुपन समाप्त भइसकेको छैन भन्ने देखिन्छ र बुझिन्छ । यो सकारात्मक पक्षलाई केन्द्रमा राखेर इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व नेपालका सही अर्थका माओवादीहरूका सामु छ र यसले इतिहासको विश्लेषण र संश्लेषणका साथ गहन आत्मसमीक्षाको माग गर्दछ । यसले नै क्रान्तिकारी पुनर्गठन र क्रान्तिकारी ध्रुवीकरणमार्फत क्रान्तिकारी केन्द्र निर्माणतर्फ लैजान्छ ।
क्रान्तिकारी पुनर्गठन आजको आवश्यकता हो । जेजति जोडजाड गरे पनि र थपघट गरे पनि हुने भनेको संख्यात्मकता मात्र हो, त्यो पनि न्यूनतम मात्रा मात्र हो, गुणात्मक स्थिति पैदा हुने अवस्था छैन । क्रान्तिकारी पुनर्गठनबिना गाडी लामो समयसम्म चल्ने स्थिति छैन, आवश्यकता क्रान्तिकारी छलांग र क्रमभंगको छ र यसले घनिभूत बहसछलफल र व्यवहारको माग गर्दछ । यसमा सबैभन्दा पहिलो आवश्यकता र प्राथमिकता भनेको हिजो दसबर्से जनयुद्ध लडेका र अझै क्रान्तिकारी अभियानलाई अघि बढाउनुपर्छ भनेर क्रियाशील पार्टी, समूह र व्यक्तिहरूबीचको साझा बहस, छलफल र समझदारी र क्रियाशीलता हो । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र सशस्त्र सङ्घर्षको कार्यदिशाप्रति साझा अभिमत र समझदारीलाई प्रस्थानबिन्दु बनाउनु आवश्यक हुन्छ ।
सङ्घर्षको स्वरूप के र कस्तो हुने विषय छलफलको विषय हुन सक्छ र हुनुपर्छ । मूल कुरा माओवादी जनयुद्धको मूल्यप्रतिको प्रतिबद्धता हो । हामिले लडेको हिजो इतिहास मात्र होइन, परिस्थिति अनुसारको निरन्तरता पनि हो । यो निरन्तरताप्रति गम्भीरताको आवश्यकता छ । नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकका सन्दर्भमा हामीले हिँड्ने बाटो भनेको माओले देखाएको बाटो नै हो । यो नेपाली समाजको विशिष्टतामा हुन्छ । माओवादी जनयुद्ध निश्चित मूल्यमान्यता, विधि, पद्धति र वैज्ञानिकतामा आधारित युद्ध हो । हरेक सङ्घर्ष जनयुद्ध होइन र वर्गसङ्घर्षको हरेक स्वरूपले माओवादी जनयुद्धको मूल्य र विधिलाई समेट्दैन/समेट्न सक्तैन । नेपाली समाजको स्वरूप र नयाँ जनवादी क्रान्ति र जनयुद्धका सम्बन्धमा कतिपय कमरेडहरूमा रहेको बुझाइ त्रुटिपूर्ण छ र यसबाट मुक्त हुनु आवश्यक छ ।
नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने हो । क्रान्तिकारीहरूले भनेको समाजवाद वैज्ञानिक समाजवाद हो भनेर ‘कम्युनिस्ट घोषणपत्र’ सँगसँगै खास गरेर एङ्गेल्सले विस्तृत रूपमा यसको व्याख्या गर्नुभयो । यसलाई स्टालिनले ‘सर्वहारा समाजवाद’ का रूपमा थप व्याख्या गर्नुभयो । कसैले भ्रम नराखे हुन्छ यहाँ बीचमा थकाइ मार्ने कुनै खुडकिलो छैन, माओले “नयाँ जनवादी क्रान्तिले स्वतः हामीलाई समाजवादतर्फ लैजान्छ” भनेर प्रस्ट पार्नु भएको हो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेपछि लिउ साओ-चि ले समाजवादमा जान ५० वर्ष पनि लाग्न सक्छ भनेर समाजवादलाई ‘उत्पादक शक्तिको सिद्धान्त’ मा लम्ब्याएर अनिश्चयतामा पुर्याएर भाषण गर्दै हिँडेपछि माओले समाजवादी समाजका लागि भित्री र बाहिरी सङ्घर्षको थालनी गर्नुभयो । ‘ चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ यसैको उपज थियो । उहाँले थालनी गरेको समाजवाद वैज्ञानिक समाजवाद थियो । माओवादी क्रान्तिकारीहरूले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद हो ।
हरेक वर्ष माओ दिवसमा माओको गुनगान गाइँन्छ-तर माओले देखाएको बाटोलाई व्यवहारमा लागू गर्ने कुरामा उत्साहपूर्ण गतिशीलता हुने गर्दैन र हुन सकेको छैन । आत्मगत स्थितिका नाममा एक किसिमको निस्पृहता देखिन्छ । सचेतन प्रयासको महत्व र मूल्यको अभावमा यस्तो हुनु स्वाभाविक हुन्छ । स्थिति जटिल छ, साम्राज्यवादी शक्तिहरू माओवाद र जनयुद्ध त के कम्युनिस्ट पदावलीकै विरुद्ध क्रियाशील छन् र तिनको जुठोपुरोमा बाँचिरहेका दलाल पार्टी र व्यक्तिहरू क्रान्तिकारीहरूका विरुद्ध योजनाबद्ध र सङ्गठित किसिमले क्रियाशील छन् । साम्राज्यवादले वाम आवरणमा मार्क्सवाद विरोधी टोली परिचालन गरेको छ,” लाल झन्डाको विरुद्ध लाल झन्डा प्रयोग गरिरहेको छ । हिजो जनयुद्धकालमा झैं सबैभन्दा बढी यो माओवादी आन्दोलनका विरुद्ध क्रियाशील छ । अहिले यो योजनाबद्ध किसिमले राजनीतिक क्षेत्रका साथै बौद्धिक क्षेत्र तथा सूचना र प्रकाशनको क्षेत्रमा क्रियाशील छ । बजारमा अहिले एक थरी लेखक र प्रकाशनले यही धन्धा चलाएका छन् । बजारमा देखिने पछिल्ला लेखन तथा प्रकाशन यसका उदाहरण हुन् । यतिखेर सबै किसिमका विभ्रम विरुद्ध वैचारिक सङ्घर्ष चलाउनु आवश्यक छ र यसलाई वर्गसङ्घर्षसित जोडेर अघि बढाउनुपर्छ ।
अहिलेको स्थितिमा ‘क्रान्तिकारीहरू एक जुट होऔं’ भनेर वक्तव्यबाजी गरेर मात्र पुग्दैन, विचार र राजनीतिलाई केन्द्रमा राखेर क्रियाशील पहलकदमी सबैबाट हुनु आवश्यक छ । यो भनेको मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्धताका साथ क्रान्तिको पक्षमा क्रियाशील शक्ति र व्यक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हो । यस कुरामा हामी प्रस्ट छौँ । अहिलेको परिस्थितिमा यी आधारमा जो-जोसँग कार्यगत एकता, संयुक्त मोर्चा बनाएर सह कार्य गर्न सकिन्छ, गर्दै जानुपर्छ भन्ने हाम्रो धारणा छ । हालको स्थितिमा मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच संयुक्त मोर्चा निर्माण गरेर अघि बढ्नु आवश्यक छ भन्ने हाम्रो ठहर हो । यसले नै हामीलाई नयाँ किसिमले सङ्गठित हुन र क्रान्तिकारी पुनर्गठनको दिशामा अघि बढ्न वातावरण तयार पार्दछ ।
सत्य के हो भने, समयले इतिहासको समीक्षा गर्दै, इतिहासका गल्तीकमजोरीबाट पाठ सिक्तै, नयाँ किसिमले सङ्गठित र पुनर्गठित हुन आह्वान गरेको छ । यसले नै हामीलाई माओवादी क्रान्तिकारी केन्द्रं निर्माणको दिशामा लैजान्छ ।
(लेखक ‘क्रान्तिकारी बौद्धिक- संस्कृतिक मंच, नेपाल’ का केन्द्रीय संयोजक हुनुहुन्छ ।)
क्याटेगोरी : बिचार
ट्याग : #Dr. Rishiraj Baral, #Mao
प्रतिक्रिया