Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

हामी एक्काइसौं शताब्दी मै छौं ?


वर्तमान युगका मान्छेहरू आफूलाई एक्काइसौँ शताब्दीका जनता, नागरिक हुन पाएकोमा गर्व गर्छन् । आफूलाई सबै कुरा बुझेको, जानेको, सभ्य र सचेत ठान्छन् । अघिल्ला शताब्दीका मान्छेहरू सबै कुरामा पिछडिएका, असभ्य, अन्जान र गँवार थिए भन्ने धारणा बनाएको बुझिन्छ । कतिपय त बिकासको चरम अवस्था यही नै हो भन्ने ठान्छन् । तर वर्तमान काल कसरी एक्काइसौं शताब्दी भयो भन्नेतिर उस्तो गम्भीर भएको भने देखिँदैन । एक सय वर्षको अवधिलाई एक शताब्दी भनिन्छ भन्ने मात्र सबैलाई थाह छ । धेरै के ठान्छन् भने एक्काइस सय वर्षअघि मान्छे एकदमै असभ्य अवस्थामा थिए, उनीहरू पेट भर्नु र सन्तानोत्पादन गर्न मात्र जान्दथे । यस्तो सोच सही छ त ? पक्कै छैन । मानव जातिले आधुनिक युगमा प्रवेश गरेको त इसापूर्व दस हजार वर्ष अर्थात् आजभन्दा बाह्र हजार वर्ष भइसकेको ठोकुवा नृतत्वविद्हरू गर्छन् । खेतीपाती गर्नु, पकाइतुल्याइ गरेर मिठोमसिनो खानु, मौसमअनुसारको लुगाफाटा लगाउनु, राम्रा, सुविधाजनक घर बनाएर बस्नु, वैधानिक तवरले बिहेबारी गर्नु, सन्तानलाई आफूभन्दा योग्य बनाउनु– जस्ता कार्यहरू उनीहरूले जानि सकेका थिए । सङ्गठित हुनु, नेतृत्व गर्नु, बाह्य आक्रमणहरूबाट आफ्नो समुदायलाई सुरक्षित राख्नुजस्ता क्षमताको विकास गरिसकेका थिए । क्रमशः विकास गर्दै अहिले यो एक्काइसौँ शताब्दीमा आइपुगेको पुगेको हो । हजारौं, लाखौं होइन करोडौँ वर्षको इतिहास बोकेको मानवजातिले सजिलोका लागि अहिलेको युगलाई एक्काइसौ शताब्दी भन्नुपरेको हो । विश्वभरिका मान्छेले मान्ने गरेका साल–संवत्हरू धेरै छन् । तीमध्ये हामी नेपालीले मान्ने गरेको संवत् विक्रम संवत् हो । विश्वले नै मानेको एउटा मानक संवत् चाहिँ इस्वी संवत् नै हो ।

‘सन्’ मात्रै पनि भनिने लेखिने यस इस्वीसंवत्लाई ‘अङ्ग्रेजी संवत्’ भनेको पनि पाइन्छ । प्राचीन ग्रिस र रोमसित सम्बन्धित यस संवत्सित अङ्ग्रेजीको खासै सम्बन्ध रहेको देखिँदैन । यो संवत् कसरी, कहिलेदेखि, कसद्वारा चलाइयो ? यसबारे जान्ने जिज्ञासा कसैमा भएको त देखिँदैन तर आफूलाई चै खसखस लागेर यसका बारेमा बुझिएका कुरा सङ्क्षेपमा भन्ने जमर्को गरेको हूँ ।

यस संवत्को जन्म प्राचीन युनान (ग्रिस) देशमा भएको थियो । अहिले सानो देशको रुपमा रहेको भए पनि इसापूर्व कालमा यो देश विशाल युनानी साम्राज्यका रुपमा स्थापित भएको थियो । त्यहाँका ज्योतिषाचार्यहरूले एउटा पात्रो/पञ्चाङ्ग/क्यालेन्डर बनाएका थिए । त्यसअनुसार ३५/४/३ दिनको (३५/४/३ दिनको पनि भनिन्छ) एक वर्ष र १० दिनको एक हप्ता हुन्थ्यो । यसको प्रारम्भ भएको तिथिमिति थाह हुन सकेन । धेरै वर्षपछि प्राचीन रोममा यसले विकसित र आधुनिक रूप ग्रहण गर्यो । हाल इटालीको राजधानीको रूपमा रहेको रोम त्यसबखत विशाल साम्राज्यका रुपमा कायम थियो । प्रारम्भमा गणराज्यका रुपमा स्थापित रोमले क्रमशः साम्राज्य विस्तार गर्दै गयो । इसापूर्व ५९ मा कन्सुल र इपू ४४ मा रोमको स्थायी अधिनायकभा नियुक्त हुन पुगेका जुलियस सिजरले भने रोमलाई विशाल शक्तिशाली सामाज्यका रूपमा स्थापित गराए । सिजर एक अभूतपूर्व क्षमता भएका योग्य, कुशल, बहादुर योद्धामात्र थिएनन् कुशल शासक र प्रतिभाशाली विद्वान् पनि थिए । साम्राज्य विस्तारका साथै आन्तरिक शासन प्रबन्धमा पनि व्यापक सुधार गरे । यसै क्रममा, पहिल्यैदेखि चलिआएको पात्रोमा समेत व्यापक परिमार्जन गरे । अब ७ दिनको एक हप्ता र ३६५ दिनको एक वर्ष बनाइयो । प्रत्येक चार वर्षमा १ दिन थपिने व्यवस्था भयो । यिनै जुलियस सिजरका नाममा सातौं महिनाको नाम जुलाई राखियो । यस पात्रोलाई जुलियन क्यालेन्डर भनिन्छ । इ.पू. ४५ को जनवरीदेखि यो पात्रो लागु गरियो । आज सम्म पनि विश्वले मानिआएको यी महान् व्यक्तित्व जुलियस विरोधीहरू सिजरका विरोध पनि शक्तिशाली थिए । उनीहरूद्वारा षड्यन्त्रपूर्वक इपू ४३ मा उनको हत्या भएको थियो । त्यसपछि निकै वर्ष गृहयुद्ध चल्यो । इपू ३१ मा उनका आफ्नै भतिजा आक्टेवियस सत्तामा आउन सफल भए । त्यसपछि उनी अगस्टस सिजरका नामले प्रसिद्ध भए । यी त आफ्ना काका भन्दा पनि प्रभावशाली देखिए । उनी रोमन साम्राज्यको प्रथम सम्राट बन्न सफल भए । इपू ३१ देखि इपू १४ सम्म रोमन सम्राट पदमा रहेका यिनले पोप ग्रेगरी (ग्रिगेरी)लाई चालु रहेको जुलियन क्यालेन्डरलाई आवश्यक संशोधन गराएर लागु गरे । उनले पनि आठौं महिनालाई अगस्ट’ नाम दिए । त्यसपछि यसलाई ‘ग्रिगोरियन क्यालेन्डर’ भनियो । यस संवत्को निर्माणमा प्राचीन ग्रिस र रोमको मुख्य देन रहेको थियो; अंग्रेजहरूको खासै देन नदेखिए पनि अचेल यसलाई ‘अंग्रेजी संवत्’ भन्ने गरेको पाइन्छ । यही रोमन क्यालेन्डर नै अहिले विश्वव्यापी रूपमा चालु रहेको छ । हाम्रो देशमा पनि यसको लोकप्रियता बढ्दो छ । ‘ह्याप्पी न्यू इयर’, क्रिसमस डे, भ्यालेन्टाइन डे आदि साह्रै उत्साहपूर्वक मनाउने गरिन्छ । ‘जन्मदिन’ अब ‘ह्याप्पी बर्थ डे’ भइसकेको छ ।

अब यसको नाम इस्वी संवत् रहेको बारेमा छोटो चर्चा गरौं । जिजस/जिसस क्राइस्ट वा इसामसिहासित यसको नाम जोडिन्छ । यिन कै नाम क्राइस्ट बाट चलेको धर्मलाई हाम्री ख्रिस्चियन धर्म भन्छौँ, क्रिस्चियन इसाई धर्म पनि भनिन्छ । प्रारम्भिक जीवनका बारेमा स्पष्ट जानकारी नपाइने इसामसिहा वा इसुख्रिस्टको जन्म सम्राट अगस्टसकै राज्यभित्र भएको थियो । उनको विलक्षण व्यक्तित्व, सच्चरित्रता र सुकार्यहरूका बारेमा विश्वकै मान्छेहरू पूर्ण जानकार छन् । ‘पवित्र रोमन साम्राज्य’ मा अगस्टसपछि नौ जना जति उनकै वंशज ‘सम्राट’ भए । रोम जलिरहँदा बाँसुरी बजाएर बस्ने कुख्यात क्रूर सम्राट निरो यसै वंशका सातौं सम्राट थिए । अगस्टस कै पालादेखि रोमन जनताहरूले सम्राटलाई ईश्वरको अवतारको रुपमा पूजा गर्नु पथ्र्यो ।

यस कुप्रथाको इसुले जोडदार विरोध गरे । इसुको अरु सिद्धान्त, मान्यता, क्रियाकलापको बढ्दो लोकप्रियता शासक वर्गलाई मन परेन । फलस्वरूप उनलाई जिउँदै क्रसमा झुन्ड्याएर मृत्युदण्ड दिइयो । उनको भौतिक शरीरको नास गरिए पनि उनको विचार, सिद्धान्तले इसाई धर्मको रूप लिइसकेको थियो, लोकप्रियता पनि बढ्दो थियो । लामो सङ्घर्षपछि आखिरमा अन्तिम रोमन सम्राट कन्स्टेनटाइनले ३१३ इस्वीमा इसाई धर्मलाई दिए र आफूले पनि सो धर्मलाई ग्रहण गरे । त्यसपछि रोमन साम्राज्यको पनि अन्त्य भयो । बत्तीस वर्षको उमेरमा क्रूरतापूर्वक हत्या गरिएका इसामसिहाको मृत्युपछि विधिवत् रुपमा इस्वी संवत् गणना गर्न सुरु गरिएको मानिन्छ । उनको जन्मपछिदेखि गणना गर्न थालिएको हो भन्ने मत पनि रहेको छ । शताब्दी गणनाको मापदण्ड यही रोमन क्यालेन्डर अर्थात् इस्वी संवत् नै बनेको छ । जनवरी महिनाको । एक तारिखलाई. यस संवत् अनुसारको नयाँवर्ष मानिने भएकाले विश्वका अन्य देशहरूमा झैं हाम्रो देशमा पनि हर्षोल्लासपूर्वक ‘ह्याप्पी न्यू इयर’ का रूपमा मनाउन थालिएको छ ।

सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना !


क्याटेगोरी : बिचार
ट्याग : #Bhakta Khapangi, #New Year

प्रतिक्रिया


ताजा अपडेट