Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

उमेर हद विवाद र नेतृत्व कब्जा गर्ने प्रवृत्ति


माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको प्रमुख विवाद उमेर हदको विषयमा हो । निवर्तमान महासचिव दीपेश पुनको समर्थन र सहयोगमा अध्यक्ष प्रचण्डका लामो समय स्वकीय सचिव बनेका जोखबहादुर महराका छोरा तुकमान महराद्वारा उमेर हद लगाउनु हुन्न भन्दै विद्यार्थीको सम्मेलन हलमा खुकुरी प्रदर्शन गर्नु र प्रचण्डको सचिवालयद्वारा उमेर हद नलगाउन गरिएको देशव्यापी दबाबले संगठनलाई आफ्नो स्वार्थ अनुसार चलाउने र नेतृत्व कब्जा गर्ने प्रवृत्ति मुखरित भयो ।

विद्यार्थी संगठनको मूल उद्देश्य शैक्षिक मुद्दाहरूको प्रतिनिधित्व, विद्यार्थीका समस्या समाधान र सामाजिक परिवर्तनमा योगदान गर्नु हुनुपर्छ । तर, पछिल्लो केही वर्ष यता संगठन आफ्नो उद्देश्यबाट विचलित हुँदै नेतृत्व कब्जा गर्ने, स्रोत साधनमा तर मार्ने र पार्टीभित्रका सीमित नेताहरुको स्वार्थ पूरा गर्ने माध्यम बन्दै गएको छ ।

नेपालको सामाजिक परिवर्तनकारी आन्दोलनमा विद्यार्थीहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहँदै आएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन र गणतन्त्र स्थापनासम्म विद्यार्थीहरूले अग्रपंक्तिमा रहेर योगदान पु¥याएका थिए । तर, २०४६ सालको परिवर्तनपछि विद्यार्थी संगठनहरूको एक हिस्साको प्रभाव र उद्देश्यमा गिरावट आएको छ ।

विशेषतः एमाले र नेपाली कांग्रेससँग आबद्ध विद्यार्थी संगठनहरूले राजनीतिक परिवर्तन र सामाजिक मुद्दा उठाउने भन्दा आफ्नो संगठनभित्रको स्वार्थ पूरा गर्न ध्यान केन्द्रित गरे । शैक्षिक सुधारको एजेन्डा ओझेलमा प¥यो । जनयुद्धको समयमा विद्यार्थीहरूको भूमिका सक्रिय थियो, शान्ति प्रक्रियापछि भने संगठनहरू पुनः विकृति र स्वार्थको शिकार बने ।

विगतका नेतृत्वहरूले शैक्षिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन नसके पनि पछिल्लो समयमा उमेर हद लागू गर्नेजस्ता सुधारात्मक प्रयासले सकारात्मक संकेत दिएका छन् । उमेर हद लागू गर्नु लामो समयदेखि जमेर बसेको विकृति तोड्ने प्रारम्भिक कदम हुन सक्छ । यसले नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याउने र संगठनभित्र स्वच्छता कायम गर्ने अवसर प्रदान गर्न सक्छ ।

तर, विद्यार्थी संगठनमा मात्र सुधार प्रयास गरेर समस्या समाधान हुँदैन । सुधारका लागि राजनीतिक दलहरूले नैतिकता र जिम्मेवारीबोध गर्नुपर्ने आवश्यकता छ । जबसम्म माउ पार्टीहरूले विद्यार्थी संगठनलाई केवल राजनीतिक स्वार्थको साधन बनाउँदै राख्छन्, संगठनमा सुधारको सम्भावना कमजोर देखिन्छ ।

विद्यार्थी संगठनलाई जनताको चासो र मुद्दाबाट अलग राखेर पछिल्ला केही वर्ष यता डिलर उत्पादन गर्ने माध्यम बनाइएको छ । माउ पार्टीहरूका सीमित नेताहरुले संगठनलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्दा संगठनको उद्देश्य नै विकृत भएको छ । यस्तो प्रवृत्तिले विद्यार्थी आन्दोलनको गरिमा खस्काउँदै गएको छ ।

वास्तवमा विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदानलाई बिर्सन सकिंदैन । तर, हाल देखिएको नेतृत्व कब्जा गर्ने प्रवृत्ति, स्रोतसाधनको दुरुपयोग र संगठनको उद्देश्यलाई ओझेलमा पार्ने अभ्यासले विद्यार्थी आन्दोलन कमजोर बनाएको छ । संगठनलाई शैक्षिक र सामाजिक मुद्दामा पुनः केन्द्रित गराउन आवश्यक छ ।
फेरि पनि मुख्य सुधार राजनीतिक दलहरूसँगै सुरु हुनुपर्छ । जबसम्म माउ पार्टीहरूका प्रभावशाली नेताहरुले नैतिकता अपनाएर विद्यार्थी संगठनलाई आफ्नो स्वार्थबाट अलग राख्दैनन्, तबसम्म संगठनमा स्थायी सुधारको सम्भावना न्यून रहन्छ । मुहान सफा नगरी नदी सफा हुँदैन भन्ने कुरा स्मरणीय छ ।


क्याटेगोरी : बिचार
ट्याग : #Akhil Krantikari, #Bidyarthi rajniti, #Yogesh Khapangi

प्रतिक्रिया


ताजा अपडेट