Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

सम्माननीयहरु राजनीतिमा फर्कनु कति ठिक, कति बेठिक ?


नेपालको राजनीतिमा यतिखेर दुई सम्माननीय व्यक्तित्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको राजनीतिक पुनरागमनको चर्चा चुलिएको छ । नेपालमा राष्ट्रपति र उपराष्ट्रपति आलंकारिक पद भएकाले पनि यो बहसको विषय बनेको हो । कार्यकारी राष्ट्रपति भएको भए यो बहस हुँदैन थियो ।
पछिल्ला राजनीतिक गतिविधिहरुले दुवै सम्माननीयहरुले राजनीतिमा सक्रियता देखाउन थालेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुष १९ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा’ किताबको विमोचन कार्यक्रममा प्रमुख अतिथि बनिन् । यसै कार्यक्रममा अतिथि बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किन सुझाव दिए । विमोचन कार्यक्रममा बोल्दै शर्माले पुर्व राष्ट्रपति भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्ने धारणा राखेका थिए ।

भण्डारी यस अघि पनि एमालेका भातृ संगठनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति भएकी थिइन् । त्यतिमात्र होइन उनले यस बीचमा थुप्रै राजनीतिक भेटघाट गरेको चर्चा चलिरहेको छ । भण्डारीको सक्रियताले सशंकित बनेका एमाले अध्यक्ष केपी शर्मा ओली पुष १८ गते भण्डारी निवासमै गएर लामो कुराकानी तथा गुनासो गरेको समाचार बाहिरिएको थियो ।

एमालेभित्र केपी ओली अलिबढी एकमनावादी बन्दै गएको, फरकमतहरुलाई दमन गर्ने गरेको कारण अलोकप्रिय बन्दै गएका छन् । ओलीको कार्यशैली र व्यवहारबाट हिजोका एमाले नेताहरु धेरै बाहिरिएका छन् । त्यसैले भण्डारीको राजनीतिमा पुनरागमन पार्टीको आन्तरिक एकताको आवश्यकता बन्न गएको कतिपयको ठम्याई छ ।

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने मनसाय देखाएका छन् । नेकपा माओवादी केन्द्रको कार्तिक २६ गते बसेको स्थायी समिति वैठकमा पुन पहिलो पटक सहभागी भए ।  पुष २१ गतेबाट २३ गतेसम्म काठमाडौंको धुम्ब्रवाहीस्थित स्मार्ट दरबारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण वैठकमा पूरै समय उपस्थित भएर राजनीतिमा फर्कने स्पष्ट सन्देश प्रवाह गरेका छन् ।

वैठकमा धेरै जसो केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा उपराष्ट्रपति राजनीतिमा फर्कने कुरा राम्रो नहुने सुझाव दिए । जवाफमा अध्यक्ष प्रचण्डले पुन आमन्त्रित सदस्यको रुपमा उपस्थिति भएको जनाएका छन् । तर पुनलाई पार्टीले बोलाएर होइन आफैं सक्रिय हुन खोजेको अध्यक्ष प्रचण्डले सार्वजनिक गरेका छन् ।

किन हुन खोज्दैछन् सम्माननीयहरु सक्रिय ?

अहिले राजनीतिमा फर्कने चर्चामा रहेको यी दुवै पूर्व राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन दुवै जना दुवै कार्यकाल सँगसँगै राष्ट्रपति र उपराष्ट्रपति बनेका व्यक्ति हुन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुककै प्रथम महिला राष्ट्राध्यक्ष बनेर इतिहास रचिन् । परम्परागत पितृसत्तात्मक राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्रमा फड्को मारेको मुलुकले दोस्रो राष्ट्रपतिका रूपमा महिला पाउँदा देशव्यापी उत्साह देखिएको थियो । तर उनले राष्ट्रपति बन्दा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिएकोमा धेरै आलोचना समेत भोग्नुप¥यो । अदालतले समेत उनका कदमलाई दुई दुई पटक असंवैधानिक ठहर ग-यो ।

सम्माननीयहरु राजनीतिमा फर्किनु उनीहरुकै ओझ घट्नु हो भन्दै धेरैले बताइरहेका छन् । एक हिसाबले राष्ट्रका साझा व्यक्तित्व भइसकेको व्यक्ति पार्टी राजनीतिमा खुम्चनु हुँदैन भन्ने आम जनताको धारणा रहेको छ ।

संविधानको ‘पालना र संरक्षण गर्नु’ राष्ट्रपति र उपराष्ट्रपतिको प्रमुख कर्तव्य हो । यसैमा भूमिका खेल्नु नै उनीहरुको कर्तव्य ठहर्छ । संविधानले उनीहरुलाई राजनीति फर्कन छेकेको छैन भन्ने तर्क गर्नेहरू पनि छन् । नेपाली समाजका हरेक मूल्य मान्यता संविधान वा कानुनमा लेखिएका हुँदैनन् ।

संविधानमा सम्माननीय पदलाई दलीय राजनीति भन्दा माथि राखिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानको धारा ६१ ले नेपालको ‘राष्ट्रिय एकता प्रवद्र्धन’ गर्ने कर्तव्य सुम्पेको छ ।

पूर्व सभामुखहरु राजनीतिमा आउन हुने तर राष्ट्रपति र उपराष्ट्रपति किन नहुने ? भन्ने तर्कहरु पनि यदाकदा आउने गरेका छन् । सम्माननीयहरु सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षहरु पनि राजनीतिमा आउनु राम्रो होइन । नेपालमा पूर्व सभामुखहरु आफ्नो कार्यकाल सकिएपछि फेरि राजनीतिमा फर्केका छन् । सम्मानित पदको लाभमा बसेर राज्यका सेवा र सुविधासहित दलको राजनीतिमा आउनु भनेको पदको दुरुपयोग तथा राज्य स्रोतको दरुपयोग नै हो । राजनीतिलाई सेवा होइन शक्तिको स्रोतको रुपमा लिने प्रवृत्तिका कारण आफ्नो परिवार र आफ्ना निकटकोमा नजाँदासम्म ठाउँ नछाड्ने प्रवृत्ति देखिएको छ ।

दल बाहिरबाट पनि राजनीतिलाई सकारात्मक रूपमा निर्देश गर्न सकिन्छ  । राजनीतिक तहमा सीमान्तकृत बनेका कैयौं भेदभाव, असमानता र सामाजिक अन्यायका सवाल छन । तिनले उच्च व्यक्तित्वको साथ खोजिरहेका छन् । विश्वव्यापी रूपमा अपनाइएको मूलधारको अभ्यास पनि त्यही हो । अहिलेको आवश्यकता भनेको नयाँ विचार र युवा नेतृत्वको हो । राष्ट्रिय विकासका लागि नविनता दिन सक्ने विचार र साेंच भएको व्यक्तिको खाँचो हो ।

हाम्रा देशका सम्माननीयहरुले आफ्नो युवावस्थामा ठूलो संघर्ष गरेका छन् त्यसमा कुनै दुईमत छैन । त्यसैको सम्मानस्वरुप उहाँहरुलाई सम्माननीय बनाइएको हो । पुराना नेताहरूको निकासविहीनताले युवा पुस्ताको पार्टीमा काम गर्ने ऊर्जा हराउन सक्छ । अझ सम्माननीय व्यक्तिहरूको पुनः प्रवेशले नयाँ पुस्ताका लागि राजनीतिप्रति निरन्तरतामा चुनौती उत्पन्न गर्न सक्छ । त्यसैले माओवादी पार्टी नै यो संविधान निर्माणको पहिलो हकदार भएको हिसाबले यो संवैधानिक पदको सम्मानपूर्वक राख्ने गरी थिति बसाल्न आवश्यक छ ।

माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले केन्द्रीय समितिमा सम्मानीय पदका बारेमा पेश गरेको लिखित सुझावले नै धेरै माओवादी नेता कार्यकर्ताको मात्र होइन सचेत नेपालीको भावनाको प्रतिनिधित्व गर्दछ – “जो कोही पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि पार्टीको सक्रिय संगठनात्मक जीवनबाट बिदा अनिवार्य लिनुपर्छ । यसमा विशेषतः पार्टी सदस्यता त्याग गरेर राज्यको सबभन्दा माथिल्लो जिम्मामा पुगेका सम्माननीयहरू (जस्तैः राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष आदिहरू) पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ । यसका लागि सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिलाई यस्ता जिम्मामा पठाउनुपर्छ । संगठनात्मक जीवनमा प्रवेशको ढोका जहिल्यै पनि खुला हुने तर निस्कने ढोका सबै सधैँ बन्द हुने प्रक्रियाले पार्टीमा नयाँहरूको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ ।”


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट