Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

सिन्धुलीका एसबी राईमाथि ‘ख्रुश्चेभ गर्जिएपछि’


कम्युनिष्ट आन्दोलनका एक हस्तीले अहिलेकै अबस्थाबाट सिन्धुलीका कम्युनिष्ट पार्टी र नेतृत्व अगाडि बढ्ने हो भने त्यसले पतन हुन बेर नलाग्ने बताउनु भएको छ ।

कम्युनिष्ट पार्टीका जिवित संस्थापक भनेर सिन्धुलीमा चिनिनु भएका कृष्णहरि अधिकारी (९५) ले सो कुरा बताउनु भएको हो । अहिले कम्युनिष्ट भनिएकाहरु कम्युनिष्ट पार्टी जस्तै भएनन्, कता कता बरालिइरहका छन् । विचार शुन्यताको जगबाट सिन्धुलीका नेता कार्यकर्ताहरु अगाडि बढिरहने र आफूलाई करेक्सन नगर्ने हो भने २००६ सालमा स्थापना भएको कम्युनिष्ट आन्दोलन समाप्त भएर जाने चेतावनी दिनुभयो ।

सिन्धुलीका ग्रामिण समुदायमा अझै पनि कम्युनिष्ट पार्टीप्रति अगाध स्नेह रहेको बताउनु हुने अधिकारीले जव कम्युनिष्ट पार्टीमा व्यक्ति केन्द्रित प्रवृति हाबी हुन्छ र सबै कुरा म हो भन्ने भावनाबाट नेतृत्व अगाडि बढ्छ, त्यसले दुर्घटनामात्रै निम्त्याउने बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनमा जर्वजस्त जरा गाडेर बसेको यो प्रवृत्तिले सिन्धुलीका कम्युनिष्ट पार्टीहरु पनि ग्रसित रहेको उहाँको निश्कर्ष छ । सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा धेरै साथीहरुले योगदान दिनुभएको छ, तर इतिहास लेख्ने साथीहरुले त्यसलाई बङ्ग्याउने, तोडमोड गर्ने र सिंगो जीवन नै दाउमा लगाउनेहरुलाई गुमनाम बनाउने कामहरु रोकिनु पर्छ, अधिकारीले समयवद्धसँगको लामो कुराकानीमा भन्नुभयो ।

कम्युनिष्ट आन्दोलनमा लागेका बासुदेव श्रेष्ठ जस्ता मान्छेहरु पञ्चायतलाई उपयोग गर्ने नाममा त्यहाँ पुगेपछि दुर्गन्धित बनेर बिग्रिएको र त्यसले सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई नै घाटा पुगेको उहाँको ठम्याइ छ । सबैले गलत नै गर्नुभयो भनेको होइन, तर बासुदेव श्रेष्ठ जस्ता साथीहरुले गर्दा समस्या भयो, उहाँले अगाडि भन्नुभयो ।

सिन्धुलीमा कम्युनिष्ट पार्टीको स्थापना हुनु अगाडि नै देउरालीटारमा पहिलो पटक किसान संघ गठन भएको स्मरण गर्दै अधिकारीले अहिले त विचार, सिद्धान्त र अनुशासन भनेको ‘कुरा गर्ने विषय’मात्रै भएको टिप्पणी गर्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल रामेछापमा जन्मिएर पनि सिन्धुलीको कम्युनिष्ट पार्टी निर्माणमा प्रत्यक्ष भूमिका नभएको उहाँले खुलासा गर्नुभयो । तर, जति पनि पार्टी र संगठन निर्माण, ती सबै पुष्पलालको मार्गदर्शनबाट भएका हुन् । सिन्धुलीमा पुराना नेता निर्मल लामा र विष्णुवहादुर मानन्धर मात्रै आउने गर्नुभएको स्मरण गर्दै नेता अधिकारीले वासुदेव श्रेष्ठ र शेरवहादुर गुरुङ इन्डियन पल्टनको लाहुरे भएको खुलासा गर्नुभयो ।

देउरालीटारको विद्यालयमा एसबी राईलाई शिक्षक बनाएर पार्टीको कार्यालय सचिवको जिम्मेवारी दिएको बताउँदै अधिकारीले राई रसिया पुगेर फर्किएको पनि बताउनु भयो । उहाँ (राई) चिनियाँ कम्युनिष्टसँग नजिक हुनुहुन्थ्यो, जव रुसमा ख्रुश्चेभले त्यहाँको कम्युनिष्ट पार्टीलाई गलत ढंगले प्रयोग ग¥यो भन्ने उहाँको बुझाई भयो । उपचारको नाममा रसिया पुग्नु भएका राईले त्यहाँको कम्युनिष्ट पार्टीको सम्मेलनमा भाग लिनुभयो । सो कार्यक्रममा खुश्चेभले राईलाई नै गाली गरेर बोलेको जस्तो भान भएछ, उहाँलाई । चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा रहेका राई रसियाबाट फर्केर आएपछि खुश्चेभको विषयमा उक्त कुरा बताउनु भएको थियो तर भाषागत समस्याका कारणले राईजीले त्यस्तो अनुभूति गरेको हुनसक्छ ।

उहाँका अनुसार त्यस बेला यहाँका नेताहरु पनि दुई धारमा बिभाजित थिए । एउटा धार रसियन कम्युनिष्ट र अर्को धार चिनियाँ कम्युनिष्ट पार्टी निकट । तर त्यसबेला केही साथीहरुमा भने भारतीय कम्युनिष्ट पार्टी (माले) अर्थात चारु मजुमदारको प्रभाव थियो । केही साथीहरुसँग भारतीय कम्युनिष्ट पार्टीको सदस्यता समेत थियो । त्यति मात्रै होइन, नेपालको कम्युनिष्ट पार्टीको सदस्यता फारम नै हिन्दीमा रहेको बताइन्छ ।

‘हामीले सिन्धुलीका पहिलो पटक पटनाबाट अक्षरहरु लिएर आयौं, अक्षर कम्पोज गरेर जाली शोषकहरुका बिरुद्ध पर्चा निकाल्यौं र ठाउँ ठाउँमा बाँड्यौं, त्यसको मुद्रण भने वाराणसी’ भनेर राख्यौं । सिन्धुलीमा निकै ठूलो हल्लीखल्ली मच्चियो । त्यसबेलाका शासकहरुले निकै ठूलो शक्ति लगाएर खोजतलास गरे, केही पत्ता लगाउन सकेका थिएनन्, पछि सो कुरा वासुदेव श्रेष्ठजीले पञ्चायतलाई उपयोग गर्ने क्रममा खोलिदिनु भएछ, उहाँले विगत स्मरण गर्दै भन्नुभयो ।

धेरै साथीहरुलाई त्यसबेला पार्टी र संगठनको काम गर्न सहज हुन्छ भन्ने नाममा पञ्चायती निर्वाचन उपयोगमा पठाइयो, सबैले राम्रै काम गरे, कसैले पनि पार्टीको आन्तरिक कुरा पञ्चायती शासकहरुलाई खोलेनन् तर वासुदेवजीले पार्टीका आन्तरिक कुरा खोलेर हामीलाई समेत धोका दिनुभयो, त्यही भएर पनि उहाँको मलामी जान सिन्धुलीका कम्युनिष्ट नेताहरुले स्वीकार गरेनन्, अधिकारीले अगाडि भन्नुभयो ।

९५ औं वर्ष प्रवेश गरेको अबसरमा उहाँको भिमानस्थित घरमा परिवारका सदस्यहरुले केक काटेर उत्सव मनाउँदा उहाँले कम्युनिष्ट पार्टीहरुभित्र अराजकता बढेको र त्यसलाई बेलैमा नियन्त्रण गर्न नसके भारतीय कम्युनिष्ट पार्टी (भाकपा) कै अबस्थामा पुग्ने निश्कर्ष सुनाउनुभयो ।

अहिले कम्युनिष्ट पार्टीको नेता भन्ने तर विरोधी पार्टीहरुसँग अबैध साँठगाँठ गर्ने, पार्टीका भन्दा विरोधीहरु आफ्नो नजिक हुने, आफ्नालाई पराई ठान्ने र विधि पद्धति र सिस्टममा नचल्नेहरुले अरुलाई त्यही प्रवृत्तिमा लागिरहेको देख्ने र चोक चौतारो र भट्टीमा बसेर आलोचना गर्ने प्रवृत्ति बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा शहीद ऋषिराज देवकोटा, सिपी गजुरेल, असारे काका, हरिवोल गजुरेल, शहीदद्वय दुर्गा सुवेदी, दलवहादुर रजन मगर जस्ता राम्रा मान्छे हुनुहुन्थ्यो, उहाँहरुले पार्टीलाई जसरी सञ्चालन गर्नुभयो, अहिले त्यस्तो नेतृत्वको खडेरी परेको छ । सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा उल्लेखित नेताहरुको ठूलो भूमिका छ, तर उहाँहरुले उत्पादन गर्नुभएका अहिलेका नेताहरुमा कम्युनिष्ट पार्टीको संस्कार, संस्कृति र लेनिनवादी संगठनात्मक पद्धति नै देखिएन । आफूलाई उहाँहरुकै उत्तराधिकारीहरुले एमाले र माओवादीभित्रै अराजकता फैलाइरहेका छन् र सिंगो पार्टी, संगठनलाई आफ्नो निजी ठान्ने प्रवृत्तिलाई संस्थागत गर्न थालेपछि अहिले त्यसका विरुद्ध आवाज उठ्न थालेको सुनिरहेको छु । त्यही भएर होला अहिले एमाले र माओवादीका नेताहरु दुई धारमा बिभाजित बनेको देखेको छु, अधिकारीले अगाडि भन्नुभयो ।

मलाई अझैं पनि नेपालका कम्युनिष्ट पार्टीहरु एक भएर सत्ता सञ्चालन गरेको हेर्ने रहर छ । त्यसो भयो भने मात्रै श्रमिक किसान मजदुरले चाहेको जस्तो अबस्था परिवर्तन हुनसक्छ । विगतमा पार्टी काम गर्दाका अनुभव सुनाउँदै हौसिनु भएका अधिकारीले छेउमा बसेका आफ्ना छोरालाई देखाउँदै भन्नुभयो ‘म अहिलेनैं त मरिहाल्छु जस्तो त लागेको छैन, यदि त्यस्तो भई हाल्यो भने मलाई घरमा नराख्नु, एमालेको पार्टी कार्यालयमा पु¥याई दिनूँ’ । उहाँको यो कुराले एकछिन् त सबै चुपचाप भए । उहाँले ठट्यौंली पारामा भन्नुभयोः तिमीहरु किन चुपचाप लागेको ? म मरी हाल्न लागेको त हैन नि !


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट