Techie IT
Samayabaddha
शनिबार, ५ माघ, २०८१

हात्ती आतङ्क र जङ्गबहादुर राणा


झापा जिल्लाका विभिन्न ठाउँमा बेलाबेला जङ्गली हात्तीहरूले आतङ्क मच्चाइरहने गर्छन् । अन्नबाली नाश पार्ने, विशेषगरी गरिबगुरुवाका घर भत्काइदिने, गाडी मोटरसाइकलहरू तोडफोड गरिदिने मात्र होइन कहिलेकाहीँ त मान्छे नै पनि मारिदिने गर्छन् । कुनै निश्चित समय, मौसम, ऋतुमा मात्र यस्ता दुर्घटना हुने होइनन्, जहिले पनि जुनसुकै बेला हात्ती आतङ्क आउन सक्छ । जङ्गलभित्र, जङ्गल छेउछाउका मानवबस्तीहरूमा त सधैं डर हुन्छ नै अचेल त सहर बजारमासमेत हात्ती पसिदिन्छन् । स्थानीय बासिन्दाहरूले यस्ता आतङ्कबाट बच्नका लागि विभिन्न किसिमका उपायहरू खोजिरहन्छन्, सरकार गुहारिरहन्छन् । सरकारकातर्फबाट पनि विभिन्न प्रयास नगरिने पनि होइन तर सबै प्रयासहरू असफल भइरहेका छन् । यस आतङ्कबाट बच्ने एउटा मुख्य उपाय के छ भने हात्ती देख्नेबित्तिकै मान्छे कराउन थालिहाल्छन्, ठुलै होहल्ला हुन्छ र टाढाटाढाका मान्छे पनि सतर्क हुन्छन् । मान्छेको ठुलै हुल पछि लागेको हुन्छ । त्यस्ता हुलमाथि हात्ती जाइलागेको चैँ सुनिएको छैन । ऊ पनि आफ्नै धुनमा हिँडिरहन्छ । त्यसैले कुकुर भुक्तै गर्छ हात्ती हिँड्दै गर्छ भनिएको होला । जम्काभेटै भयो भने त जे पनि हुनसक्छ ।

स्वास्थ्यका लागि बिहानै कम्तीमा डेड–दुई किलोमिटर हिँड्ने गर्नू भन्ने डाक्टरको सल्लाह (आदेश)अनुसार यो पङ्क्तिकार पनि उषाकालमा दुई किलोमिटरजति हिँड्ने गथ्र्याे । यसै क्रममा, एक दिन आफ्नै धुनमा हिडिराखेका बेला मान्छे कराएको सुनिदै भए पनि याद गरिएन छ । आफू हिँड्दैगरेको मूल बाटामा जोडिने शाखा सडक पार गरेको एकडेड मिनेटपछि फर्केर हेर्दा आफू हिँडेको बाटामा त अजङ्गको हात्ती पो हिँड्दै छ । आफ्नो त सातो गयो । घर आइपुगेर त्यो कुरो सुनाउँदा परिवारजनबाट “भोलिदेखि मर्निङ वाकमा नजानू” भन्ने आादेश जारी भयो ।

वर्षाैँ बितिसक्दा पनि हात्तीआतङ्क नसकिएको बारेमा सोच्दै गर्दा झल्याँस्स जङ्गबहादुर राणाको पो याद आयो । हात्ती र जङ्गबहादुरको के साइनो छ र भन्ने पाठकलाई लाग्नसक्छ । त्यो कुरो प्रस्ट्याउने प्रयास गर्छु । हाल हाम्रो देशको बिग्रिएको वर्तमान राजनैतिक अवस्थामा सुधार ल्याउन कसैले राजा महेन्द्रको आवश्यकता ठान्छन् भने धेरैले जङ्गबहादुरको खाँचो छ भन्ने गर्छन् । आफूलाई पनि त्यस्तै लाग्छ । आफूलाई त हात्तीआतङ्क नियन्त्रण गर्न पनि जङ्गबहादुरकै आवश्यकता छ जस्तो लाग्छ । जङ्गबहादुरको सिकारी व्यक्तित्वको सङ्क्षिप्त चर्चा गरूँ है त ।

हुनत जङ्गबहादुरलाई एक खलनायकका रूपमा लिनेहरूको सङ्ख्या ठुलै छ । ‘निरङ्कुश जहानियाँ शासनका संस्थापक’ भनेर उनलाई क्रूर र निरङ्कुश तानाशाहका रूपमा लिइन्छ । नजिकैबाट हेरियो भने उनी एक असाधारण, क्षमतावान् र अत्यन्त बहादुर, देशभक्त महानायक देखिन्छन् । अहिले हाम्रो देशको बिग्रिएको राजनीतिक अवस्थामा सुधार ल्याउन उनीजस्तै नायकको खाँचो महसुस भएको छ । सुरेन्द्रवीरविक्रम शाहजस्तो सुझबुझहीन सनकी युवराजको बहुलट्ठीपूर्ण खतरनाक ‘हुकुम’हरूको आज्ञा पालन गर्ने क्रममा उनले जीवनभर दाहिने घुँडाको पीडादायी रोग बोक्नुपरेको थियो । प्रत्येक हिउँदको चिसो मौसममा कम्तीमा एकपटक हिँडडुल गर्न सक्तैन थिए । अरू बेला पनि उनी एउटा खुट्टो खोच्याएर हिँड्थे । आफ्नो खुट्टो नसोझिए पनि सुरेन्द्रजस्तो अडबाङ्गे युवराजलाई भने राजा भइसकुन्जेलमा पुरै सोझ्याइसकेका थिए । पछि त राजा सुरेन्द्र उनका ’यस म्यान’ ‘रबरस्ट्याम्प’ भए । जङ्गबहादुर राजनीतिका मात्र कुशल खेलाडी थिएनन् हिंस्रक जङ्गली जनावरहरूको सिकारमा समेत अब्बल थिए । सिकार मात्र गर्दैनथे उनी तिनलाई जिउँदै पक्रेर सधाउने काममा पनि निपुण थिए ।

‘थापाखलक’मा पर्ने उनी भीमसेन थापाको हृदयविदारक अवसानपछि सर्वस्वहरणमा परी पूर्णतः बेरोजगार गरिब ढाक्रे बनेका थिए । एक जना साहुको ठुलो रकम ११०० रुपिया ऋण तिर्न नसकेर उनी राजधानी काठमाडौंबाट जङ्गली हात्ती पक्रेर बिक्री गर्ने उद्देश्यले तराई झरेका थिए ।

१८९७ सालको हिउँद (फरवरी १८४०) मा तराईको घना जङ्गलमा सिकार खेल्न झरेका राजा राजेन्द्रविक्रमलाई उनले आफ्नो कौशल देखाउने मौका पाए । कसैले नियन्त्रणमा लिन नसकेको एउटा अजङ्गको हात्ती जिउँदै पक्रेर राजाकै अगाडि सिकारी टोलीलाई जिम्मा लगाएपछि सत्ताधारी पाँडेपक्षले नचाहँदानचाहँदै राजाको ठाडो आदेशले उनी पैदल सेनाको कप्तान पदमा नियुक्ति पाउन सफल भएका थिए ।

त्यसपछिको छ वर्ष बित्दा नबित्दा इतिहासप्रसिद्ध कोतपर्व मच्चाएर सर्वशक्तिमान प्राइममिनिस्टर बनेका उनी भाँडभैलो भएको नेपालको अस्थिर राजनीतिलाई स्थिरता दिन पूर्ण सफल भए ।

सामान्य नेपाली लेखपढ गर्नसक्ने तर बहुआयामिक प्रतिभाशाली महावीर जङ्गबहादुर राणाको व्यक्तित्व साँघुरो ठाउँमा अट्तैन । यहाँ उनको सिकारी व्यक्तत्वको मात्रै चर्चा गरिन्छ । वनविज्ञान, पशुविज्ञान, वातावरण विज्ञानका बारेमा उनी अनभिज्ञ थिए । तर, वर्तमानमा त्यस्ता विषयमा विद्यावारिधि, महाविद्यावारिधि गर्नेहरूभन्दा उनी धेरै अगाडि देखिन्छन् । बाघ, भालु, हात्ती , गैँडा, गोहीजस्ता हिंस्रक जनावरहरूलाई उनी कुशलतापूर्वक नियन्त्रणमा लिन सक्थे । तीसँग उनको कहिलेकाहीँ शारीरिक रूपमै पनि भिडन्त हुन्थ्यो ।

त्यसबखत घोडा यातायातको मुख्य साधनमा पथ्र्याे । जस्तोसुकै अजङ्गका घोडालाई पनि उनी सहजै नियन्त्रणमा लिन्थे । जङ्गली हात्ती जिउँदै पक्डिनु त उनको सोखभित्र पथ्र्याे । अहिले हामी हात्तीआतङ्कबाट पीडित छौँ । राज्य, सरकार, विज्ञ सबै निरीह देखिन्छन् । जङ्गबहादुर भए कति रमाएर तिनलाई पक्रेर व्यवस्थित गर्थे होलान् ! झन्डै तीन दशक सत्ताको हालिमुहाली सम्हालेका उनी आफ्नो अन्तिम दिन पनि सिकारकै क्रममा जङ्गलमै थिए । उनी बर्सेनि हिउँदमा सिकारमा दुइतीन महिना बिताउँथे । एकपटकमा उनले कति प्राणीको सिकार गर्थे भन्ने भन्ने सन्दर्भमा एउटा पुस्तकमा उल्लेख गरिएको विश्वास नलाग्ने दन्त्यकथाजस्तो उनको सिकार विवरण यस्तो भेटिन्छ :

“मार्च ३१ (सन् १८६१) का दिन महाराज (श्री ३ जङ्ग) एक्काईस वटा हात्ती, एकतीस वटा बाघ, नौ वटा बाह्रसिङ्गे, एउटा गैँडा, एउटा अजिङ्गर , एघार वटा अर्ना, दस वटा बँदेल, एउटा गोही, चारवटा भालु, बीसवटा हरिण, छवटा कालिज, दुईवटा चौघडा (खरायो ), तीनवटा चितुवाको एकमुष्ट सिकार सम्पन्न गरेर थापाथली पुगे ।” (जङ्गबहादुरको जीवनयात्रा, पृ २४७)


क्याटेगोरी : बिचार
ट्याग : #Bhakta Khapangi, #Junga Bahadur Rana

प्रतिक्रिया


ताजा अपडेट