दक्षिण एसियामा वंशवादी राजनीतिः निरन्तरता कि विघटन ?

एशियाका कतिपय देश, दक्षिण एसियाली राजनीतिक परिदृश्यलाई नियाल्दा वंशवादी राजनीतिले गहिरोसँग जरा गाडेको छ । यहाँ राजनीतिक परिवारहरूको वर्चस्वले लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर बनाउँदै आएको छ । लोकतन्त्रको अभ्यास गर्दै आएका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, सिंगापुर जस्ता मुलुकहरूमा पनि नेतृत्वको हस्तान्तरण अक्सर पारिवारिक विरासतबाटै हुने गरेको छ ।
दक्षिण एसियामा राजतन्त्रको लामो इतिहास रहेकाले यहाँका जनताले नेतृत्व वंशानुगत रूपमा हस्तान्तरण हुने परिपाटीलाई स्वाभाविक रूपमा स्वीकार्ने गरेका छन् । नेपालको शाह वंश, भारतका क्षेत्रीय राजाहरू, पाकिस्तान र बंगलादेशका राजनीतिक परिवारहरू तथा श्रीलंकाका भण्डारानाइके र राजापाक्षे परिवारहरूले सत्ता हस्तान्तरणको परम्परालाई निरन्तरताको अभ्यास गरे ।
दक्षिण एसियाली राजनीतिक दलहरू प्रायः व्यक्ति विशेषको वरिपरि केन्द्रित हुने हुँदा संस्थागत विकास हुन सकेको छैन । जब दलहरू संस्थागत रूपमा बलियो हुँदैनन्, नेतृत्व चयन प्रक्रियामा पारदर्शिता नहुने हुँदा सत्तासीन नेताका परिवारका सदस्यहरू स्वाभाविक उत्तराधिकारी बन्छन् ।
राजनीतिक परिवारहरूले दशकौँसम्म शासन गर्दा ठूला आर्थिक स्रोतहरूमा पकड जमाउन सफल भएका छन् । यो सम्पत्ति चुनाव जित्न, समर्थकहरू जुटाउन र प्रतिद्वन्द्वीलाई किनारा लगाउन प्रयोग गरिन्छ । नेपालमा कोइराला परिवार, भारतमा नेहरू–गान्धी परिवार, पाकिस्तानमा भुट्टो–जरदारी परिवार र बंगलादेशमा मुजीबुर–हसिना परिवारले आर्थिक सञ्जालको बलमा निरन्तर सत्ता टिकाइरहेका छन् ।
दक्षिण एसियाका धेरै देशहरूमा न्यायालय, निर्वाचन आयोग तथा अन्य नियामक संस्थाहरू कमजोर छन् । जब संस्थाहरू बलियो हुँदैनन्, राजनीतिक परिवारहरूले आफ्ना सदस्यहरूलाई अघि सार्न सहज हुन्छ ।
पोलिटिकल फेमिलिज इन साउथ इस्ट एसिया शीर्षकमा एक शोध अध्ययन नै गरिएको छ । साउथ इस्ट एसिया रिसर्च नामको उक्त शोध अध्ययनको तीन सय १९ देखि तीन सय २७ सम्म नौ पेज पोलिटिकल फेमिलिज इन साउथ इस्ट एसियाको विषयमा लेखिएको छ । यो शोध जेमी पुर्डेले गरेकी छिन् ।
राष्ट्रिय राजनीतिमा हैसियत बनाएका वर्तमान र पूर्व नेताका परिवारहरूको वर्चस्वमा फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया र सिंगापुर रहेका छन् । राजनीतिक वंशवादबाट निस्केका नेताहरूको वर्चस्व उक्त देशका राजनीतिक प्रणालीमा कायम छ । कतिपय सन्दर्भमा लोकतान्त्रिक आन्दोलन र निर्वाचन प्रक्रियाबाट नेतृत्वमा आएका राजनीतिक परिवारका वंश, नाता कुटुम्ब , भाइभतिजाहरूको प्रभाव राजनीतिक प्रणालीमा रहेको पाइन्छ ।
श्रीलंकामा चन्द्रिका कुमारातुंगापछि राजपाक्षे र विक्रमसिंघे परिवारको शासनकालमा चरम भ्रष्टाचार भएपछि देश टाट पल्टिने अवस्था आउँदा मौजुदा राष्ट्रपति दिशानायकेले राजनीतिमा नयाँ जीवन दिने प्रयास गरिरहेको देखिन्छ ।
पाकिस्तान स्वतन्त्र भएपछि त्यहाँ सैनिक शासन लामो समय रहेको देखिन्छ । सैनिक शासनलाई हटाइदिँदा जुल्फिकार अलि भुट्टोको पारिवारिक विरासत र सरिफ उदाएपछि अहिले नवाज सरिफका भाइ शहबाज सरिफ प्रधानमन्त्रीको रुपमा रहेका छन् । पारिवारवादबाट अलग खेलको विरासत बोकेर राजनीतिमा आएर प्रधानमन्त्री बनेका इमरान खान भ्रष्टाचारको मुद्दामा जेलभित्र कोचिएका छन् । पर्यवेक्षकहरूका अनुसार सेनाको वर्चस्व स्वीकार नगर्ने राजनीतिक दलका नेताको हैसियत कि त मारिने कि जेल जाकिने नियति हुने गरेको छ । नवाज सरिफ, उनीद्वारा नियुक्त सेनाप्रमुख परवेज मुसरर्फद्वारा पदच्युत गरिए । सेनाकै समर्थनमा उदाएका इमरान खान अहिले जेलमा जाकिनुमा त्यहाँका सैन्य वंशवादको प्रभाव राजनीतिक प्रणालीमा रहेको देखिन्छ ।
बंगलादेशमा त्यहाँका संस्थापककी छोरी शेख हसिना वाजेदको वरिपरि राजनीति घुमिरह्यो भने बेगम खलिदा जियाको वरिपरि राजनीति घुमिरहेको देखिन्छ ।
शेख हसिना बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजीबुर रहमानकी छोरी हुन् ।
बेगम खालिदा जिया बंगलादेशका पूर्व राष्ट्रपति जिया उर रहमानकी विधवा छिन् । उनका पतिले १९७८मा स्थापना गरेको बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष रहेका बेगम खलिदा जिया सन् १९८४ देखि निरन्तर अध्यक्ष रहेकी छिन् ।
भारतमा अखिल भारतीय कांग्रेसका नेता तथा प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुकी छोरी इन्दिरा गान्धी सत्तामा आएदेखि हालसम्म उनकी नाति नातिना राजनीतिमा पकड जमाएको देखिन्छ । भारतको सत्ता इन्दिरा गान्धी,त्यसपछि उनका छोरा राजीव गान्धी प्रधानमन्त्री भएका थिए । भलै अहिले कांग्रेसआई सत्तामा नभए पनि प्रमुख प्रतिपक्षी पार्टीमा उनका नाति राहुल गान्धी छन् भने अब नातिनी प्रियंका गान्धीलाई राजनीति नेतृत्वका लागि तयार गरिँदैदछ ।
राजनीतिमा वंशवादको विरोध गरी सत्तामा आएको भारतीय जनता पार्टीमा पनि त्यो रोग लाग्न सुरु भइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका नाता कुटुम्ब खासै राजनीतिक प्रणालीमा वर्चस्व कायम गर्न नसकेको भए पनि भाजपाका शीर्ष नेता र मन्त्रीका छोरा छोरी मन्त्री र राजनीतिक प्रणालीका संयन्त्रका शीर्षमा बसिरहेका छन् ।
नेपालमा शाह र राणाको वंशवादले थिलथिलो राजनीतिमा कांग्रेसमा कोइराला वंशको राजनीतिक बर्चस्व अहिले पनि कायम छ । राणा वंशको शासन अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका कांग्रेस पार्टीमा मात्रिका कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला तीनै जना प्रधानमन्त्री कृष्णप्रसाद कोइरालाका छोरा हुन । उनीहरुकै निकट नातेदार र प्रभावमा हुर्किएका सुशील कोइराला पनि प्रधानमन्त्री बने । शेखर कोइराला, शशांक कोइराला, सुजाता कोइराला कांग्रेसमा बर्चस्व स्थापित गर्न क्रियाशील छन् ।
आफ्नो शक्तिमा रहँदा छोरी सुजाता कोइरालालाई जवर्जस्त पार्टीमा स्थापित गराउन गिरिजाले बल गर्दा कोइराला परिवारमा नै असन्तुष्टि बढेको थियो । गिरिजाको देहावसानपछि सुजाताको पार्टीमा प्रभाव, बर्चस्व भने कमजोर हुँदै गएको छ ।
यो रोग केवल पुँजीवादी पार्टीमा मात्रै सीमित छैन, वर्गको राजनीतिको दावा गर्ने कम्युनिस्ट पार्टीहरू समेत पार्टीकै अस्तित्व संकटमा पार्ने हदसम्म गएर आफ्ना नातागोतालाई जवर्जस्ती सत्ता र शक्तिमा हावी गराउने रोगबाट आक्रान्त बनेको दृष्टान्त हेर्न अन्त कतै जानु पर्दैन, नेपालमा समेत यो टड्कारो रूपमा देखिन्छ ।
वास्तवमा, वंशवादी राजनीति लोकतान्त्रिक अभ्यासका लागि प्रमुख चुनौती बनिरहेको छ । जबसम्म राजनीतिक दलहरू संस्थागत रूपमा बलियो बनाइँदैनन्, पारदर्शी निर्वाचन प्रणाली लागू गरिँदैन र जनचेतनामा वृद्धि गरिँदैन, वंशवादी राजनीतिको निरन्तरता रहिरहनेछ ।
क्याटेगोरी : जनमञ्च, बिचार
प्रतिक्रिया