Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

जनयुद्ध र हिंसाकाे मार्क्सवादी मान्यता


नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्धलाई हिंसा भएको बताएका छन् । उनकाे यस भनाइपछि माओवादी केन्द्रभित्र केही नेता र कार्यकर्तामा असन्तोष व्यक्त भइरहेको छ । तर, यहाँ प्रश्न उठ्छ— बादलले बोलेको कुरालाई मात्र आधार मान्ने कि मार्क्सवादी विचारधाराको मूल सन्दर्भलाई पनि बुझ्ने ?

जनयुद्ध र माओवादी दस्तावेज

माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म सञ्चालन गरेको सशस्त्र संघर्षलाई ‘जनयुद्ध’ भनिएकाे छ । माओवादी पार्टीका दस्तावेजहरूमा जनसत्ता स्थापनाका लागि वर्गसंघर्ष, हिंसा आवश्यक रहेको कुरा स्पष्ट उल्लेख गरिएको छ । माओवादीले ‘संसदीय व्यवस्था’ असफल भएकाले हिंसात्मक क्रान्ति अपरिहार्य हुने तर्क अघि सारेको थियो ।

तर, हिंसालाई केवल नकारात्मक रूपमा चित्रित गर्ने कि यसलाई मार्क्सवादी दृष्टिकोणबाट व्याख्या गर्ने भन्ने प्रश्न यहाँ उठ्छ । किनभने मार्क्सवादले इतिहासलाई वर्गसंघर्षको शृंखला मान्छ । यसमा बल प्रयोग (हिंसा) अपरिहार्य हुने बताइएको छ । माओवादी केन्द्रकाे दस्तावेजमा अहिले पनि याे कुरा स्वीकार गरिएकाे छ ।

मार्क्सवादी अवधारणा र हिंसा

मार्क्सवादी मान्यतामा राज्य भनेको विशेष प्रकारको हिंसात्मक संगठन हो । जसले कुनै वर्गको दमन गर्छ । वर्गसंघर्षका क्रममा उत्पन्न हुने हिंसालाई ऐतिहासिक द्वन्द्ववादको अभिन्न हिस्सा मानिन्छ ।

जनयुद्ध र हिंसाकाे मार्क्सवादी मान्यता

विश्व सर्वहाराका तीन महान प्रमुख सिद्धान्तकारहरूले क्रान्तिको अनिवार्य शर्तका रूपमा हिंसाको उपयोगबारे यसरी बोलेका छन्:

कार्ल मार्क्स:
“Force is the midwife of every old society pregnant with a new one.”
(“बल हरेक पुरानो समाजको धाई हो, जुन नयाँ समाजलाई जन्म दिन गइरहेको हुन्छ ।”

मार्क्सले क्रान्तिलाई सामाजिक रूपान्तरणको साधनका रूपमा चित्रण गरेका छन् । उनले बारम्बार भन्ने गरेका छन, पूँजीवादी राज्यलाई ध्वस्त पार्न श्रमिक वर्गले बल प्रयोग गर्नैपर्छ ।

भ्लादिमिर लेनिन:
“The state is a special organization of force: it is an organization of violence for the suppression of some class.”
(“राज्य भनेको विशेष प्रकारको बल प्रयोग गर्ने संगठन हो; यो कुनै वर्गको दमनका लागि हिंसात्मक संगठन हो ।” )

लेनिनले बारबार भनेका छन्, शासक वर्गको सत्तालाई उखेल्न श्रमिक वर्गको अधिनायकत्व (dictatorship of the proletariat) अनिवार्य हुन्छ, जसका लागि हिंसात्मक विद्रोह अपरिहार्य हुन्छ ।

माओत्से तुङ:
“Political power grows out of the barrel of a gun.”
(“राजनीतिक शक्ति बन्दुकको नालबाट जन्मिन्छ ।” )

माओले स्पष्ट शब्दमा दाेहाेर्याएका छन, क्रान्ति हिंसात्मक संघर्षको माध्यमबाट मात्र सफल हुन सक्छ । उनले चीनको जनयुद्धको नेतृत्व गर्दै सामन्तवाद र साम्राज्यवादविरुद्ध सशस्त्र संघर्ष गरेका थिए ।

सेतो हिंसा र रातो हिंसा

मार्क्सवादी सिद्धान्तमा हिंसाका दुई रूप छन्—
१. सेतो हिंसा: शासक वर्गले राज्य संयन्त्र प्रयोग गरेर सर्वहारा वर्गलाई दमन गर्ने हिंसा ।
२. रातो हिंसा: उत्पीडित वर्गले आफ्नो स्वतन्त्रता हासिल गर्न गरिने प्रतिरोधात्मक हिंसा ।

माओवादी दस्तावेजहरूमा जनयुद्धलाई “अन्यायपूर्ण राज्यद्वारा थोपिएको सेतो हिंसाविरुद्ध जनताले उठाएको रातो हिंसा” को रूपमा चित्रण गरिएको छ । माओवादीले पुरानाे दस्तावेज पनि पढ्दैनन कि कसाे ?

रामबहादुर थापा बादलले जनयुद्धलाई हिंसा भनेको सन्दर्भमा माओवादी कार्यकर्ताहरूले रोइलो गर्नुकाे अर्थ छैन । उनले बोलेको कुरा मार्क्सवादी मान्यता विपरीत छैन । उनले जनयुद्धको विरोध गरेका होइनन्, बरु मार्क्सवादी दृष्टिकोणमै हिंसाको अपरिहार्यता स्वीकार गरेका हुन् ।

जनयुद्धलाई केवल हिंसाका रूपमा चित्रित गर्न खोज्नु वा बादलको भनाइलाई तोडमोड गर्नु मार्क्सवादी दृष्टिकोणको गलत व्याख्या गर्नु हो । माओवादी केन्द्रभित्रका केही नेता र कार्यकर्ताले यस विषयमा भावनात्मक प्रतिक्रिया दिइरहे पनि यो विशुद्ध रूपमा मार्क्सवादी अवधारणामा आधारित तर्क हो ।

रामबहादुर थापाको पार्टी रोजाइ गलत हुन सक्छ, तर उनले बोलेको कुरा मार्क्सवादसँग मेल खान्छ । त्यसैले यो विषयलाई तोडमोड गर्दै राजनीतिक स्यालहुइँया गर्नु तर्कसंगत देखिँदैन ।


क्याटेगोरी : बिचार
ट्याग : #Politics, #Rambahadur Thapa Badal, #Yogesh Khapangi

प्रतिक्रिया


ताजा अपडेट