प्रेस सेन्टरलाई स्वाभिमानी र जनपक्षीय बनाउनुपर्ने आवश्यकता

नेपालको पत्रकारिता क्षेत्रमा प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेलेको छ । यो संगठन श्रमजीवी पत्रकारहरूको स्वतन्त्र धारका रूपमा स्थापित हुनुपर्छ भन्ने हाम्रो निरन्तरको माग हो । प्रेस सेन्टर माओवादी केन्द्रको पेशागत शुभेच्छुक संगठन हो तर यो वाइसीएलजस्तै भातृ संगठन हुन सक्दैन । यस संगठनको आधारभूत मान्यता भनेको जनपक्षीय पत्रकारिताको रक्षा र विकास गर्नु हो, जसको जग कृष्ण सेनहरूको बलिदान, महेश्वर दाहालहरूसहित सयौंको त्याग, क्रियाशीलता, इमान्दारिताले बनेको छ । यही विरासतलाई जोगाउनका लागि हाम्रो संघर्ष हो ।
तर, पछिल्लो समय प्रेस सेन्टरको स्वायत्त पहिचान कमजोर पारिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्व चयन बालुवाटारमा लगेर गरिनु हुँदैन, बरु प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियनबीच छलफल गरेर निर्णय लिनुपर्छ भन्ने हाम्रो अडान थियो । तर, सेण्टरका अध्यक्ष विष्णु सापकोटाको गलत नीति र पुच्छरवादी प्रवृत्तिका कारण प्रेस सेन्टरलाई कमजोर बनाइयो । महासंघको नेतृत्व चयनको गलत अभ्यास पहिला सेण्टरबाटै बालुवाटारमा लगेर गरियो । एमाले अध्यक्ष केपी शर्मा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तजविजीमा महासंघको नेतृत्व चयन गराउने वातावरण बनाइयो । पछि सेण्टरलाई अलग्याएर बालुवाटारबाट नेपाली कांग्रेस अध्यक्ष शेरबहादुर देउवामार्फत युनियनलाई अगाडि सारियो । हामीले यसको कडा प्रतिवाद गर्यौँ ।
प्रेस सेन्टरको बलियो स्थिति
हामी सबैलाई थाहा छ, गोविन्द आचार्यलाई महासंघको अध्यक्ष बनाउँदा, ओम शर्मालाई महासचिव बनाउँदा, रोशन पुरी लगायतका नेतृत्वलाई जिताउँदा पनि प्रेस सेन्टरको महासंघमा सदस्यता संख्या कमजोर थियो । पछिल्लो निर्वाचनमा महासंघमा रहँदा रोशन पुरी, रामकृष्ण अधिकारी लगायतका साथीहरूको मेहनतका कारण सेन्टरको महासंघको सदस्यताको स्थिति निकै बलियो थियो । हामी स्वतन्त्र लडेर पनि जित्ने अवस्थामा थियौं । हाम्रो सुरुवातदेखिको माग नै त्यही थियो । एमाले–कांग्रेसले माओवादीलाई बालुवाटारबाट निकालेर, प्रेस सेण्टरलाई अलग्याएर महासंघको नेतृत्व खडा गरेपछि पनि हामीले रोशन पुरीकै नेतृत्वमा जान जोड गर्यौं । तर, सेण्टरको नेतृत्व पुच्छरवादी चिन्तनबाट निर्देशित भयो र स्वतन्त्र पहिचानको रक्षा गर्न असफल रह्यो । अरूलाई नै नेतृत्व दिएर जाने गलत कार्य गरियो ।
हामीले यसपटक जितभन्दा बढी मुद्दा बचाउनु पर्छ भन्ने सोच्यौँ र निर्वाचनमा उठ्ने योजना बनायौं । नेतृत्वले हामीसँग सल्लाह नै नगरी उम्मेदवारका बारेमा निर्णय गर्यो । यदि हामीसँग सोधेको भए र मुद्दामा सहमति भएको भए नउठ्न पनि सकिन्थ्यो । जब हामी उठ्यौँ, योगेश खपाङ्गी, फणीन्द्र फुयाल, जगत राई लगायतका साथीहरूलाई संगठनात्मक सामान्य विधि पनि नअंगाली, एकपटक स्पष्टीकरण समेत नलिई कारबाही गरियो । आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा महासंघका पूर्व केन्द्रीय सदस्य देवकुमार यादवलाई निलम्बन गरियो तर विपक्षी उम्मेदवारको प्रस्तावक बनेर सघाउनेहरूलाई केही गरिएन । किनभने सेण्टरको नेतृत्वको इच्छा विपरीत टिकट पाएकाहरुका विरुद्ध नेतृत्वको भित्री योजनामा नै वागी विद्रोही बनाउने काम भयो ।
प्रेस सेन्टरको भविष्य र आवश्यक मार्गचित्र
यो दोहोरो मापदण्ड मात्र होइन, नेतृत्वको आँखा चिम्लेर भजन गाउने, मुद्दा छाडेका, पत्रकारिता नगरेका बिचौलियाहरूको प्रेस सेण्टरलाई अखडा बनाउने प्रयास भइरहेको छ । सीमित नेतृत्वको दाम कमाउनका लागि माग्ने कमण्डलु बनाउन खोजिदैंछ ।
आउँदो चैत १६, १७ गते प्रेस सेन्टरको अधिवेशन हुँदैछ । हामी अधिवेशनमा भाग लिन पाउँ वा नपाउँ यसले केही फरक पार्दैन । तर, यसपटक नेतृत्वका लागि पुच्छरवादी चिन्तन बोकेका व्यक्तिहरू नेतृत्वका लागि उपयुक्त हुँदैनन् । प्रेस सेन्टरलाई स्वतन्त्र, स्वाभिमानी र जनपक्षीय बनाएर संगठनको आदर्श बचाउनु जरुरी छ ।
हामीलाई पद होइन, जनपक्षीय पत्रकारिताका लागि, श्रमजीवी सञ्चारकर्मीको भरोसायोग्य सुदृढ संगठन बनाउन चाहिएको हो । साधारण सदस्य भएर पनि गर्व गर्न सकिने प्रेस सेन्टर बनाउनु पर्छ । यो संगठन जनपक्षीय पत्रकारहरूको साझा थलो हुनुपर्छ, जहाँ तुच्छ स्वार्थबाट अभिप्रेरित सत्ता, शक्तिको पिछलग्गुहरू होइन, साँचो अर्थमा जनपक्षीय, क्रान्तिकारी पत्रकारिता गर्नेहरूको वर्चस्व हुनुपर्छ । स्वाभिमानी र इमानदार पत्रकारहरू अबको संगठन निर्माणमा अग्रसर हुन आवश्यक छ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया