Techie IT
Samayabaddha
शुक्रबार, ७ चैत्र, २०८१

अन्धभक्तिगानले पत्रकारको कलम धारिलो बन्दैन


पत्रकार र पत्रकारिता पेशाको काम के हो ? सहजै उत्तर आउँछ, प्रश्न सोध्ने । प्रजातान्त्रिक मुलुकमा पत्रकारले आम जनताका मनमा उठेका प्रश्न निर्धक्कैसँग सोध्न पाउँछन् । दलका नेता, मन्त्री, तथा राज्यको उच्च ओहदामा बसेकाहरुलाई प्रश्न सोधेकै आधारमा सत्ता र शक्तिले पत्रकारलाई अपमान गर्ने, राज्यले दिएको सुविधा (प्रेस पास) खोस्ने, निलम्बन गर्ने काम प्रेस स्वतन्त्राताबिरुद्धका हर्कत हुन् । यद्यपी पत्रकार र पत्रकारिता क्षेत्रमा लागेका ‘राज्यका चौथो अंग’ भनिएकाहरुले पत्रकार आचारसंहिताको पालना भने गर्नै पर्छ । प्रश्न सोधेकै आधारमा जोसुकैले पनि पत्रकारमाथि ‘कारबाही’ गर्न पाइँदैन । पत्रकारिता क्षेत्रको नियमन तथा अनुगमन गर्ने अधिकारप्राप्त निकाय नेपालमा प्रेस काउन्सिल छ । काउन्सिलले त्यसउपर के–कसो भएको हो भन्नेबारे अनुगमन, अनुसन्धान, अध्ययन गरेर कानुन बमोजिम कारबाही गर्ने अधिकार पाएको छ । काउन्सिलले आवश्यकता महसुश भएको खण्डमा अर्को ‘स्टेकहोल्डर’ निकाय नेपाल पत्रकार महासंघसँग पनि सल्लाह तथा परामर्श लिन सक्छ ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेकै आधारमा आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गर्यो । ०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लंघन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरुको पास निलम्बन गरेको जनाएको छ । पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल हुँदाहुँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल नगरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष नेपाल पत्रकार महासंघले आग्रह गर्दै प्रेस विज्ञप्ति जारी ग¥यो । तर यसउपर काउन्सिलले कुनै काम गरेन । न त पत्रकार महासंघले यसबारे कुनै ‘फलोअप’ गरेको पाइयो । बरु राजनीतिक दलनिकट पत्रकारका भातृ संस्थाहरुले यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमार्फत निकै वकालत गरे । पत्रकारको प्रेस पास निलम्बन जस्तो गम्भीर विषयमा सबै पत्रकारहरुको राय एकमत भएको पाइएन । यहाँ पत्रकारिता पेशा र प्रेस स्वतन्त्रता र प्रेस कानुन सरकार पक्षका पत्रकारका लागि एउटा र प्रतिपक्षका लागि अर्को हुने गरेको देखियो ।

‘चौथो अंग’को यो अपमान

अव सुरु गरौँ दलीय पत्रकारिताको । राजनीतिक दल निकटका पत्रकार र तिनका भातृ संगठनहरु जस्तै प्रेस सेन्टर, प्रेस चैतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, प्रेस नेपाल आदि भनेका ती दलका अघोषित ‘प्रेस सल्लाहकार’ हुन् । यिनले आफ्ना दल निकटका नेताको ‘अन्धभक्त’ तरिकाले तारिफ गर्ने र आफू निटकका नेता र दलले गलत कृयाकपाल गरेका भएपनि त्यसलाई ‘अन्धभक्त’ तरिकाले समर्थन गर्ने गरेको पाइन्छ । यस्तो कृयाकपाल जसले गरेको भएपनि प्रेस स्वतन्त्रताको नाममा पाएको छुटको दुरुपयोग हो । जनताले स्वीकारेको र सम्मान गरेको ‘चौथो अंग’को यो अपमान हो । गलत प्रबृत्तिका बिरुद्ध ‘तेरो’ र ‘मेरो’ भन्ने दृष्टिले नहेरी निस्पक्ष तरिकाले लेख्ने हो भने देशमा व्याप्त भ्रष्टाचार, अनियमितता न्यूनिकरण तथा संविधानमा उल्लेख गरिएको ‘समाजवादउन्मुख’ मार्गमा नेपाललाई अगाडि बढाउन सकिने थियो । समाजमा लोकतन्त्र (समाजवाद) बिरुद्ध पश्चगामी राजावादी पक्षधरहरुको सल्बलाहट पछिल्लो समय निकै बढेर गएको छ । यसका गलत र सही पाटा/पक्षबीच केलाएर, अध्ययन तथा अनुसन्धान गरेर विश्लेषण गर्नु आजका ‘चौथो अंग’हरुको प्रमुख कार्यभार हो । कसैको पनि अन्धभक्तिगानले पत्रकारिताको कलम धारिलो हुँदैन, बरु यो भुत्ते हुँदै जान्छ ।

प्रश्न सोध्दा ‘निरङ्कश’ प्रेस सन्टरको नेतृत्व

पछिल्लो समय नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन प्रेस सेन्टरमा प्रश्नदेखि नेतृत्व निकै कयरतापूर्ण बनेको छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगललाई सेन्टरमा ‘विष्णु भगवान’ झैँ पूजा गर्नेहरुलाई काखा र प्रश्न गर्नेहरुलाई पाखा लगाउने गरेको आरोप लाग्ने गरेको छ । नेपाल पत्रकार महासंघको तीन महिना अघि सम्पन्न निर्वाचनमा पनि उनले आफ्ना पक्षकालाई कोटको खल्तीबाट क्याफेमा लगेर टिकट बाँडेको आरोप लाग्ने गरेको छ । उनी अध्यक्ष भएर आएसँग संगठन भित्र वैचारिक वहस कहिल्यै पनि नभएको देशका अधिकाँश सेन्टरनिकट पत्रकारहरुको भनाई छ । माओवादी सत्तामा रहँदा आफूनिकटकालाई सरकारी नियुक्तिमा लगाउन, मन्त्रीका प्रेस सल्लाहकार बनाउनमै र अन्ततः आफैँ राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको स्वकीय सचिवमा नियुक्ति खाएपछि संगठनको केन्द्रीय महाधिवेशनको मिति तोकिएर पनि निर्धारित समयमा हुन सकेको छैन । एक जना सेन्टर निकटका पत्रकारले नाम उल्लेख नगरिदिने शर्तमा डराउँदै भनिन्, ‘लौ न त मलाई पनि राससमा लगाएदिनु भनेको त पछि थाहा भयो त्यहाँ उनकै सिफारिसमा कांग्रेसनिकट पत्रकारलाई पठाइएछ ।’

संगठनभित्र आफूलाई ‘छोटे राजा’ ठान्नेहरु यतिबेला संगठनको अध्यक्ष पद हत्याउन कन्दनी कसेर खुमलटार र हात्तीवन धाइरहेका छन् । खुमलटार प्रचण्ड निवास हो भने हात्तीवन नारायणकाजी श्रेष्ठको निवास हो । पत्रकारहरुले दुःखजिलो गरेर, लेबी तिरेर जम्मा/स्थापना गरेको कल्याणकारी कोषमा रहेको सात लाख रुपैयाँ भन्दा धेरै रकम दुरुपयोग भएको सेन्टरका पदाधिकारीहरुबाटै आवाज उठेपनि महासचिव, कोषाध्यक्ष र केही पदाधिकारीहरु नेतृत्वसमक्ष प्रश्न गर्न हच्किएका/डराएका छन् । संगठनलाई बिधिसम्बत सञ्चानल गर्न माग गर्नेहरुलाई आसन्न महाधिवेशनमा उपस्थित हुँनै नदिनेगरी कारबाही तथा निलम्बन गरिएको छ । यहाँ ब्राम्हणवादी सोच भएकाहरुले छानी छानी मधेशी, जनजातीलाई कारबाही तथा निलम्बन गरिएको छ । उनीहरुलाई स्पष्टिकरणको मौकासमेत नदिई संगठनबाट निस्काशन गर्नेसम्मको धम्की अध्यक्ष जुगल र महासचिव सन्तोष पौडेलले दिएका छन् । पत्रकारलाई प्रश्न गर्न दबाएर, तर्साएर र धम्क्याएर यिनीहरुले कस्तो संगठन निर्माणको परिकल्पना गरेका हुन् सेन्टरका पत्रकारहरु आफैँसँग सोध्न पनि तर्सिएका छन् ।

एकातिर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड माओवादी केन्द्रलाई अव फेरि २०६४ सालको जत्रो ठूलो पार्टी बनाउने भन्दै तराई–मधेश रुपान्तरण अभियान सञ्चालन गरेर बुढेसकालमा पनि युवा झैँ दौडिइरहेका छन् । अर्कातिर प्रचण्डलाई ‘बा’ र उनका परिवारका सदस्यहरुलाई दिदी, भिनाजु, भान्जा, भान्जी भन्दै लोलोपोतो गरेर चाकडी गरिरहेका छन् । के प्रश्नदेखि तर्सिएर भाग्ने वर्तमान प्रेस सेन्टरको नेतृत्वले प्रचण्डको ठूलो पार्टी बनाउने योजना साकार पर्दैछन् कि तुषापात ?  यो प्रश्न यतिबेला गम्भिर रुपले खडा भएको छ ।

एक विश्वस्त श्रोतका अनुसार सेन्टरभित्र प्रश्न सोध्ने मधेसी, जनजाती लगायतका अन्य कृयाशील पत्रकारहरुलाई किन कारबाही गरेको ? तुरुन्त निलम्बन फुकुवा गर्नु भन्दै माओवादी केन्द्रका एक प्रभावशाली नेता एवम् पूर्वमन्त्री मातृका यादव अध्यक्ष जुगलसमक्ष गर्जिएपछि उनले हुन्छ सर, म सबैको निलम्बन महाधिवेशन अघि नै फुकुवा गर्छु भन्दै आत्तिएर मुन्टो निहुराएका थिए ।

प्रेस सेन्टरलाई स्वाभिमानी र जनपक्षीय बनाउनुपर्ने आवश्यकता

‘युद्ध संवाददाता’ जन्माउने प्रेस सेन्टरको इतिहास र वर्तमान नेतृत्व

प्रेस सेन्टर : गुटवाद, निरंकुश वा सामुहिक संस्था ?

प्रश्न सोध्ने कि अन्धभक्त हुने ?


क्याटेगोरी : बिचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट