बढ्दो बायु प्रदूषण र रोकथामका उपाय

केही हप्तादेखि नेपालको राजधानी काठमाडौं र अन्य धेरै सहरहरुमा बायु प्रदुषण बढेको छ । काठमाडौं धेरै दिनदेखि विश्वकै प्रदूषित सहर बनेको तथ्याङ्कहरु बाहिरिएका छन् । काठमाडौंका केही स्थानको प्रदूषणको तह विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तोकेको सुरक्षित मात्राभन्दा कैयौँ गुना बढि देखिएको छ । केही सातादेखि धुँवायुक्त विषालु तुँवालोका कारण मानिसहरुमा सास फेर्न गा¥हो हुने, आँखा पोल्ने, खोकी लाग्ने लगायतका स्वस्थ्य समस्या उत्पन्न भएका छन् ।
बर्सेनि अक्टोबरदेखि ज्यानुअरीसम्म हिउँदका महिनामा भारतमा न्यून तापक्रम, धुवाँ, धुलो, सुस्त गतिको वायु, सवारीसाधनबाट निस्किने ग्यास र बालीनालीका खोस्टा चलाउने चलनका कारण प्रदूषण ह्वात्तै बढ्छ । त्यसको प्रभाव छिमेकी मुलुक नेपालमा पनि पर्ने गरेको छ । यसले गर्दा नेपालमा पनि वायु प्रदूषण बढ्दो क्रममा छ । केही दिनदेखि देशका विभिन्न स्थानमा धुवाँ मिसिएको तुँवालो फैलिएको छ । केही हप्तादेखि काठमाण्डौैं उपत्यका वायु गुणस्तरको सूचकाङ्कका आधारमा विश्वका प्रदूषित सहरको सूचीमा शीर्ष १० स्थानभित्रै छ ।
वायुमा प्रदूषण गर्ने तत्वहरु मान्छेका गतिविधिबाट उत्पन्न हुन्छन् । सवारीसाधन चलाउन र खाना पकाउन प्रयोग गरिने जीवाश्म इन्धनबाट, धूलोयुक्त आँधी, डढेलो र ज्वालामुखीबाट पनि ती तत्व वायुमण्डलमा निस्किन्छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)का अनुसार वायुको गुणस्तर गर्ने उपकरणहरुमा निश्चित खालका प्रदूषक तत्वको पहिचान गर्न सक्ने सेन्सर जडान गरिएको हुन्छ ।
केहीले लेजर प्रयोग गर्दै ‘पार्टिक्युलेट म्याटर’ भनिने सूक्ष्म तत्वको घनत्व मापन गर्छन् भने अन्यले भूउपग्रहबाट खिचिएका तस्बिरमा निर्भर हुँदै पृथ्वीले परावर्तन वा उत्सर्जन गरेको ऊर्जाको विश्लेषण गर्छन् । पीएम २.५, पीएम १०, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड मानवको र वातावरणीय स्वास्थ्यमा प्रभाव पार्ने प्रदूषक तत्व हुन् । पीएम २.५ को आकार २.५ माइक्रोमिटर वा त्यसभन्दा कम हुन्छ । सूक्ष्म हुने भएकाले यसबाट स्वास्थ्यमा सबैभन्दा उच्च जोखिम रहन्छ । त्यस्ता सूक्ष्म कणहरू हाम्रो रक्तप्रवाहमा पुग्दै विभिन्न रोगको कारक बन्न सक्ने चिकित्सकहरुको दाबी छ
एक्यूआईको मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ भने ५०० हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा हुने सङ्केत गर्छ । एक्यूआईले हाम्रो वायु कति स्वच्छ वा प्रदूषित छ भन्ने अनि त्यसबाट स्वास्थ्यमा दुष्प्रभाव पर्ने सम्भावना देखाउँछ । प्रदूषित वायुमा सास फेरेको केही घण्टा वा दिनमै त्यसको प्रभाव महसुस हुन थाल्छ । सन् २०२१ मा यूएनईपी र उसको साझेदार आईक्यूएअरले पहिलो पटक वास्तविक समय अवस्था देखाउने ‘रीअल–टाइम एक्सपोजर क्याल्कुलेटर’ सार्वजनिक गरेको थियो । त्यसले संसारका ११७ देशमा रहेका ६,४७५ उपकरणबाट प्राप्त प्रमाणित विवरण केलाउँछ । डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ । तर ४००–५०० पुग्दा त्यसलाई “गम्भीर“ मानिन्छ ।
डब्ल्यूएचओका अनुसार वायुमा हुने ’पार्टिक्युलेट म्याटर’ र अन्य प्रदूषक तत्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ । त्यस्तो प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ । ओजोनले दम भएका बिरामीलाई अझ गाह्रो बनाउँछ भने नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडका कारण दम र फोक्सामा भिन्न समस्या उत्पन्न हुन्छ ।
डब्ल्यूएचओका अनुसार कमजोर वायु गुणस्तरले गर्भमै भ्रुणको मृत्यु हुने, समय नपुगी बच्चा जन्मिने अनि सङ्ज्ञात्मक दुर्बलता र विस्मृतिजस्ता स्नायुप्रणालीसम्बन्धी समस्याहरू उत्पन्न गराउँछ ।
तसर्थ सुख्खा मौसममा हुने बायु प्रदुषणबाट स्वास्थ्यलाई जोगाउन मास्कको उचित प्रयोग गर्ने, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कने गर्नु नै यसबाट जोगिने सरल उपाय हो । त्यसका अलवा सवारी साधनबाट निस्किने धँुवाको चेकजाँच गर्ने, विधुतीय सवारी साधानको प्रयोगमा जोड दिने र त्यस्ता सवारी साधन खरिदमा राज्यले सहुलियत प्रदान गर्ने जस्ता कार्यहरु गर्न सकेको खण्डमा बायु प्रदूषण नियन्त्रणमा केही सहजता हुन सक्छ ।
क्याटेगोरी : बिचार, स्वास्थ्य
प्रतिक्रिया