Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

किन बढिरहेको छ लगातार सुनको मूल्य ?


सीता अधिकारी

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

वैशाख महिना शुरु भएसँगै विहेका लगनहरु शुरु भएका छन् । नेपालको संस्कार संस्कृतिमा असाध्यै महत्वपूर्ण मानिएको सुनको वृद्धिले नेपालीहरु चिन्तित देखिन्छन् ।

नेपालमा मात्र होइन पछिल्लो समय संसारभर सुनको मूल्य निरन्तर बढिरहेको छ । विश्व बजारमा हुने मागको आधारमा सुनको मूल्य निर्धारण हुने गर्छ ।

संसारभर नै सुनलाई सुरक्षित सम्पत्तिको रुपमा हेरिने गरिन्छ । जब अन्य क्षेत्रमा लगानीको सुरक्षामा संसय पैदा हुन्छ त्यस्तो बेलामा सुनमा लगानी बढ्न जान्छ ।

हालैका दिनहरुमा सुनको मूल्य यसरी बढ्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति बढी जिम्मेवार छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनिएलगत्तै अमेरिका प्रवेश गर्ने स्टिल र एल्युमिनियममा २५ प्रतिशतसम्मको आयात कर लगाउने घोषणा गरे । उनले केही उत्पादनमा दिइएको कर छुट पनि हटाए । यी कदमले विश्व व्यापार प्रणालीमा असन्तुलन ल्यायो र बजारमा अनिश्चितता बढायो ।

अमेरिकाले मुख्यतः क्यानडा, मेक्सिको, चीन, दक्षिण कोरिया, ब्राजिल, र जापानबाट हरेक वर्ष झण्डै ५० अर्ब डलर बराबरको स्टिल र एल्युमिनियम आयात गर्छ तिनै वस्तुमा २५ प्रतिशतसम्मको आयत कर लगाउने ट्रम्पले घोषणा गरे ।

ट्रम्पको यस्तो नीतिले सबैभन्दा बढी असर विश्वव्यापी लगानी प्रवृत्तिमा प¥यो । जब बजार अस्थिर बन्छ, लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ आकर्षित हुन्छन । त्यस्तो अवस्थामा सुन सर्वाधिक भरोसायोग्य सम्पत्ति ठहरिन्छ ।

डरल कमजोर हुँदा महंगियो सुन

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रायः अमेरिकी डलरमा निर्धारण हुन्छ । यसैले डलरको मूल्य घट्दा सुनको मूल्य सिधा प्रभावित हुन्छ । जब डलर कमजोर हुन्छ, अन्य देशको मुद्रा सापेक्षिक रूपमा बलियो हुन्छ ।
यसले गर्दा अन्य देशका लगानीकर्ताहरूको खरिदशक्ति बढ्छ । अर्थात उनीहरूले कम मूल्यमा बढी सुन किन्न सक्छन् । जब धेरैले एकैपटक सुन किन्न थाल्छन् त्यसको असर मूल्यमा पर्छ । अर्थशास्त्रको नियमले नै भन्छ माग बढेपछि त्यसको मूल्य बढ्छ, माग घटे मूल्य पनि घट्छ । अहिले चाइना, भारत लगायतका देशहरुले अध्याधिक सुन खरिद गरेको कारण यसको मूल्य बढेको बताइएको छ ।

मुद्रास्फीति र लगानी

डलर कमजोर हुने समयमा मुद्रास्फीति बढ्न सक्छ । मुद्रास्फीति हुँदा नगदको मूल्य घट्छ तर सुनको मूल्य टिकिरहन्छ । यस्तो बेलामा मानिस नगदभन्दा सुनतर्फ आर्कषित हुन्छन् ।

अमेरिकी डलर कमजोर हुँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू सुनलाई सुरक्षित विकल्पको रूपमा रोज्ने गर्छन् । यसले सुनको माग बढाउँछ र मूल्य चुलिन्छ । यही कारणले गर्दा धेरै पटक बजार अस्थिर हुँदा सुन महँगो हुँदै गएको देखिन्छ ।
सुनलाई संकटको समयमा भरोसायोग्य सम्पत्ति मानिन्छ । त्यसैले डलर कमजोर हुनासाथ लगानी सुनतर्फ सर्ने गर्छ, जसले मूल्यमा दबाब बढाउँछ ।

ट्रम्पको निर्णयपछि धेरै देशको मुद्रा कमजोर भएको छ । मुद्रा कमजोर हुँदा आयात महँगो हुन्छ, जसको प्रत्यक्ष असर उपभोक्तासम्म पुग्छ—किराना पसलदेखि औद्योगिक उत्पादनसम्म महँगी देखिन्छ ।

यस्तो महँगीले मानिसलाई मूल्य स्थिर राख्ने सम्पत्तितर्फ आकर्षित गर्छ, जसमध्ये प्रमुख विकल्प सुन मानिएको हो । सुन विश्वव्यापी रूपमा स्वीकृत सम्पत्ति पनि हो ।

अन्तमा

सुनको मूल्य बढ्नु विश्वको समष्टिगत अस्थिरताको संकेत हो । अमेरिकी राष्ट्रपतिका निर्णय, व्यापार युद्धको डर, मुद्रा अवमूल्यन, बजारमा महँगी, र लगानीकर्ताको मनोविज्ञानले गर्दा सुनको मूल्य चुलिरहेको छ । इतिहासले पनि के देखाएको छ भने संकटको बेलामा सुनले मात्र लगानीकर्ताको भरोसा जित्न सक्छ ।

आजको दिनमा सुनको मूल्य प्रतिआउन्स ३३३९.७६ डलरले कारोबार भइरहेको छ । ३० दिनमा सुनको मूल्यमा प्रतिआउन्स २९५.९५ डलरको बढोत्तरी भइसकेको छ । जुन ऐतिहासिक रूपमा सबैभन्दा माथिको स्तर हो । यदि विश्वमा यस्तो अस्थिरता रहिरह्यो भने आगामी दिनमा सुनको मूल्य अझै बढ्ने प्रक्षेपण गर्न सकिन्छ ।

 


क्याटेगोरी : अर्थ, बिचार, समाचार

प्रतिक्रिया


ताजा अपडेट