राजनीतिमा नैतिकताको खडेरी

राजनीति जनताको भरोसा हो । नेतृत्व जनताको प्रतिबिम्ब हो । र, पद नैतिकतासँग जोडिएको जिम्मेवारी हो । तर, जब नेताहरूको सार्वजनिक जीवनमा यी मूल्यहरू गुम्न थाल्छन् तब जनताले प्रश्न गर्छन—के राजनीति अब केवल नाम, दाम र तुच्छ व्यक्तिगत स्वार्थको खेल मात्रै हो ?
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पछिल्लो समय युवाहरूलाई रातो पोशाकमा सजाएर अघिपछि लगाएर मर्निङ वाकमा देखिएपछि सामाजिक र राजनीतिक क्षेत्रको चासोको केन्द्र बने । रूपमा युद्धकालीन क्रान्तिकारी शैली पुनः देखाउने जस्तो देखिए पनि त्यसको गहिरो राजनीतिक र नैतिक पृष्ठभूमिमा प्रश्न उठ्न थालेको छ ।
पासाङ आठ वर्षसम्म राष्ट्रको दोस्रो वरियताको पदमा रहेर राज्यका सम्पूर्ण सुविधा उपभोग गरिसकेका व्यक्ति हुन् । तर, त्यही कार्यकालमा उनले कुनै आदर्श उदाहरण प्रस्तुत गरेनन् न त जनपक्षीय नीति वा योजना अघि सार्न सहयाेग गरे । उनका दुवै छाेराहरू, सचिवालयमा रहेकाहरूकाे कृयाकलाप विवादित बने । उनी आज जनतामाझ फर्किएका छन्—तर प्रश्न यो हो कि उनी के लिएर वा थप लिन फर्किएका हुन् ?
झनै उनको सार्वजनिक छविमा त्यतिबेला गम्भीर प्रश्न उठ्यो जब काठमाडौंमा उनले खरिद गरेको जग्गा र घरको श्रोतबारे माओवादीकै एक पूर्व सहकर्मी—नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको पार्टीले उनको घरको कम्पाउण्डमै ब्यानर टाँसेर त्यसकाे स्राेतबारे जवाफ माग्यो । यो कुनै प्रतिशोध नभई भित्रैको असन्तोषको एक प्रकारको अभिव्यक्ति हो । याे आमजनतामा पनि मौन तर गहिरो रूपमा रहेको छ ।
उक्त सम्पत्ति केवल व्यक्तिगत स्वामित्वको विषय हो कि जनयुद्धका नाममा उठेको सहयोग, चन्दा वा क्याण्टाेनमेण्टकाे रकम वा एकाघरका छाेराहरूकाे विवादित आर्थिक काराेबारकाे नतिजा हो—यसबारे उत्तर दिनु आजको आवश्यकता हो ।
यदि पासाङ साँच्चिकै आफ्नो पुरानो क्रान्तिकारी विश्वास र जनताप्रतिको समर्पण पुनर्स्थापित गर्न चाहन्छन् भने उनको सम्पत्तिलाई पार्टीकरण गरी त्यसमा युद्धका क्रममा घाइते भएका, वेसहारा जनसेनाहरू, जनयुद्धले विचल्लीमा परेका परिवारहरू र आज पनि राज्यबाट उचित सम्मान नपाएका र आर्थिक रूपले विपन्न सहिदका परिवारहरूको सामूहिक आवासको व्यवस्था गर्नु उत्तम हुनेछ ।
त्यसरी मात्र उनले आफूमा बाँकी रहेको जनसमर्पण देखाउन सक्छन् । अन्यथा, पार्टीमा अहिलेको उपस्थितिलाई जनताले यसरी बुझ्ने छन्—कि उनी आफ्नो नाम, दाम र सम्पत्तिको संरक्षण गर्न माओवादी केन्द्रमा पुनःस्थापित भएका हुन् ।
आज माओवादी आन्दोलन नयाँ गन्तव्यको खोजीमा छ । यस यात्रामा पुराना नेताहरूले केवल भावनात्मक आह्वान वा क्रान्तिकारी झल्को देखाएर जनतालाई तान्न सक्दैनन् । जवाफदेही व्यवहार, नैतिक प्रतिबद्धता र विगतका प्रश्नहरूप्रति स्पष्ट उत्तरबिना जनताको विश्वास गुम्न मात्रै सक्छ ।
राजनीतिमा भरोसा पुनर्स्थापित गर्न आज पासाङजस्ता नेताहरूले आफ्नो विगतसँग इमानदार हुनु जरुरी छ—जसरी युद्धमा इमानदार थिए, त्यसरी नै शान्तिमा पनि जनताको न्यायप्रतिको अपेक्षालाई आत्मसात गर्न जरुरी छ ।
राजनीति अब देखावटी क्रान्तिको युग होइन—यो अब जवाफदेही नेतृत्व, पारदर्शिता र नैतिकताको युग हो ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया