शिक्षक आन्दोलनका अनुत्तरित प्रश्न र नखुलेका रहस्य

‘अधिकार मागेर होइन खोसेर लिनुपर्छ’ भन्ने विश्वव्यापि मान्यता रहेको छ । यसकै जगमा टेकेर विश्वमा भयावह क्रान्तिका लहर चले । आन्दोलनका अपरिमेय अग्नी ज्वाला दन्किए । विश्वमा भएका महाने जनक्रान्ति मध्य फ्रान्सेली क्रान्ति र नेपालमा भएको माओवादीको सशस्त्र युद्ध करिब १० वर्ष चलेको थियो । अमेरिकी स्वतन्त्र संग्राम ९ वर्ष, चिनियाँ क्रान्ति ४ वर्ष र औद्योगिक क्रान्ति ८० वर्ष चलेको इतिहास छ भने रुसी अक्टोबर क्रान्ति १०० दिनमा सकिएको थियो ।
नेपालमा चलेका राज्य विप्लवका क्रान्ति एवम् आन्दोलनको विगतलाई फर्केर हेर्दा २००७ सालको क्रान्ति करिब ४० दिन, मधेस आन्दोलन करिब ६० दिन, २०४६ को जनआन्दोलन करिब ५० दिन, २०६२/६३ को आन्दोलन १९ दिन चलेको देखिन्छ भने संसार प्रसिद्ध कुरुक्षेत्रको महासंग्राम महाभारतको धर्मयुद्ध १८ दिनमा सकिएको मानिन्छ । यी सबै विप्लवीकरणले छोटो समयमा शक्ति संरचनाको रुवरुप परिवर्तन गर्न सफल भएको देख्दा तत्कालका शासकहरुले जनमतको कदर गरेको देखिन्छ, अहिलेको तुलनामा ।
नेपालमा शैक्षिक रुपान्तरणका लागि भन्दै शिक्षकहरुले आन्दोलन एक महिना हुनै लागेको छ । तर सरकारले अनेक बहनाबाजी गरेर आन्दोलनलाई तुहाउने काम गरेको छ । पञ्चायत र राजाको नाम सुन्न नचाहने आजका सत्तासिन नेकपा एमाले र नेपाली कांग्रेसको दुई तिहाईको शक्तिशाली सरकारले सम्झौता भएको वर्ष दिन हुँदासम्म एक थान लोकतान्त्रिक शिक्षा ऐन दिन सकेको छैन । राजा महेन्द्रले बनाएको र राजाको बाहुलीबाट पञ्जापत्र लगाएको ऐनमा सुनपानी छर्केर काम चलाउने नयाँ महाराजाको दैलोमा देशभरका शिक्षकहरु “ऐन बनाइ देऊ” भनेर सडकमा जानुपर्ने होइन । यो त सरकारको काम हो, शिक्षकले सत्याग्रह गर्नुपर्ने होइन तर दुर्भाग्य, सडकमा शिक्षक जानु पर्यो ।
शिक्षक आन्दोलनलाई अनेक कोणबाट विश्लेषण गरेको देखिन्छ । सबै विश्लेषण सत्य त नहोलान् तर कुनै परिवेशमा मेल खान सक्दछन् । सरकारको सामन्ती सोच र शिक्षकको लाचारीपनले गरिबीको रेखामुनिका मजदुर किसान र देहातमा बसेका नागरिक र तिनका लालाबाला अप्ठेरोमा परेका छन् । “बिरालोको ख्याल ख्याल मुसाको ज्यान” भनेझै यिनको जुँगाको लाप्पाले सामुदायिक शिक्षाको तेजोबध भएको छ । यसमा सरकार र शिक्षक दुबै को कति गहिराइमा छन् यसको समीक्षा समयले गर्ला तर तथ्यको कसीमा यसरी राख्न सकिन्छ :
सामुदायिक विद्यालयलाई ‘डम्पिङ साइड’ बनाउन भित्रि तहबाट लागेको सरकार र छोराछोरी निजी स्कुलमा पढाएर जागिर खानमात्र सरकारी विद्याालय धाउने शिक्षक, निजी स्कुलमा लगानी गर्ने र महङ्गा स्कुल खोलेर नाफा कमाउने नेता र कर्मचारी, छोराछोरी निजीमा पढाएर सामुदायिक स्कुलभित्र राजनीति गर्ने स्थानीय जनप्रतिनिधि यो समस्याका सर्जक हुन् । गरिब, असहाय, दलित र पिछडा वर्गका बाबुनानीहरुका शैक्षिक भविष्यलाई दाउमा राखेर खेलोफड्को गरी निकम्मा बनाउने छुट अब कसैलाई छैन । आशा छ, यो समतामूलक शिक्षा पाउने अवसर यो आन्दोलनबाट प्राप्त हुनेछ ।
(क) सरकारको रणनीति
रणनीति १ :
सरकार सामुदायिक शिक्षाप्रति उदासिन छ । सके संविधानको मौलिक हकबाट शिक्षा र स्वास्थ्य हटाउने दाउमा सरकार देखिन्छ । यसको एउटै कारण के हो भने नेपालमा सानो लगानी र सस्तो कामदारबाट अधिकतम नाफा कमाउन सकिने क्षेत्र शिक्षा र स्वास्थ्य नै रहेको छ । प्रायः सबै नेताका निजी स्कुल र अस्पताल छन् भने अधिकांश नेता निजी स्कुल र अस्पतालका मानार्थ शेयर सदस्य छन् भन्ने कुरा केपी ओलीले शिक्षकमाथि गरेको कटाक्ष र प्याब्सनको सभामा खुलेर निजी स्कुल खोल्न र नाफा कमाउन दिएको निर्देशनले पुष्टि गरेको छ । यसबाट पनि सरकारको नियत सामुदायिक स्कुललाई धराशयी बनाउने र निजी स्कुललाई लाभ पुग्ने वातावरण तयार गर्न लागेको पुष्टि हुन्छ ।
रणनीति २ :
शैक्षिक वर्षको सुरुमा नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्ने, नयाँ विद्यार्थीलाई सामुदायिक विद्यालयप्रति आकर्षण गर्न अभिभावकसँग भेटघाट गर्ने, वार्षिक योजना निर्माण तथा अन्य योजना निर्माणको समयमा शिक्षकलाई सडकमा अल्झाउने र सामुदायिक विद्यालयप्रति सरोकारवालाको अविश्वारस बढाएर निजी स्कुलतिर विद्यार्थी जानका लागि सहज वातावरण निर्माण गरी सामुदायिक स्कुलमा विद्यार्थी शून्य बनाउने आन्तरिक पहल हो । विद्यार्थी नभएपछि न शिक्षक रहन्छन् न स्कुल नै रहन्छ न आनदोलन नै हुन्छ । स्कुल नै नभएपछि लगानी पनि गर्नु परेन भने निजी शैक्षिक उद्योगको एकाधिकार कायम भई मुनाफा प्रश्स्त गर्न सकिने र लगानी गर्न नपर्ने दोस्रो रणनीति हो ।
रणनीति ३ :
“यश” कसले लिने भन्ने होडमा शिक्षकहरुलाई सडकमा सुताइएको छ । प्रस्तावित वर्तमान शिक्षा ऐनको मस्यौदा तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले तयार गरेका हुन् । उक्त मस्यौदा सदनसमक्ष लाने काम पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले गरेपनि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका कारण पारित हुन सकेन । सोही ऐन २०८० मा अशोककुमार राईले सदनमा दर्ता गरी दफावर छलफलका लागि समितिमा पठाइएको थियो । ऐनका प्रावधान र सरकारको आनाकानीले शिक्षकलाई आन्दोलन गर्न बाध्य बनायो । यस आन्दोलनको नेतृत्व पनि शिक्षक महासंघको अगुवाइमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघले गरेको छ । सियो दिएर फाली लिने बानी परेको सरकारका प्रधानमन्त्रीको पार्टीले कतैबाट पनि “यश” पाउने नदेखिएकाले पनि आन्दोलनलाई छायाँमा राख्न खोजेको देखिन्छ ।
रणनीति ४ :
सरकारको निजी स्कुल मोह आन्दोलनको तगारो भएको छ । प्रस्तावित ऐनमा सबै निजी स्कुललाई गुठीमा लानुपर्छ भन्ने व्यवस्था सरकारको टाउको दुखाइको विषय भएको थियो । यसलाई निस्तेज बनाउन सरकारले प्याब्सन र एनप्याब्सनलाई उचालेर आन्दोलनमा आउन उकस्यो र सम्झौता गरायो । गत वर्ष सामुदायिक स्कुलका शिक्षकले प्रस्तावित ऐनमा शिक्षकका समस्या नसमेटिएको भन्दै साउन २५ बाट आन्दोलनको घोषण गरी महासंघ र राहत शिक्षकसँग दुई चरणमा ११ बुँदामा सम्झौता गरेको सरकारले अहिलेसम्म कुनै सम्झौता कार्यान्वयानमा इमानदारिता नदेखाउनु र शिक्षकलाई निकृष्ठ र नीच शब्दमा गाली गर्नु निजी स्कुलप्रतिको बफादारी भएको पुष्टि हुन्छ ।
रणनीति ५ :
शिक्षकलाई सडकबाटै गलाएर फर्काउने सरकारको अर्को रणनीति हो । घुसपैठ र आन्दोलनलाई उग्र बनाएर धरपकड गराउने नियत छ । यो रणनीति पूरा गर्न शान्तिपूर्ण आनदोलन बिरुद्ध अभिभावकको घुसपैठ गराएर तोडफोडमा उतार्ने काम गरेको देखियो । कुनै महत थरका नक्कली अभिभावक र कुनै अर्को नकली शिक्षक पठाएर आन्दोलन बिथोल्न खोजेको पनि असफल भयो । तर वैशाख २४ गते सरकारको रणनीति सफल भएको देखियो ता कि कुनै लठेत आन्दोलनमा प्रवेश गराई प्रहरीमाथि ढुङ्गा हान्न लगाएर शिक्षक र प्रहरीबिच झडप गराइयो । यही मेसोबाट बल प्रयोग गरी सैयौं शिक्षक घाइते बनाउन सफल भयो । सरकारलाई आन्दोलन अराजक देखाउन र शिक्षकमाथि दमन चक्र चलाउने वातावरण तयार गर्न २७ दिन लागेको छ भने सरकारको यो रणनीति सफलताको मार्गमा ढल्किएको छ ।
(ख) शिक्षामन्त्रीको राजीनामा र नयाँ शिक्षामन्त्री :
शिक्षहरुको पक्षमा सात बुँदाको प्रस्ताव मन्त्री परिषद्मा शिक्षामन्त्री विद्या भट्टराईले पेश गर्न लागेको बेला पदबाट राजीनामा दिन बाध्य पारियो । सायद यी सात बुँदे प्रस्ताव शिक्षक र सामुदायिक स्कुलको पक्षमा थिए, निजी स्कुल र शैक्षिक माफियाको विपक्षमा थिए । सामुदायिक स्कुल र शिक्षकका हितमा डटेर काम गर्दा दलाल र माफियाको घेराबन्दीमा परेपछि शिक्षामन्त्रीले राजिनामा गर्नु परेको हो । पटक–पटक उनले शिक्षा ऐन ल्याउन नसके पद त्याग गर्ने सार्वजनिक अभिव्यक्ति दिनुले पनि यस कुराको पुष्टि हुन्छ ।
झुटा आश्वासनको पुलिन्दा बनाएर उधारोमा वार्ता गराउने, त्यो सफल नभए अदालत मार्फत कानुनी तरवार चलाउने र त्यसबाट पनि सफल नभए घुसपैठ गराएर तोडफोड गराउने र त्यसको दोष शिक्षकमाथि थुपारेर झुठा मुद्धाम फसाउने सरसकारको गलत रणनीतिको सिकार हुने सम्भावना देखेपछि मन्त्रीले राजिनामा थमाएको देखिन्छ । आन्दोलनलाई उग्रतामा पुर्याउने तथा बल प्रयोग गरी शिक्षक एकतालाई छिन्नभिन्न बनाउने र शैक्षिक माफियकासामु बफादार बन्ने सरकारी रणनीतिसामु शिक्षामन्त्री तगारो भएको पुष्टि हुन्छ ।
यी रणनीतिका बाधकले राजीनामा गरिसकेपछि आएका शिक्षामन्त्रीले शिक्षक र अभिभावकको भेषमा भाडाका दासहरुको प्रयोग गरी सरकारको चाहना पूरा गरेको छ भने शैक्षिक माफियाको लुटधन्दालाई प्रोत्साहन गरेको छ ।
(ग) शिक्षकको निरिहता र दास मानसिकता :
लोकतन्त्रको निर्णायक शक्ति मानिने शिक्षकलाई यो आन्दोलनले निकै निरिह सावित गरिदियो । गत वर्ष असोज ३ गते महासंघले उधारो सम्झौता गर्यो । आन्दोलन बिचमै छाडेर महासंघले धोका दिएको भन्दै करार शिक्षकले पुनः आनदोलन गरेर असोज १२ गते अर्कौ सम्झौता गर्यो भने एकथरी शिक्षक दलको झोलामा पसेर रमिता हेरेर बसे । यस घटनाले शिक्षकहरुको अन्तरघाती स्वभाव पुष्टि गर्यो भने निरिहपनको उजागर गरिदियो । झुठा आश्वासनले फुरुङ्ग हुने र षड्यन्त्रको माखेसाङ्लोमा सजिलै फस्ने, दलको दाम्लोबाट घाँटी झिक्न डराउने कमजोरीले दासताको पुष्टि गरेको छ । सम्झौताको एक वर्षसम्म पनि कुनै पहल नगर्ने, सार्वजनिक सभामा शिक्षकको तेजोवध गर्ने सरकारसँग बिन्तिपत्र चढाउने शैलीमा आन्दोलनको थालनी गर्नु महाभूल थियो । प्रतिनिधि सभाको बैठक समापन भएको भोलिपल्ट र एसईई परीक्षा सकिएको पाँचौ दिन पश्चात आन्दोलन थालनी गर्नु आफैंमा घातक थियो । आन्दोलनको आरम्भदेखि नै केही कमजोरी हुन पुगे ।
शिक्षहरुको पक्षमा सात बुँदाको प्रस्ताव मन्त्री परिषद्मा शिक्षामन्त्री विद्या भट्टराईले पेश गर्न लागेको बेला पदबाट राजीनामा दिन बाध्य पारियो । सायद यी सात बुँदे प्रस्ताव शिक्षक र सामुदायिक स्कुलको पक्षमा थिए, निजी स्कुल र शैक्षिक माफियाको विपक्षमा थिए । सामुदायिक स्कुल र शिक्षकका हितमा डटेर काम गर्दा दलाल र माफियाको घेराबन्दीमा परेपछि शिक्षामन्त्रीले राजिनामा गर्नु परेको हो । पटक–पटक उनले शिक्षा ऐन ल्याउन नसके पद त्याग गर्ने सार्वजनिक अभिव्यक्ति दिनुले पनि यस कुराको पुष्टि हुन्छ ।
कमजोरी १ :
शिक्षकहरुले आँट गरेर एसईई र वार्षिक परीक्षा बहिष्कार गरेर जान सकेको भए सरकारले तुरुन्त निर्णयमा पुग्नुपर्ने हुन्थ्यो । जसरी कक्षा १२ को परीक्षाले हलचल ल्यायो । कुनै परीक्षा नभएपछि नतिजा आउँदैनथ्यो । नतिजा नआएपछि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने बाटो बन्दमात्रै हुँदैनथ्यो । सामुदायिक स्कुललाई धमिल्याएर निजीतिर विद्यार्थी पठाउने सरकार र शैक्षिक माफियाको योजना चौपट हुन्थ्यो । शिक्षक नेतृत्वले समयमा आँट नगरी दलको आशिर्वाद खोज्दा विद्यालय र शिक्षकको गरिमामाथि दाग लाग्यो ।
कमजोरी २ :
शिक्षकहरु कुनै न कुनै दल निकट रहेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुको ठुलो झुण्ड एमाले नजिक छ भने दास्रो ठुलो झुण्ड नेपाली कांग्रेस निकट रहेको छ । अन्य दल निकट पनि ठुलै समूह रहेको छ । यो आन्दोलन हाँक्ने महासंघको नेतृत्व शिक्षक संघले गरेको छ । चुनावको समयमा यिनै नेता जिताउन साम, दाम र हराम काम गरेर जनतालाई खरिद बिक्रिसमेत गर्न पछि नपर्ने बफादार शिक्षकहरुले अनेक तिकडम गरेर जिताएका माउ पार्टीका नेताहरुसँग आमने–सामने बहस गरेर निर्धक्क माग सम्बोधन गराउने हैसियत राख्न नसक्नु निरिहता र हुतिहारापनको पराकाष्ठ हो ।
जायज र पेसागत माग पूरा गराउन विपक्षीले जस्तै ढुंगामुुढा गर्ने र तोडफोड नै गर्नुपर्ने, ग्याास र गोलीको मार खाएर सडकमै तमासा देखाउन पर्छ भने दलको दास किन बन्ने ? यस निरिहताले आफैंमाथि दमन गर्ने अत्याचारी शासकका लागि दिलो ज्यान दिनु मूर्खता हो भन्ने प्रमाणित भएको छ भने दललाई विश्वास गरेर बफादरी देखाउनुको तुक देखिएन ।
कमजोरी ३ :
हिनताबोध र दास मानसिकताबाट मुक्त हुन नसक्नु शिक्षकको तेस्रो कमजोरी हो । वर्षौंसम्म सम्झौतालाई सिरानमा राखेर, डेढ दर्जनभन्दा बढी वर्गमा शिक्षकलाई विभाजन गरी आलोपालो शिक्षकमाथि घन प्रहार गर्दा माउ पार्टीको काखमा बसेर पेसागत धर्म बिर्सैर ताली बजाउनु शिक्षकको बौद्धिक कमजोरी हो । आस्थाका आधारमा गरिने सरकारी भेदभावलाई आँखा चिम्लिएर सहीछाप गर्ने शिक्षकले आफू शिक्षक हुँ भन्ने कुरा बिर्सिएको देखिन्छ । आफ्नो पार्टी र संगठन इतरका शिक्षकमाथि कारबाहीको डण्डा चलाउन लगाउने र दलको चाकडी गरेर न्यूनतम सुविधा लिन खोज्ने कतिपय शिक्षकहरुमा हिनताबोध र दास मानसिकताले घर गर्दा सत्ता परिवर्तन गर्नसक्ने बौद्धिक जमात सडकमा कुटिनु परेको छ ।
कमजोरी ४ :
दलदास र दलमोह चौथो कमजोरी हो । गरेका सम्झौता वर्षौंसम्म कार्यान्वयान नगर्ने तर सार्वजनिक रुपमा शिक्षकमाथि निर्मम प्रहार गर्ने दल र दलीय सरकारको दमनलाई प्रतिकार नगर्नु शिक्षकको दल मोहको चोटिलो उदाहरण हो । केही शिक्षकहरु सडकमा “गर या मर” को अवस्थामा पुग्दा सत्तासिन दलका विश्वास पात्र मानिएका केही शिक्षकहरू मध्येरातमा नेताको गोडामुनि बसेर वार्ताको बल्छी फाल्न सघाइरहेका थिए ।
यदि आन्दोलन किनारामा पुर्याउने पवित्र प्रयास हो भने कांग्रेस र एमाले निकट शिक्षकहरुले सदस्यता परित्याग गर्ने र दलहरुसँगको सम्बन्ध विच्छेद गरेर आन्दोलनमा आउने हिकमत गर्नुपर्दथ्यो । किनकि यी दल आज सत्तामा छन् । विशेष गरी प्रधानमन्त्रीको दल निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दिलदेखि काम गरे आन्दोलन चाँडै निष्कर्षमा पुग्ने निश्चित छ । पेसागत धर्म निर्वाहमा इमानदार भई राजनीतिक मोह भङ्ग गरेर दलीय दाम्लोबाट आजादी हुन र नेतृत्वलाई कर्तव्यनिष्ठ बनाउन साङ्गठानिक सदस्यता सार्वजनिक रुपमै जलाएर विद्रोहको शङ्खघोष गर्नुपर्दथ्यो । त्यो आँट शिक्षक मित्रहरुमा देखिएन ।
यदि आन्दोलन किनारामा पुर्याउने पवित्र प्रयास हो भने कांग्रेस र एमाले निकट शिक्षकहरुले सदस्यता परित्याग गर्ने र दलहरुसँगको सम्बन्ध विच्छेद गरेर आन्दोलनमा आउने हिकमत गर्नुपर्दथ्यो । किनकि यी दल आज सत्तामा छन् । विशेष गरी प्रधानमन्त्रीको दल निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दिलदेखि काम गरे आन्दोलन चाँडै निष्कर्षमा पुग्ने निश्चित छ । पेसागत धर्म निर्वाहमा इमानदार भई राजनीतिक मोह भङ्ग गरेर दलीय दाम्लोबाट आजादी हुन र नेतृत्वलाई कर्तव्यनिष्ठ बनाउन साङ्गठानिक सदस्यता सार्वजनिक रुपमै जलाएर विद्रोहको शङ्खघोष गर्नुपर्दथ्यो । त्यो आँट शिक्षक मित्रहरुमा देखिएन ।
निस्वार्थ पेसामा संलग्न निर्दोष शिक्षकलाई सडकमा उतारेर, पुलिससँग भिडाएर सरकारलाई आफ्नो शक्ति देखाएर मोलमोलाई गर्ने नियत केही शिक्षकका समूहमा देखियो । यो कमजोरी रहुन्जेलसम्म सामुदायिक विद्यालय र शिक्षकहरुको कल्याण सम्भव छैन भने गरिबीको रेखामुनिका निरिह नागरिकको छोराछोरीको शैक्षिक भविष्य अन्धकार हुने निश्चित छ ।
(घ) नेताहरू दोहोरो चरित्र :
आन्दोलनमा केही च्यान्टे नेताहरुको दोहोरो चरित्र प्रष्ट झल्कियो । शिक्षकहरुको भिडमा पुगेर फोटो खिच्ने र समर्थन जनाउने थुप्रै अनुहार देखिए । सबैभन्दा बढी सत्तासिन दलका नेता र कार्यकर्ताको उपस्थिति बाक्लो थियो । उनीहरुको यो दौडाह शिक्षकप्रति सहानुभूतिका लागि होइन, भोलिका दिनमा भोट बिग्रेला भन्नेतिर थियो । यदि शिक्षक र विद्यालयप्रति सहानुभूति भए आफ्ना माऊ पार्टीलाई कतै दबाब दिएको देखिएन । नेता कार्यकर्ताको यो धुर्त व्यवहार केवल शिक्षक फकाउने र छक्याउनेमा केन्द्रित थियो ।
नेतृत्वले अझै पनि शिक्षकलाई अज्ञानी बालक जस्तै मानेको देखियो ता कि समर्थन र ऐक्यबद्धताको ललीपप् देखाएर अबोध बालकलाई फकाए जस्तो शिक्षकलाई फकाएर कब्जामा राख्न सकियोस् । भोट बैंकलाई सुरक्षित बनाउन सकियोस् । दलको यो दोहोरो चरित्रले शिक्षकलाई आवारा ठानेको देखियो । तसर्थ दलको झोला बिसाएर आफ्नो साख कायम गर्न शिक्षक एकजुट हुन आवश्यक देखियो ।
निष्कर्ष :
एक दर्जन बढी माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई सरकारले हेपाह काम गरेको छ । आन्दोलनका कारण अस्थायी साधन (कण्डम)को अभाव भएको सांस्कृतिक आक्षेप लाग्ने खालका समाचार समप्रेषण गराएको देखियो । यो बौद्धिक समुदायमाथि लगाइएको सङ्कीर्ण र अक्षम्य आरोप हो । शिक्षकमाथि लागेको अर्को आरोप छ, आफ्नो पढाइमा विश्वास नभएर छोरछोरी निजी स्कुलमा पढाउने भनेर । शिक्षकहरुले यो आरोपबाट छुटकारा लिनका लागि शिक्षक लगायत राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कुटनीतिक नियोग आदि क्षेत्रबाट सरकारी सेवासुविधा लिने र जनसेवा गर्नेहरुका छोराछोरी सरकारी स्कुलमा पढाउनु पर्ने एउटा माग थप्न आवश्यक देखियो । ऐनमा नै यो व्यवस्था गर्न गराउन सके यो सामुदायिक स्कुल सुध्रिनेमा दुई मत हुँदैन ।
सामुदायिक विद्यालयलाई ‘डम्पिङ साइड’ बनाउन भित्रि तहबाट लागेको सरकार र छोराछोरी निजी स्कुलमा पढाएर जागिर खानमात्र सरकारी विद्याालय धाउने शिक्षक, निजी स्कुलमा लगानी गर्ने र महङ्गा स्कुल खोलेर नाफा कमाउने नेता र कर्मचारी, छोराछोरी निजीमा पढाएर सामुदायिक स्कुलभित्र राजनीति गर्ने स्थानीय जनप्रतिनिधि यो समस्याका सर्जक हुन् । गरिब, असहाय, दलित र पिछडा वर्गका बाबुनानीहरुका शैक्षिक भविष्यलाई दाउमा राखेर खेलोफड्को गरी निकम्मा बनाउने छुट अब कसैलाई छैन । आशा छ, यो समतामूलक शिक्षा पाउने अवसर यो आन्दोलनबाट प्राप्त हुनेछ ।
धरापमा स्कूल, सडकमा शिक्षक
क्याटेगोरी : जनमञ्च, बिचार
प्रतिक्रिया